सबैभन्दा सुरक्षित र प्रभावकारी भ्याक्सिन ‘फाइजर’ कसलाई लगाइँदै छ ?

सरकारले अमेरिकाबाट आएको फाइजर खोप यही कात्तिकको अन्तिम सातादेखि लगाउन थाल्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त खोप १२ वर्षदेखि माथिका सबै दीर्घ रोगिलाई दिने भनेको छ । नेपालमा यसअघि प्रयोगमा आईसकेका अरु तीन खोपहरु कुनै कारणवश लगाउन नमिल्ने रोगिहरुलाई पनि यो खोप लगाइने सरकारी योजना छ ।
फाइजर खोप अहिलेसम्म उपलब्ध खोपहरुमध्ये सबैभन्दा सुरक्षित र प्रभावकारी रहेको बताइन्छ । यही कारण उच्च ओहोदामा मानिस र तिनका आफन्तले पनि यो खोप लाउन चासो देखाएको स्वास्थ्य क्षेत्रका अधिकारीहरु बताउँछन् ।
यही कारण सरकारले दीर्घ रोगीलाई खोप दिने भनेको हुनसक्ने कतिपयको बुझाइ छ । पहिले अरु नै खोप लगाइसकेका मानिसहरु समेत फाइजरको एक मात्रा नै भए पनि लगाएर थप सुरक्षित हुने ‘मुड’मा देखिएको स्वास्थ्य अधिकारीहरु बताउँछन् ।
अमेरिकाले गरिब मुलुकमा नागरिकलाई कोभीड खोप लगाउने संयुक्त राष्ट्र संघीय कार्यक्रम (कोभ्याक्स) अन्तरगत उक्त खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको बताएको छ । अमेरिकी दूताबासले हिजै सामाजिक सञ्जाल ट्वीटरमार्फत् १ लाख ६२० मात्रा (डोज) फाइजर खोप नेपाल आईपुगेको बताएको हो ।
खोप सोमबार विहान नेपाल आइपुगेपछि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले खोप अभियान सुरु गर्नका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण एवम् खोपको ढुवानी व्यवस्थापन लगायतका काम अघि बढाइएको बताएका छन् । खोपको दुवै मात्रा प्राप्ति हुने सुनिश्चित गर्नका लागि उपलब्धमध्ये आधा खोप पहिलो चरणमा लगाइने र पहिलो मात्रा लगाएको २१ देखि २८ दिनको अन्तरालमा दोस्रो मात्रा उपलब्ध गराइनेछ ।

देशभर जम्मा २४ ठाउँमा पाइन्छ फाइजर
खोप ढुवानी र भण्डारण गर्न अन्य खोपका तुलनामा जटिल रहेकाले फाइजर खोप वितरण अस्पतालकेन्द्रित रहने मन्त्रालयले जनाएको छ । फाइजरलाई हालसम्म संसारमा विकास भएका कोरोना भाइरस खोपमध्ये भण्डारण र वितरणका हिसाबले सबैभन्दा चुनौतीपूर्ण मानिन्छ ।
यो खोपलाई माइनस ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नु पर्ने हुन्छ । खोप राखिएको भायल (ठूलो बाक्सा) नखोलिकन राख्ने हो भने उत्पादित मितिबाट बढीमा ९ महिनासम्म माइनस ८० डिग्री सेल्सीयस तापमानमा भण्डारण गर्न सकिन्छ ।
अमेरिकाले केही महिनाअघि मात्र माइन १५ देखि २५ डिग्री तापक्रममा समेत बढीमा दुई साता भण्डारण गर्न सकिने व्यवस्था छ । यो भनेको लगाउने तयारीका र ढुवानीका लागि मात्र हो । खोप शिविरमा पुर्याएपछि भने यसलाई २ देखि ८ डिग्री सेल्सीयसमा राखेर केवल ६ घण्टाभित्र लगाइसक्नुपर्ने हुन्छ । ज्यादै कम तापक्रममा भण्डारण गर्नुपर्ने भएकाले यो खोप अस्पतालहरुबाट मात्रै वितरण गरिने मन्त्रलयले बताएको छ ।
हालका लागि देशभरका २४ अस्पतालबाट यो खोप वितरण गर्ने योजना बनेको छ । यसमध्ये काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा ९ वटा र उपत्यका बाहिरका १५ ओटा अस्पतालबाट यो खोप वितरण हुने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ८६ लाखभन्दा बढीले कोभिड खोपको पहिलो मात्रा लगाइसकेका छन् । यसमध्ये ६६ लाखभन्दा धेरै मानिसले पूर्ण मात्रा खोप लगाइसेका छन् । नेपालमा भारतमा उत्पादन भएको कोभिसिल्ड, चीनमा उत्पादन भएको भेरो सेल र अमेरिकामा उत्पादन भएको जोनसन एण्ड जोनसनका खोपहरु लगाइएको छ ।

