लघुवित्तमा संकटको संकेत: झन् चुलियो खराब कर्जा, १४ प्रतिशतसम्म पुग्यो « Arthapath.com
४ जेष्ठ २०८०, बिहीबार

लघुवित्तमा संकटको संकेत: झन् चुलियो खराब कर्जा, १४ प्रतिशतसम्म पुग्यो



काठमाडौं । पछिल्लो समयदेखि आर्थिक संकटका कारण लघुवित्त वित्तिय संस्थाहरको खराब कर्जा अनुपात ह्वात्तै बढेको छ ।

चालु आर्थिक बर्षको चैत मसान्तसम्म आउँदा लघुवित्त वित्तिय संस्थाहरुको खराव कर्जा अनुपात औसतमा ७ प्रतिशत भन्दा माथि पुगेको हो ।

गत आवको यसै अवधीमा लघुवित्त वित्तिय संस्थाहरको खराब कर्जा अनुपात औसतमा ३.०४ प्रतिशत मात्रै थियो । तर, चालु आवको चैत मसान्तसम्म त्यो बढेर ७.०७ प्रतिशत पुगेको छ । विभिन्न ५७ लघुवित्त वित्तिय संस्थाले हालै सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरणले यस्तो देखाएको हो । अन्य केही लघुवित्तहरुको भने यस्तो रिपोर्ट आउन बाँकी छ । नेपालमा पाँच दर्जन लघुवित्त वित्तिय संस्था छन् ।

विशेषगरि पछिल्लो समय देखिएको आर्थिक संकटका कारण लघुवित्तहरुको खराब कर्जा अनुपात बढेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले बताए । उनले भने,–‘आर्थिक संकटका कारण अधिकाशं ऋणीहरुको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । लघुवित्तलले बढी ब्याज लिएको कारण कपितयले ऋण नतिर्ने अभियानै सञ्चालन गरेका छन् । त्यसको असरले लुघवित्तहरुको कर्जा असुल हुन सकेको छैन । फलस्वरुप् खराब कर्जाको अनुपात बढेको छ ।’

६ महिनासम्म सावा तथा व्याज नतिरेपछि सम्बन्धीत ऋण खराब कर्जामा वर्गीकरण हुने व्यवस्था छ । लघुवित्तहरुको खराब कर्जा औसतमा मात्रै ७ प्रतिशत हारहारी देखिएको छ । यस अवधिमा कतिपय लघुवित्तको खराव कर्जा १४ प्रतिशत भन्दा पनि माथि छ । चैतसम्म सामुदायिक लघुवित्तको १४.२१ प्रतिशत र इन्फीनीटी लघुवित्तको १४.०४ प्रतिशतको अनुपातमा खराव कर्जा छ । जवकी गत आवको समिक्षा अवधिमा उनीहरुको खराव कर्जा अनुपात क्रमश: ४.७२ प्रतिशत र ३.६९ प्रतिशत थियो । पछिल्लो १ बर्षको अवधीमा उनीहरुको खराव कर्जा अनुपात ह्वात्तै बढेको हो ।

चालु आवको ९ महिनामको अवधिमा ११ लघुवित्तको खराव कर्जा १० प्रतिशत भन्दा माथि पुगेको छ, जवकी गत आवको सोही अवधीमा उनीहरुको खराव कर्जा अनुपात ४ प्रतिशत हारहारीमा थियो ।

वित्तीय विवरणमा उल्लेख भएअनुसार युनिक नेपालको खराब कर्जा १०.२९ प्रतिशत, आरम्भ चौतारीको १०.५८ प्रतिशत, जनउत्थान सामुदायिकको ११.४८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ११.९५ प्रतिशत पुगेको छ । यस्तै, निर्धन उत्थान लघुवित्तको १२.०९ प्रतिशत, विन नेपालको १२.१५, धौलागिरीको १२.४५, स्वालम्वनको १२.९८ र उन्नती लघुवित्तको १३.४७ प्रतिशत पुगेको छ । यी कम्पनीको खराब कर्जा गत वर्षको समिक्षा अवधिमा भने ४ प्रतिशत हाराहारीमा थियो ।

यद्यपि, यस अवधिमा फ्रस्ट र आरएमडिसीको खराव कर्जा अनुपात १ प्रतिशत भन्दा पनि कम छ । यस्तै, छिमेकीको १.१९ प्रतिशत, आरएसडिसीको १.३७ प्रतिशत र साना किसानको १.४२ प्रतिशतको अनुपातमा खराव कर्जा देखिएको छ । यस बाहेक अन्य लघुवित्तको खराव कर्जा भने उच्च नै छ ।

अधिकांश लघुवित्तको खराव कर्जा बढ्दा दुई लघुवित्त भने घटाउन सफल भएका छन् । गत आवको समिक्षा अवधीमा ८.४ प्रतिशत रहेको किसान लघुवित्तको खराव कर्जा अहिले ५.९६ प्रतिशतमा झरेको छ । यस्तै, गत आवको समिक्षा अवधीमा ४.१४ प्रतिशत रहेको सर्पाेट माइक्रो फाइनान्सको खराव कर्जा अहिले ३.२५ प्रतिशतमा झरेको छ । यी बाहेक अन्य लघुवित्तको खराव कर्जा बढेको देखिन्छ । यसरी लघुवित्तको खराव कर्जा ह्वात्तै बढ्दा थप समस्या आउने संकेत समेत देखिएको छ ।

कुन लघुवित्तसंग कति छ खराब कर्जा ?


प्रतिक्रिया दिनुहोस्