बढ्न थाल्यो नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता: एकै महिना ४२ प्रतिशतले वृद्धि, कति आयो ?
काठमाडौं । नेपालमा आउने वैदेशिक लगानी प्रतिबद्धता बढ्न थालेको छ । पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको आर्थिक सङ्कट लगायतका कारण वैदेशिक लगानी प्रभावित भइरहेको थियो । तर, अहिले भने सुधार आएको छ ।
पछिल्लो एक महिनामै नेपालका उद्योगका लागि आउने वैदेशिक लगानी ४१.८३ प्रतिशतले वृद्धि भएको छ । नेपाल उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अर्थात् कात्तिकमा कुल १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । तर, मङ्सिरमा भने बढेर २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ बढीको लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् । सो महिनामा २१ वटा नयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । मङ्सिरमा २१ वटा नयाँ उद्योगका लागि २ अर्ब २५ करोड ६२ लाख ७५ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । यस्तै, एसपिए/एसएसए २ वटा (३० करोड ५७ लाख रुपैयाँ बराबरको) र टीटीए अन्तर्गत ३ वटा उद्योगका वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
गत कात्तिकमा भने कात्तिकका मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार कात्तिकमा २७ वटा नयाँसहित ४२ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
चालु आवको पाँच महिनामा भने २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो ।
त्यसैगरि गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । असोजमा ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । हालसम्म भने ४ खर्ब ७० अर्ब ५७ करोड ९४ लाख ९९ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
चालु आवको पाँच महिनामा आएको वैदेशिक लगानी प्रतिविद्धताबाट १० हजार १२० जनाले रोजगारी पाउनेछन् । मङ्सिरमा मात्रै भएको लगानी प्रतिविद्धताबाट भने १ हजार ३५० जनाले रोजगारी पाउने विभागले जनाएको छ । तर, हालसम्म भएका लगानी प्रतिविद्धताबाट भने ३ लाख १९ हजार २१७ जनाले रोजगार पाउनेछन् ।
मङ्सिरमा पनि साना उद्योगमा मात्रै धेरै लगानी प्रतिबद्धता
मङ्सिरमा पनि ठुला उद्योगहरूमा भने लगानी प्रतिबद्धता आएको छैन । विभागका अनुसार सबैभन्दा धेरे लगानी प्रतिबद्धता साना उद्योगमै देखिएको छ ।
मङ्सिरमा पनि १९ वटा साना र ७ वटा मध्यम खालको उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । तर, चालु आवको पाँच महिनामा भने १८९ वटा साना, ७ वटा मध्यम र ३ वटा तीन ठुला उद्योगका लागि प्रतिबद्धता भएको हो ।
नेपालमा वैदेशिक लगानी पर्यटन क्षेत्रका उद्योगमा धेरै आउने गरेको छ । मङ्सिरमा पनि पर्यटन क्षेत्रमा ३८ प्रतिशत लगानी प्रतिबद्धता आएको हो । चालु आवको पाँच महिनामा आएको लगानी प्रतिविद्धतामा यस क्षेत्रको हिस्स ४८ प्रतिशत छ । पाँच महिनामा यस क्षेत्रका ९५ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो ।
यस्तै, चालु आवको पाँच महिनामा दोस्रो धेरै लगानी सेवा क्षेत्रमा आएको छ । यो क्षेत्रमा ३७ प्रतिशत लगानी प्रतिबद्धता भएको छ । यस क्षेत्रमा ७४ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । मङ्सिरमा पनि यस क्षेत्रका ६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ ।