नेपालमा अलैँची खेती: उत्पादन वृद्धिसंगै निर्यात पनि बढ्यो, भारतले मात्रै साढे ७ अर्बको किन्यो « Arthapath.com
१० असार २०८०, आईतवार

नेपालमा अलैँची खेती: उत्पादन वृद्धिसंगै निर्यात पनि बढ्यो, भारतले मात्रै साढे ७ अर्बको किन्यो



काठमाडौं । ११ महिनामा साढे ७ अर्ब बढीको अलैँची निर्यात भएको छ । नेपालमा उत्पादित कृषिजन्य वस्तुको निकासीमा सबैभन्दा ठूलो हिस्सा अलैँची छ ।

पछिल्लो यसको उत्पादन बढेसंगै निर्यात पनि वृद्धि भएको हो । अलैँचीको निकासी दोहोरो अंकमै बढेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा नेपालबाट ७ अर्ब ७० करोड २१ लाख ८६ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । जुन गत आवको जेठ मसान्तसम्मको तुलनामा ३ अर्ब १४ करोड ५५ लाख अर्थात ६९.०३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा देशबाट ४ अर्ब ५५ करोड ६६ लाख रुपैयाँ बराबरको. अलैँची निर्यात भएको थियो ।

गत आवको जेठ मसान्तसम्ममा कुल ५ हजार ५० मेट्रेकि टन बढी अलैँची नेपालबाट बाहिरिएको थियो । तर, चालु आवको सोही अवधिसम्म आईपुग्दा भने ९ हजार ३८६ मेट्रिक टन अलैँची निकासी भएको छ ।

यो वर्ष उत्पादन बढेर नै अलैँचीको निर्यात बढेको नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार नेपालको अलैँची उत्पादन भने झण्डै ५० प्रतिशतले बढेको छ । विशेषगरि नेपाल, भारत र भुटानमा अलैँची उत्पादन हुन्छ । यो वर्ष भारत र भुटानको अलैची उत्पादन घटेको छ । ती दुई मुलुकको उत्पादन घटेसंगै नेपाल अलैँची निर्यात बढेको संघको भनाई छ । संघका एक अधिकारीले भने,–‘अहिले नेपालको उत्पादन बढेको छ । तर, भारत र भुटानको उत्पादन भने घट्यो । त्यसले गर्दा नेपाली अलैचीको माग बढ्दा निर्यात बढेको हो ।’

अहिले नेपालमा १८ हजार हेक्टर जमिनमा अलैँची खेती भएको छ । तर, ३५ हजारदेखि ४० हजार हेक्टर जमिनमा अलैँची खेती गर्न सकिन्छ । अलैँचीका लागि योग्य सबै जमिनमा खेती विस्तार गर्न सके यसको निर्यात अझै बढ्ने व्यवसायीहरु बताउछन् ।

नेपालबाट भारत, जर्मनी, इटली, पाकिस्तान, अमेरिका लगायतका देशहरुमा अलैँची निर्यात हुने गरेको छ । अलैँची विशेषगरि मसला उत्पादनमा प्रयोग हुने गर्दछ । यसका लागि भारत नै सबैभन्दा ठुलो बजार हो । भारत नै सबैभन्दा धेरै नेपाली अलैँची खरिद गरेको छ । समिक्षा अवधिमा ७ अर्ब ६८ करोड १३ लाख रुपैयाँ बराबरको ९ हजार ३४१ मेट्रिक टन अलैँची भारत निर्यात भएको छ । तर, गत आवको जेठ मसान्तसम्ममा भारतले ४ अर्ब ५२ करोड २१ लाख रुपैयाँ बढीको अलैँची खरिद गरेको थियो ।

यस्तै, चालु आवको पाकिस्तान तर्फ भने ११ महिनामा १ करोड ९० लाख रुपैयाँ बराबरको ४३ हजार ७५० केजी अलैँची निकासी भएको छ । त्यसैगरि इटलीमा १० लाख रुपैयाँ, जर्मनीमा ६ लाख र अमेरिकामा २ लाख रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । गत आवमा भने इटली, जर्मनी र अमेरिका तर्फ निर्यात भएको थिएन् ।


प्रतिक्रिया दिनुहोस्