तस्वीरः नेपाल स्थित अमेरिकी दूतावासको ट्वीटरबाट ।
फाइजरका थप खोप नेपालले पाउँछ ?
नेपालले तीन महिना अघि नै अमेरिकासँग फाइजर खोप किन्नेबारे एक ‘गोप्य सम्झौता’ गरेको बीबीसीले लेखेको थियो । ‘नन डिस्क्लोजर एग्रीमेण्ट’ भनिने यस्तो सम्झौतामार्फत् खोप खरीद गर्दा कति मात्रामा खोप किनबेच गर्ने र कति मूल्यमा कारोबार हुने भन्ने विवरणहरु सार्वजनिक गर्न पाइँदैन ।
यो खोप १२ वर्षदेखि माथिका बालबालिकालाई समेत लगाइएकाले नेपालमा १२ देखि १८ वर्षका बालबालिकाका लागि करीब ६० लाख मात्रा खोप किन्न सरकारले पहल थालेको थियो । यसअघि केपी ओली नेतृत्वको सरकारले पनि चीनसँग भेरो सेल खोप किन्न यस्तै गोप्य सम्झौता गरेको थियो । उद्यपि त्यसबेला ४० लाख मात्रा खोप किन्न गरिएको उक्त सम्झौताको मूल्य विवरण सरकारले अनौपचारिक रुपमा सार्वजनिक गरिदिएपछि चिनियाँ पक्ष विच्किएको थियो ।

यसरी नै सरकारले अमेरिकासँग ६० लाख मात्रा खोप किन्ने प्रस्ताव अघि बढाएको तत्कालिन स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई उद्र्धृत गर्दै बीबीसीले लेखेको थियो । त्यसबाहेक कोभ्याक सुविधामार्फत् थप ४० लाख मात्रा फाइजर खोप किन्ने सरकारी योजना रहेको उक्त समाचारमा उल्लेख छ । यसरी १ करोड मात्रा खोप किन्न विश्व बैंक र एसियाली विकास बैंकबाट ऋण लिने व्यवस्था पनि भएको थियो ।
सरकारले सन् २०२१ को अन्त्यतिर वा २०२२ को सुरुमा फाइजर खोप नेपाल आइपुग्ने अनुमान गरेको थियो । तर अमेरिकाले अनुदानमै १ लाखमात्रा खोप नेपाल पठाइदिएको छ । उक्त खोप सहायताबारे अमेरिकी दुतावासले आइतबारमात्रै सार्वजनिक जानकारी दिएको थियो । जबकी, भोलिपल्ट बिहानै खोप काठमाडौंमा आइसकेको छ ।
अमेरिकी सहायतामा सञ्चालित परियोजना ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन–एमसीसी’ कार्यान्वयनबारे विबाद भइरहेका बेला अमेरिकाले अपेक्षित समयभन्दा निकै अघि फाइजर खोप उपलब्ध गराएको हो । यद्यपि, नेपालले अमेरिकासँग सिधै र कोभ्याक कार्यक्रममार्फत किन्ने भनेको उक्त १ करोड मात्रा फाइजर खोपका बारेमा भने दुबै पक्षले स्पष्ट पारेका छैनन् ।