खराब कर्जासँग जुधिरहेका लघुवित्तहरुको वित्तीय चित्रमा बदलाव, एकाएक कसरी सुधारियो नाफा ?
काठमाडौं । लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा बदलाव आएको छ । खराब कर्जाको चेपुवामा परेका लघुवित्त कम्पनीहरुको बिग्रँदो वित्तीय चित्रमा सुधार देखिएको हो ।
कर्जाको सावाँ, किस्ता र ब्याज नउठ्दा लघुवित्तको खराब कर्जा चुलिँदो थियो । खराब कर्जाको बढ्दो ग्राफले नाफामा पनि प्रभावित भईरहेको थियो । अधिकांश कम्पनीहरु नाफा घटेको थियो भने केही नोक्सानी समेत व्यहोरेका थिए । तर, चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा भने लघुवित्त कम्पनीहरुको नाफा लगायतका सूचकहरुमा सकरात्मक सुधार देखिएको छ । हाल संचालनमा रहेका ५३ वटा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन्। प्रकाशित विवरणअनुसार चैत मसान्तसम्म आइपुग्दा ती लघुवित्तहरुको नाफा समग्रमा २.८१ प्रतिशत वृद्धि भएको छ । चालु आवको ९ महिनामा कम्पनीहरुको ३ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ बढी नाफा कमाएका छन् ।
गत आवको तेस्रो त्रैमासमा दर्जन बढी लघुवित्त कम्पनीहरु घाटामा गएका थिए । तर, अहिले ८ वटा मात्रै कम्पनी नोक्सानीमा देखिएका छन् । समिक्षा अवधिमा १७ वटा कम्पनीहरुको मात्रै नाफा घटेको छ । तर, यी बाहेकका अन्य कम्पनीहरुको नाफा १९ गुणासम्म बढाएका छन् । वित्तीय विवरणअनुसार बिजय लघुवित्तको नाफा अचाक्ली वृद्धि भएको छ । कम्पनीको नाफा १८.८३ गुणा बढेर ३ करोड ३१ लाख रुपैयाँ पुगेको छ । जबकी गत आवको तेस्रो त्रैमासमा कम्पनीले १७ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यता, मेरो माइक्रोफाइनान्स लघुवित्तको नाफा पनि साढे ९ गुणा बढेर १२ करोड ३८ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा उपकार, साधाना, समता घरेलु, सृजनशील, निर्धन, इन्फिनिटी, सीवाईसी नेपाल, किसान, नेरुडे मिर्मिर, फरवार्ड, जनउत्थान र महुली लघुवित्तको नाफामा चामत्कारिक सुधार आएको छ ।
यता, गत वर्षको तेस्रो त्रैमासमा घाटामा रहेका लक्ष्मी लघुवित्त, युनिक नेपाल, गुराँस, आरम्भ, उन्नती सहकार्य र जाल्पा लघुवित्तको नाफामा पनि उछाल आएको छ । हाल यी कम्पनीहरुको नाफा धनात्मक छ ।
राष्ट्र बैंकले मार्ग निर्देशन मार्फत गरेका केही नीतिगत व्यवस्थाले नै लघुवित्तको नाफामा सुधार आएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादवले बताए । राष्ट्र बैंकले गत वर्ष २०८० असारमा एक निर्देशन जारी गर्दै लघुवित्तबाट ऋणा लिएर ब्याज र किस्ता बुझाउन नसकेका ऋणाीहरुलाई सुहलियत पूर्ण व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले ऋण तिर्न नसेका ऋणीलाई एक वर्षसम्म कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले नै कर्जा कर्जा घटेको अध्यक्ष यादवको भनाई छ । ‘ऋणीले ५ प्रतिशत ब्याज तिरेर वैशाखसम्म कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाए, जसले खराब कर्जा बढ्न दिएन’,उनले थपे,‘राष्ट्र बैंकको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न पाउने व्यवस्थाले नै ब्याज आम्दानी बढेको छ । कम्पनीहरुको कर्जा असुली बढेको छ, खराब कर्जा पनि नियन्त्रण भएको छ, जसले नाफामा सुधार देखिएको छ ।’
नाफामा लघुवित्तको स्थितिः
नाफासँगै खराब कर्जामा पनि सुधार देखिएको छ । गत आवको तेस्रो त्रैमासमा अधिकांशक कम्पनीहरुको खराब कर्जा नियन्त्रणभन्दा बाहिर थियो । कम्पनीहरुको खराब कर्जा १३.५४ प्रतिशतसम्म पुगेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीहरुको खराब कर्जा १०.४४ प्रतिशत बिन्दुसम्मले घटाएका छन् । हाल कम्पनीहरुको औसत खराब कर्जा ६.५५ प्रतिशतमा आइपुगेको छ ।
‘आर्थिक शिथिलता र लघुवित्त विरुद्धको भइरहेका आन्दोलन र गलत अपवाहले पनि सहज अवस्था थिएन । ऋण मिनाहा जस्ता आन्दोलन र विरोधले ऋणीहरुलाई पनि भड्काइरहेको थियो । जसले ऋण मिनाहा हुने अपेक्षामै क्षमता भएका ऋणीले पनि किस्ता तिर्न आनकानी गरिरहेका थिए । कम्पनीहरुले पनि व्यवसाय विस्तार गर्न कठिनाई भएको थियो’, नेशनल माइक्रोफाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका यादवले भने, ‘पछिल्लो समय विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ । केही नीतिगत सुधार र आर्थिक गतिविधि चलायमान हुँदै गर्दा आगामी दिनमा लघुवित्त क्षेत्रको वित्तीय चित्र थप सुधारिने छ।’
चालु आवको तेस्रो त्रैमासमा २७ वटा कम्पनीको खराब कर्जा ५ प्रतिशत माथि छ । तर, सबैभन्दा कम खराब कर्जा फर्स्ट माइक्रोफाइनान्सको ०.७४ प्रतिशत छ ।
खराब कर्जाको स्थिति कस्तो ?