कर्जाको ब्याजदर अब मासिक रुपमा परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंकहरुले अब मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्नेछ । हाल कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने व्यवस्था रहेको थियो ।
तर, सोमबार राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९ संशोधन/परिमार्जन/ थप गर्दै अब भने मासिक रुपमा परिवर्तन गर्न पाउने व्यवस्था गरेको हो । कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशन गुणाकर भटट्ले बताए ।
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि नर्गन तथा ऋणीसंगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न सकिने छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिनाको औसत आधार दरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने/नहुने सम्बन्धमा ऋणीलाई अफर लेटरमा स्पष्ट रुपमा उल्लेख गरी अनिवार्य जानकारी दिने व्यवस्था गर्नुपर्नेछ ।
परिवर्तनीय ब्याजदर आधार दरसँग आबद्ध गर्दा इजाजतपत्रप्राप्त संस्थाको कोर बैंकिङ्ग सिस्टम मार्फत पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वत: ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यसका साथै ब्याजदर घटाउँदा वा बृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।