नेपालको अन्तर्राष्ट्रिय व्यापार: एक दर्जन भन्सारबाट शून्य निकासी, कुन नाकाबाट कतिको हुन्छ वैदेशिक व्यापार ?

काठमाडौं । वैदेशिक व्यापारका लागि संचालनमा रहेकामध्ये एक दर्जन भन्सार नाकाबाट निर्यात शून्य देखिएको छ । हाल संचालनमा रहेका २९ वटा नाकामध्ये १३ वटा भन्सार कार्यालय मार्फत निर्यात शून्य देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर मसान्तसम्मको तथ्याङ्क अनुसार १३ वटा नाकाबाट आयात मात्रै भएको छ ।
वैदेशिक व्यापारिक नाकामध्ये भद्रपुर, चोभार, जनकपुर, महेश्वर, पोखरा, राजविराज भन्सार कार्यालयबाट निर्यात भएको छैन । यस्तै, सती, सिराहा, सुनसरी, सुथौली, ठाडी र त्रिवेणी भन्सार नाकाबाट पनि शून्य निर्यात देखिएको छ ।
भारतसँग द्विपक्षीय रूपमा सम्झौता भएका नाकाहरूबाट भने निर्यात भए पनि तेस्रो मुलुकसँगको निकासी शून्य देखिएको भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुण्य विक्रम खड्काले बताए ।
तेस्रो मुलुकहरूसँग जोडिने नाका व्यवस्थित नहुँदा पनि निर्यात नभएको खड्काले जानकारी दिए । उनले भने, ‘निकासी भनेको भारत मात्रै हुँदैन, तेस्रो मुलुकहरूसँग पनि हुने हो । त्यसको लागि पोर्ट व्यवस्थापन, त्यहाँसम्म पुग्नका लागि सहज रुट नहुँदा पनि निर्यात नभएको देखिन्छ ।’ सहज र छिटो हुने नाकाबाट मात्रै निर्यात हुने भएकाले तेस्रो मुलुकहरूसँगको नाकामा पनि आवश्यक व्यवस्थित पूर्वाधार नहुँदा निकासी नभएको खड्काको भनाई छ ।
चालु आवको पाँच महिनामा कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँ बराबरको आयात भएको छ । तर, ६३ अर्ब २०ल करोड ७४ लाख रुपैयाँ बराबरको मात्रै नेपालबाट निर्यात भएको छ । पाँच महिनामा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । तर, समीक्षा अवधिमा मुलुकको व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब १५ लाख रुपैयाँ छ ।
विभागका अनुसार भद्रपुर भन्सार कार्यालयमार्फत पाँच महिनामा ४६ करोड २० लाख, चोभारबाट ४६ करोड ८६ लाख, गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख ४२ हजार, जनकपुरबाट ६० करोड २४ लाख, महेश्वरबाट १५ करोड ४६ लाख, पोखराबाट २७ करोड ७४ लाख, राजविराजबाट १९ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ ।
यस्तै, सती कार्यालयबाट १७ करोड ९३ लाख, सिराहाबाट ८ करोड ४९ लाख, सुनसरीबाट ९७ करोड १५ लाख, सुथौलीबाट ४९ करोड ७ लाख, ठाडीबाट १ करोड ८ लाख र त्रिवेणी भन्सार नाकाबाट ४० हजार रुपैयाँ बराबरको आयात भएको छ । तर, यी कार्यालयबाट निर्यात भने शून्य छ ।
कुन नाकाबाट कतिको हुन्छ वैदेशिक व्यापार ?
चालु आवको पाँच महिनामा सबैभन्दा धेरै आयात वीरगन्ज कार्यालयमार्फत भएको छ । मङ्सिरसम्ममा सो कार्यालयमार्फत २ खर्ब १७ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । कुल आयातमा वीरगन्ज कार्यालयको हिस्सा ३३.८९ प्रतिशत रहेको छ । तर, निर्यातमा भने यस कार्यालयको हिस्सा १९.६३ प्रतिशत छ । मङ्सिरसम्ममा सो कार्यालय मार्फत १२ अर्ब ४० करोड ९२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
निर्यातमा ठुलो हिस्सा अन्तर्राष्ट्रिय त्रिभुवन विमान स्थलको भन्सार कार्यालय मार्फत भएको देखिन्छ । निर्यातमा यसको हिस्सा २४.८४ प्रतिशत छ । सो कार्यालयमार्फत पाँच महिनामा ५७ अर्ब ४८ करोड ८ लाख रुपैयाँ बराबरको आयात भएको भने १५ अर्ब ७० करोड ४ लाख रुपैयाँ बराबरको सामान निकासी भएको छ ।
आयातमा दोस्रो ठुलो हिस्सा भने भैरहवा भन्सार कार्यालयको १५.३७ प्रतिशत छ । चालु आवको पाँच महिनामा सो कार्यालय मार्फत ९८ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ बराबरको आयात भएको छ । विभागका अनुसार भैरहवा कार्यालय मार्फत भने ५ अर्ब ४२ करोड ३ लाख रुपैयाँ बराबरको निर्यात भएको देखिन्छ ।
यस्तै, आयातमा तेस्रो ठुलो हिस्सा रहेको ड्राइपोर्ट नाकाबाट भने ८८ अर्ब ७६ करोड बढीको आयात भएको छ । यस्तै, विराटनगर कार्यालय मार्फत ६८ अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बराबरको आयात भएको छ ।
यता, निर्यातमा दोस्रो ठुलो हिस्सा भने विराटनगर भन्सार कार्यालयको देखिएको छ ।सो कार्यालय मार्फत कुल निर्यातको २०.३८ प्रतिशत अर्थात् १२ अर्ब ८८ करोड ३८ लाख रुपैयाँ बराबरको निकासी भएको हो । तेस्रो स्थानमा रहेको मेची कार्यालयबाट पनि पाँच महिनामा १० अर्ब ४३ करोड ५३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
