इन्दुशङ्कर चिनी उद्योगको चार वर्षमा ८ अर्बको कारोबार, एकै वर्ष २५ प्रतिशतले बढायो व्यापार   « Arthapath.com
१९ पुष २०८०, बिहीबार

इन्दुशङ्कर चिनी उद्योगको चार वर्षमा ८ अर्बको कारोबार, एकै वर्ष २५ प्रतिशतले बढायो व्यापार  



काठमाडौं । इन्दुशंकर चिनी उद्योगले व्यापार बढाएको छ । राजहंस ब्रान्डमा चिनी बिक्री गर्दै आएको सो उद्योगले एकै वर्ष साढे २ अर्ब बराबरको कारोबार गरेको हो । 

कम्पनीले एकै वर्षमा आफ्नो व्यापार २५ प्रतिशतले बढाएको हो । सन् २०२२ मा कम्पनीले १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । तर, गत सन २०२३ मा भने कम्पनीले थप ४० करोड ७० लाख रुपैयाँले व्यापार बढाएको हो । सन् २०२३ मा कम्पनीको कुल व्यापार २ अर्ब ४० लाख रुपैयाँ पुगेको छ । 

कम्पनीले पछिल्लो चार वर्षमा ८ अर्ब बढीको व्यापार गरेको छ । सन् १९८४ मा स्थापना भएको यस कम्पनीले दैनिक ४५०० टन उखु प्रशोधन गर्दै आएको छ । गत सन् २०२० देखि यता कम्पनीले ८ अर्ब ३० करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । सन् २०२० मा कम्पनीले ३ अर्ब १३ करोड ३० लाख, सन् २०२१ मा १ अर्ब ५७ करोड र २०२२ मा १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । उद्योग व्यवसायी राजेश कुमार केडिया र उनको परिवारको स्वामित्वमा सञ्चालन भइरहेको छ । कम्पनीले आन्तरिक बजारमा उत्पादन भएको उखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ । 

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ९४ करोड ११ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । यो उद्योग नेपालको सबैभन्दा पुरानो र पहिलो निजी स्वामित्वको चिनी उद्योग हो । सुरुवातमा यसको क्रसिङ क्षमता ८०० टिसीडी थियो । तर, चिनीको बजारमा माग बढ्दै गएपछि कम्पनी व्यापक रूपमा विस्तार हुँदै गएको छ ।

सन् १९९६ मा कम्पनीले क्रसिङ क्षमता १८०० टीसीडी पुर्‍याएको थियो । तर, त्यसपछि बढाएर ३००० टीसीडीमा विस्तार गरेको थियो । चिनीको बजारमा माग बढ्दै जाँदा कम्पनीले आफ्नो क्षमता पनि विस्तार गर्दै आएको छ । सन् २०१४ मा ठुलो परिमार्जन गरी हाल कम्पनीको क्रसिङ क्षमता ५००० टीसीडी पुर्‍याएको छ । 


प्रतिक्रिया दिनुहोस्