सिद्धार्थ डेभलपमेन्ट बैंकले किनेको १ अर्वको जग्गा बेच्दै ग्लोवल आईएमई बैंक « Arthapath.com
१० फाल्गुन २०७७, सोमबार

सिद्धार्थ डेभलपमेन्ट बैंकले किनेको १ अर्वको जग्गा बेच्दै ग्लोवल आईएमई बैंक



काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकले जोडेको जग्गा ग्लोवल आईएमई बैंकले वेच्न लागेको हो । तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक जनता बैंकमा गाभिएको थियो । एनएलजी इन्स्योरेन्सले किन्न खोजेको सो जग्गामा २ करोड धरौटी बैंकले फिर्ता गरेको थिएन ।

ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरमा रहेको करिब १ अर्ब रुपैयाँ मूल्य बराबरको जग्गा बिक्री गर्ने भएको छ । बैंकले जग्गा बिक्रीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । अनामनगर स्थित सिंहदरबारको पूर्वीगेट अगाडि रहेको जग्गा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकको हो ।

जनता बैंकसँग मर्ज भएको सो बैंकको जग्गा अहिले ग्लोबल आइएमईको स्वामित्वमा आएको हो । यसअघि एनएलजी इन्स्योरेन्सले टेन्डरमा पारिसकेको भए पनि बीमा समितिले सहमति नदिँदा सो जग्गा किन्न पाएको थिएन । त्यसबेला सिद्धार्थले एनएलजीले टेण्डर आवेदन गर्दा बुझाएको २ करोड रुपैयाँसमेत बैंकले फिर्ता गरेको थिएन । यस विषयमा बैंक र एनएलजीबीच लामो समय मुद्दा पेको थियो । सो मुद्दा अझै फैसला भैसकेको छैन ।

त्यस्तै ग्लोवल आईएमई बैंकको पानीपोखरीस्थित हाल ग्लोबल बैंकको कार्यालयनजिक रहेको जग्गाचाहिँ ग्लोबल बैंक आफैँले किनेको हो । हाल बैंकको केन्द्रीय कार्यालय रहेको कमलादीको जग्गा भने तत्कालिन आइएमई फाइनान्सले किनेको हो । सो जग्गामा बैंक आफैँले भवन बनाएको हो ।

सो भवन बैंकलाई सानो भएको भन्दै नयाँ किन्नका लागि बैंकले यी दुई ठाउँको जग्गा बेच्न लागेको जनाएको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३,४२ र ४३ का जग्गाहरू बिक्री गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमशः २५४.५०, २५४.५०, ५२५.२४, ३०२.०६, र १९०.७८ वर्गमिटर गरी कुल १५२७.०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो ।

त्यस्तै, बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरू बिक्री गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमशः ५५.६३, ५९.९०, १०१.३७, ८.२०, २३८.४७, २३८.४७, र ५२७.६६ वर्गमिटर गरी कुल १२ सय २९.७० वर्गमिटर रहेको बैंकले जनाएको छ । बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्री गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ–संस्थालाई फागुन २० गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ । फागुन २१ गते बैंकको कमलादीस्थित कार्यालयमा दिउँसो २ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ । यी दुई जग्गा बेच्ने निर्णय हुनुअगाडि नै ग्लोबल बैंकको सेयर मूल्य अकस्मात बढेको थियो । जग्गा बेचेको रकम बैंकको मुनाफामा जोडिने र तेस्रो त्रैमासमा बैंकको आम्दानी ह्वात्तै बढने हुनाले सेयर मूल्यसमेत बढ्ने अनुमानमा पहिले नै बैंकका प्रमोटरहरू आफैँले सेयर किनेका थिए ।


प्रतिक्रिया दिनुहोस्