बैंकको भन्दा बढी ब्याज दिने गरि राष्ट्र बैंकले ल्यायो बचतपत्र, कति छ ब्याजदर ? « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

बैंकको भन्दा बढी ब्याज दिने गरि राष्ट्र बैंकले ल्यायो बचतपत्र, कति छ ब्याजदर ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आम नागरिकको रकम जम्मा गर्ने उद्देश्य सहित नागरिक बचत पत्र २०८४ (क) को निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले हालै एक सुचना जारी गर्दै ५ वर्षे नागरिक बचत पत्र निष्काशन गर्ने भएको हो ।

राष्ट्र बैंकले आम नागरिकबाट २ अर्ब ५० करोड रुपैयाँ बचत उठाउने गरि उक्त बचतपत्र निष्काशन गरेको हो । जसमा आम नागरिकले फागुन १० गतेदेखि फागुन ३० गतेसम्म आवेदन दिनसक्नेछन् ।

त्यसपछि चैत ६ गतेदेखि २०८४ चैत ६ गतेसम्मको अवधिका लागि नागरिकको रकम उक्त बचतपत्रमा जम्मा हुनेछ । राष्ट्र बैंकले उक्त बचतमा ११.५० प्रतिशत ब्याज दिनेछ । जुन व्याज ६/६ महिनामा भुक्तानी गरिनेछ । बचतपत्रको अवधि सकिएपछि आम नागरिकलाई साँवा भुक्तानी गरिनेछ ।

राष्ट्र बैंकले तोकेको उक्त ब्याजदर बाणिज्य बैंकहरुले दिदैं आएको ब्याज भन्दा पनि बढी हो । हाल बाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशतको हारहारीमा ब्याज दिइरहेका छन् । ब्याजमा भने कर लाग्ने बताइएको छ ।

आम नागरिकले न्यूनतम १० हजार रुपयाँ बचत गर्नुपर्नेछ । अधिक्तम भने १० हजारले निःशेष भाग जाने अंकमा आवेदन दिन सकिने राष्ट्र बैंकको भनाइ छ ।

यो बचत पत्रमा नेपाली नागरिकले मात्रै आवेदन दिन सक्नेछन् । आम नागरिकले बैंक तथा वित्तिय संस्थाको कार्यालय तथा राष्ट्र बैंकको प्रादेशिक कार्यलयमा गएर आवेदन दिन सक्नेछन् ।

उक्त बचत पत्र बैंक तथा वित्तिय संस्थामा राखेर कर्जा समेत दिन सकिने छ । राष्ट्र बैंकले यसरी उठाउने बचत सरकारले बिभिन्न विकास कार्यक्रममा खर्च गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्