फेरि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार « Arthapath.com
२२ भाद्र २०८०, शुक्रबार

फेरि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार



काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।

सरकारले विकास ऋणपत्र २०७६ ‘झ’ मार्फत आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सो ऋणपत्रको अवधिमा ६ वर्ष हुनेछ ।

राष्ट्र बैंकका अनुसार सो ऋणपत्रको बोलकबोल भदौ २४ गते हुनेछ । आगामी आइतबार ३ बजेसम्म बोलकबोल हुने ऋणपत्रको ब्याजदर पनि बोलकबोलबाटै तय हुने राष्ट्र बैंकले जनाएको छ । भदौ २५ गतेदेखि निष्कासशन हुने ऋणपत्रको साँवा भुक्तानी आगामी २०८६ भदौ २५ गते हुने छ । ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पनि पाइनेछ । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फतमात्र हुन्छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको कट–अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने विभागले जनाएको छ ।

घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा नि:शेष भाग जाने अंकमा आवेदन दिनुपर्ने, ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने शर्त राखिएको छ । तर, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया दिनुहोस्