सामाजिक सुरक्षा कोष प्रकरणः सकियो बहस, के आउला आदेश ? « Arthapath.com
१० श्रावण २०७८, आईतवार

सामाजिक सुरक्षा कोष प्रकरणः सकियो बहस, के आउला आदेश ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोष विरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रारम्भिक बहस टुंग्याएको छ । यस मुद्दामा आज अन्तिम पटक बहस भएको थियो । बहस टुंगिएपछि अब अन्तरिम आदेश दिने वा नदिनेबारे सम्भवतः साँझ ४ बजेसम्म अदालत कुनै निर्णयमा पुग्नसक्ने एक बैंकरले जानकारी दिएका छन् ।

आजको सर्वोच्चमा बरिष्ठ अधिवक्ता हरिहर दाहाल, विजयकान्त मैनाली, विजय मिश्रलयत अधिवक्ताले बहस गरेका थिए । उनीहरुले राज्यले मौलिक अधिकारको दायरामा सामाजिक सुरक्षा समेत राखेर बैंकहरुलाई जबरजस्ती योजनामा तान्न खोजेको तर्क गरेका छन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थामा ट्रेड युनियन कानून आकर्षित नहुने भन्ने विषयमा अदालतमा अहिले पनि ५ वटा मुद्दा विचाराधिन छन् । ट्रेडयुनियन नै लागू हुने की नहुने भन्ने मुद्दा विचाराधिन रहेकै अवस्थामा सामाजिक सुरक्षा कोषको बाध्यात्मक अनुबन्धन जायज नहुने भन्दै कर्मचारीका पक्षबाट बहस भएको ती बैंकरले बताएका छन् ।

सामाजिक सुरक्षा कोषले गत असार मसान्तभित्रै सबै बैंक तथा वित्तीय संस्थालाई कोषमा सहभागि हुन दबाब दिएपछि सम्बद्ध संस्थाका कर्मचारीहरु कोष विरुद्ध अदालत गएका थिए । आफूहरुले खाइपाइ आएको सेवा सुविधा समेत कटौति हुने गरी कोषले जबरजस्ति योजनामा सहभागि हुन दबाब दिएको बताउँदै आएका छन् ।

विभिन्न कर्मचारी संघको नेतृत्वमा वित्तीय संस्थाका कर्मचारीले गत महिनादेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । केही चरण कोष र आन्दोलनरत कर्मचारीबीच वार्ता भए पनि त्यसले यथोचित टुंगोमा पुर्याउन सकेन । त्यसपछि उनीहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन गएका हुन् ।


प्रतिक्रिया दिनुहोस्