पाम र सोयाविन तेलको निर्यात दोहोरो अंककै दरमा घट्यो « Arthapath.com
१३ चैत्र २०७९, सोमबार

पाम र सोयाविन तेलको निर्यात दोहोरो अंककै दरमा घट्यो



काठमाडौं । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पाम तेल र सोयाविन तेल पहिलो र दोस्रो नम्बरमा छ । तर, पाम र भटमास तेलको निर्यात घट्न थालेको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र (टीईपीसी) बाट प्राप्त तथ्याङ्क अनुसार दुवै वस्तुको निर्यात दोहोरो अंककै दरमा घटेको छ । चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (फागुन मसान्तसम्म) मा पाम तेल र सोयाविन तेलको निर्यात क्रमशः ५७ प्रतिशत र ७९ दशमलव ८ प्रतिशतले घटेको हो ।

गत आवको फागुन मसान्तसम्ममा ३५ अर्ब ३३ करोड ८० लाख ७६ हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने २० अर्ब १५ करोड ६१ लाख रुपैयाँले घटेको छ । चालु आवको फागुन मसान्तसम्मा नेपालबाट कुल १५ अर्ब १८ करोड १८ लाख ९६ हजार रुपैयाँ बराबरको पाम तेल निर्यात भएको थियो ।

यस्तै, समिक्षा अवधिमा सोयाविन तेलको निर्यातमा पनि ३३ अर्ब २ करोड ९५ लाख २४ रुपैयाँको गिरावट आएको छ । गत आवको फागुन मसान्तसम्ममा ४१ अर्ब ४० करोड १७ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको थियो । तर, यस वर्षको समिक्षा अवधिमा भने ८ अर्ब ३७ करोड २२ लाख ५७ हजार रुपैयाँमा झरेको छ । गत आवमा पाम तेल कुल ४१ अर्ब ६ करोड ४७ लाख २९ हजार रुपैयाँ र सोयाविन तेल कुल ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्यांकअनुसार कुल निर्यातमा पाम तेलको १४.५ प्रतिशत र सोयाविन तेलको ८ प्रतिशत हिस्सा छ । जुन अन्य निर्यातयोग्य वस्तुको हिस्सा भन्दा धेरै हो ।

नेपाली व्यवसायीहरुले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट कच्चा भटमास आयात गरि प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् । यसैगरि मलेसिया, इन्डोनेशिया लगायतका मुलुकबाट कच्चा पाम तेल ल्याएर प्रशोधन गरी भारततर्फ गर्दै आएका छन् । कच्चा पदार्थ ल्याएर प्रशोधन गरी बिक्री गर्दा ३० प्रतिशतसम्म भ्यालु एड गरिदैं आइएको छ ।

भारतमा पहिला यी दुवै वस्तु अन्य देशमा आयात गर्दा २५ प्रतिशतसम्म भन्सार तिर्नु पर्दथ्यो । तर, नेपालबाट आयात गर्दा भने भन्सार लाग्दैन । साफ्टाको सुविधा प्रयोग गरेर भारतले नेपालबाट शुन्य भन्सारमा पाम तेल र भटमास तेल आयात गर्दै आएको छ । फलस्वरुप अन्य देशभन्दा नेपालबाट आयात गर्दा सस्तो पर्दथ्यो ।

सोही कारण नेपालबाट यी दुई वस्तुको निर्यात बढी हुने गरेको छ । तर, पछिल्लो पटक भारतले अन्य देशबाट पाम र भटमास तेलको आयात गर्दा लाग्ने भन्सार दर ५ प्रतिशतमा झारेको छ । त्यो अवस्थामा नेपालबाट भन्दा अन्य देशबाट नै पाम तेल र सोयाविन तेल आयात गर्दा भारतलाई सस्तो पर्दछ । सोही कारण पछिल्लो समय पाम तेल र भटमास तेलको निर्यात घटेको व्यवसायीहरु बताउँछन् । तेस्रो मुलुकबाट कच्चा प्रदार्थ ल्याएर प्रशोधन गरि भारतमा बिक्री गर्दा लागत बढी हुन्छ र मुल्य पनि स्वत बढी हुन्छ । यी यस्ता कारणले पछिल्लो समय यसको निर्यात घट्न थालेको उनीहरुको भनाई छ ।

समग्र नेपालको वस्तु निर्यात नै २९ दशमलव १ प्रतिशतले घटेको तथ्याङ्कले देखाउँछ । गत आवको समिक्षा अवधिमा नेपालाट १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको कुल वस्तु निर्यात भएको थियो । तर, यस वर्षको फागुन मसान्तसम्ममा भने ४२ अर्ब ९४ करोड ९८ लाख ७३ हजार रुपैयाँले कमी हो । चालु आवको समिक्षा अवधिमा भने १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख ९३ हजार रुपैयाँमा सिमित भएको छ ।


प्रतिक्रिया दिनुहोस्