आर्थिक सङ्कटले खुम्चियो लुम्बिनीका उद्योगहरूको सञ्चालन क्षमता, कस्तो छ उत्पादनको अवस्था ? « Arthapath.com
१२ पुष २०८०, बिहीबार

आर्थिक सङ्कटले खुम्चियो लुम्बिनीका उद्योगहरूको सञ्चालन क्षमता, कस्तो छ उत्पादनको अवस्था ?



काठमाडौं । लुम्बिनी प्रदेशमा सञ्चालित उद्योगहरूको सञ्चालन (उपयोग) क्षमता घटेको छ । प्रदेशमा सञ्चालित उद्योगहरूको उपयोग क्षमता ५.५४ प्रतिशतले घटेको देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको लुम्बिनी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदन (आव २०७९/८०) ले यस्तो देखाएको हो । अघिल्लो आव २०७८/७९ मा उद्योगहरूको औसत क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो । तर, गत आव २०७९/८० मा औसत क्षमता उपयोग ५०.८२ प्रतिशतले कायम भएको छ ।

आर्थिक मन्दीका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको हो । यसै पनि नेपालमा उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यो अवस्थामा पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण उनीहरू थप मारमा परेका हुन् ।

पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण आम उपभोक्ताहरूको क्रय शक्ति घटेको छ । त्यसले गर्दा बजारमा बस्तु तथा सेवाको मागमा कमी आएको छ । वस्तु तथा सेवाको मागले उद्योग सञ्चालनमा प्रत्यक्ष सम्बन्ध राख्छन्, त्यो अवस्थामा माग घट्दा उद्योगहरू क्षमताअनुसार चल्न नसकेको राष्ट्र बैङ्कका अधिकारीहरू बताउँछन् । साथै, बजारमा माग नभएको बेला उत्पादन बढाउने अवस्था पनि रहँदैन । समग्रमा पछिल्लो समय देखिएको आर्थिक सङ्कटकै कारण उद्योगहरू क्षमताअनुसार सञ्चालनमा नआएको बताइन्छ ।

विशेष गरी ड्राई सिरप, बिजुलीका तार तथा केबुल, साबुन, चामल, गहुँको पिठो, तोरीको तेल, फलामको छड/पत्ति तथा सामानहरू र औषधीजन्य उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोगमा कमी आएकाले गत वर्षको सोही अवधिको तुलनामा समग्र उद्योगको औसत क्षमता उपयोगमा केही ह्रास आएको छ ।

अध्ययनमा समेटिएका उद्योगहरू मध्ये सबैभन्दा बढी मदिराजन्य उद्योगले ८५.७६ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप औषधी उत्पादन गर्ने उद्योगले ५.८४ प्रतिशत क्षमता उपयोग गरेका छन् । यसै गरी औसत भन्दा बढी क्षमता उपयोग गर्ने उद्योगहरूमा सिमेन्ट, पशु दाना, कङ्क्रिट, आल्मुनियम, कागज, ट्याब्लेट प्लास्टिकको सामान, प्लाइउड, रोजिन र मदिरा रहेका छन् ।

उत्पादनको अवस्था कस्तो ?

अध्ययनमा समेटिएका उद्योगहरूमध्ये समीक्षा वर्षमा कागज उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३२.१४ प्रतिशतले वृद्धि भएको छ । विदेशमा कागजको मूल्य बढेर आयात कम हुँदा नेपाली कागजको माग बढेको कारण समीक्षा वर्षमा कागजको उत्पादन वृद्धि भएको राष्ट्र बैङ्कले जनाएको छ ।

कच्चा पदार्थको सुलभ उपलब्धता र भारत लगायतका अन्य देशहरूमा रोजिनको मूल्य उच्च रहेको कारण समीक्षा वर्षमा रोजिन उत्पादन ३०.५९ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा औषधीजन्य उत्पादन ओईन्टमेन्टको बजार माग वृद्धि भएकाले यसको उत्पादनमा २७.१६ प्रतिशतले वृद्धि भएको छ । त्यसै गरी बजार माग वृद्धिका कारण साबुनको उत्पादनमा २२.२५ प्रतिशतले वृद्धि भएको छ । बजारको मागमा कमी आउनु, समग्र अर्थतन्त्रमा देखिएको शिथिलता र अन्तर्राष्ट्रिय बजारमा कोइला तथा पेट्रोलियम पदार्थहरूको मूल्य वृद्धिका कारण समीक्षा वर्षमा सिन्थेटिक कपडाको उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३८.८८ प्रतिशतले ह्रास भएको छ ।

समीक्षा वर्षमा पशु दाना उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ३६.५६ प्रतिशतले ह्रास भएको छ । त्यसै गरी समीक्षा वर्षमा बिजुलीको तार, ड्राई सिरप, आल्मुनियम, कङ्क्रिट, गहुँको पिठो, तोरीको तेल र ट्याब्लेटको उत्पादनमा क्रमश: ३४.४८ प्रतिशत, २९.६९ प्रतिशत, २९.४२, २२.५८ प्रतिशत, २१.३६ प्रतिशत, २०.२१ प्रतिशत र १९.७४ प्रतिशतले ह्रास आएको छ ।


प्रतिक्रिया दिनुहोस्