१२ अर्ब ४३ करोड बचतमा शोधनान्तर स्थिति, चालु खाता अझै ३४ अर्ब घाटामा « Arthapath.com
३० कार्तिक २०७९, बुधबार

१२ अर्ब ४३ करोड बचतमा शोधनान्तर स्थिति, चालु खाता अझै ३४ अर्ब घाटामा



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो तीन महिनामा शोधनान्तर स्थिति बचतमा देखिाएको छ । चालु आवको असोज मसान्तसम्ममा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको चालु आवको तीन महिनामा देशको वर्तमान आर्थिक अवस्था र वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोड रुपैयाँ घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति ९ करोड १८ लाखले बचतमा रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १३ लाख घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा चालु खाता भने ३४ अर्ब २८ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४९ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको थियो । तर, चालु आवको असोज मसान्तसम्ममा भने चालु खाता समीक्षा अवधिमा २७ करोडले घाटामा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकका अनुसार खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड रुपैयाँ प्राप्त भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्