बढ्यो विदेशी मुद्राको सञ्चिति : चार महिनामा १२ खर्ब ४६ अर्ब पुग्यो, झण्डै १० महिनाको वस्तु आयात धान्ने « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

बढ्यो विदेशी मुद्राको सञ्चिति : चार महिनामा १२ खर्ब ४६ अर्ब पुग्यो, झण्डै १० महिनाको वस्तु आयात धान्ने



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चार महिनामा विदेशी मुद्राको सञ्चिति वृद्धि भएको छ । कात्तिक मसान्तसम्ममा विदेशी विनियम सञ्चिति २.५ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालु आवको चार महिनामा विदेशी मुद्राको सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने यस्तो सञ्चिति १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ ।
गत असार मसान्तसम्ममा भने यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो ।तर, अमेरिकी डलरमा भने ९ अर्ब ५४ करोड रुपैयाँ मात्र थियो ।

सो अवधिमा कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति पनि ३.३ प्रतिशतले वृद्धि भएको छ । योसंगै कात्तिक मसान्तसम्ममा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ पुगेको हो । गत असारमा भने राष्ट्र बैंकमा रहेको सञ्चिति १० खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ मात्र रहेको थियो ।

चालु आवको कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भने २.७ प्रतिशतले कमी देखिएको छ । सो अवधिमा यस्तो सञ्चिति १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । तर, गत असार मसान्तमा भने १ खर्ब ५९ अर्ब ४१ करोड रहेको थियो । कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।

चालु आवको चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन् । गत असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्