आज फेरि ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक « Arthapath.com
१७ असार २०८३, बुधबार

आज फेरि ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज असार १७ गते फेरि ४५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

केन्द्रिय बैंकले १ वर्षे अवधिका लागि उक्त वित्तीय उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हाे ।

यो ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरूले आज मध्याह्न १२:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत बोलकबोल गर्नुपर्नेछ । ऋणपत्रको निष्कासन पनि असार १७ गते अर्थात आज नै हुने जनाइएको छ ।

यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र खरिद गर्नेहरूले अर्धवार्षिक (प्रत्येक छ महिनामा) रूपमा ब्याज भुक्तानी पाउने छन् भने साँवा भुक्तानी १ वर्षपछि अर्थात् २०८४ असार १७ गते हुनेछ । यो ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक र वित्तीय संस्थाहरूमा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) मात्र सहभागी हुन योग्य हुनेछन् ।

बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकम (४५ अर्ब) सम्मका लागि आवेदन दिन सकिनेछ । बोलकबोल ब्याजदरमा गर्नुपर्ने र यसमा बहुव्याजदर प्रणालीको समेत विकल्प उपलब्ध रहने छ ।

ऋणपत्रको बाँडफाँट गर्दा राष्ट्र बैंकले बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राख्नेछ । आह्वान गरिएको रकम वा समितिले तोकेको सीमाको विन्दुमा कायम हुने ब्याजदरलाई ‘एकल ब्याजदर’ कायम गरिनेछ । सोही एकल ब्याजदरमा सो दर र सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालाहरूलाई ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । यदि समान ब्याजदर बोल गर्नेहरूको रकम कुल निष्कासित रकमभन्दा बढी भएमा समानुपातिक रूपमा बाँडफाँट गरिनेछ ।

ऋणपत्र स्वीकृत भइसकेपछि सो रकम निष्कासनकै दिन सम्बन्धित बैंक वा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी जम्मा गरिने छ । तर, निष्कासनको दिन काउण्टरपार्टीको खातामा पर्याप्त रकम नभएमा स्वीकृत बोल रद्द गरिनेछ ।

यो ऋणपत्र स्वीकृत बोलकर्ताको लगानी पोर्टफोलियो हुने भएकाले यसलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, बैंकहरूको वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने यो रकम गणना गर्न पाइने सुविधा राष्ट्र बैंकले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्