दुर्गम ठाउँमै छैनन् लघुवित्त: कर्णालीमा न्यून उपस्थिति, शाखा विस्तार पनि सुस्त « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

दुर्गम ठाउँमै छैनन् लघुवित्त: कर्णालीमा न्यून उपस्थिति, शाखा विस्तार पनि सुस्त



काठमाडौं । विशेषगरि दुर्गम ठाउँमा वित्तिय सेवा विस्तार गर्ने अवधारणा सहित लघुवित्त वित्तिय संस्थाहरु सञ्चालनमा ल्याइएको हो । तर, दुर्गममै ठाउँमै लघुवित्त वित्तिय संस्थाहरुको उपस्थिति न्यून देखिएको छ ।

जुन कुरालाई नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको लघुवित्त वित्तिय संस्थाहरुको गैर स्थलगत अध्ययन प्रतिवेदनले पुष्टी गरेको छ । नेपालमा कर्णाली र सुदुर पश्चिम प्रदेशमा बढी दुर्गम तथा विकट ठाउँ छन् । तर, सोही प्रदेशहरुमा लघुवित्त वित्तिय संस्थाको उपस्थिति न्यून छ ।

पहुँचका हिसावले सबै जिल्लामा लघुवित्त वित्तिय संस्थाको उपस्थिति छ । तर, सेवा विस्तारमा लघुवित्तहरुले सुगम ठाउँमै बढी जोड दिएका छन्, जहाँ अन्य बैंक तथा वित्तिय संस्थाहरुको उपस्थिति पनि बाक्लो छ । यसरी लघुवित्त वित्तिय संस्थाहरु नाफामुखी भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

पुस मसान्तसम्म आउँदा ६४ लघुवित्त वित्तिय संस्थाले ५ हजार देशभर ५ हजार ७९ वटा शाखा विस्तार गरेका छन् । तर, त्यसको ४ प्रतिशत मात्रै कणालीमा छन् । कर्णालीमा २३० शाखा मात्रै रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ । उक्त प्रदेशमा लघुवित्तको २३ प्रतिशत १ हजार १५५ शाखा रहेको छ । तथ्यांकअनुसार लघुवित्तको मधेशमा २१ प्रतिशतको अनुपातमा शाखा कार्यालय छन् । यसैगरि कोशी प्रदेशमा १७ प्रतिशतको अनुपातमा शाखा कार्यालय रहेको देखिन्छ । यसैगरि गण्डकी प्रदेशमा ११ प्रतिशत, बागमती प्रदेशमा १५ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९ प्रतिशतको अनुपातमा शाखा कार्यालय छन् ।

मर्जरले घट्दै लघुवित्तको संख्या, शाखा विस्तार पनि सुस्त

पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थारुको संख्या पनि घट्दै गएको छ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

२०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा गत पुस मसान्तसम्ममा ६४ वटा कायम भएको छ । ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

लघुवित्तको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक वर्षको दोस्रो त्रैमासमा भने ०.३४ प्रतिशतले मात्रै वृद्वि भएको देखिन्छ ।

समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले वृद्धि भई ५९ लाख ८८ हजार र ऋणी संख्या १.३० प्रतिशतले घटेर ३२ लाख ६० हजार पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्