भूगर्भ सिमेन्टको व्यापार र नाफामा सङ्कुचन, वार्षिक कारोबार डेढ अर्ब पनि पुगेन
काठमाडौँ । भूगर्भ सिमेन्टले तीन वर्षमा ४ अर्ब बढीको व्यापार गरेको छ । सन् २०२१ देखि २०२३ सम्म आइपुग्दा कम्पनीले ४ अर्ब १६ करोड ४० लाख बढीको व्यापार गरेको छ ।
गत वर्षको तुलनामा भने कम्पनीको व्यापारमा सङ्कुचन देखिएको छ । सन् २०२२ मा १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । तर, सन् २०२३ मा भने २१ करोड ५० लाख रुपैयाँ अर्थात् १४.५३ प्रतिशतले घटेको छ । यो वर्ष कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँ बढी बराबरको कारोबार गरेको हो । सन् २०२१ मा कम्पनीले १ अर्ब ४२ करोड १० लाख बढीको व्यापार गरेको थियो ।
विशेषगरि निर्माण क्षेत्रमा देखिएको सङ्कुचनले सिमेन्टको बजारमा माग नहुँदा नै व्यापार घटेको कम्पनीले जनाएको छ । आर्थिक सङ्कटले विभिन्न क्षेत्रको निर्माण गतिविधि पनि बढ्न नसक्दा समग्र सिमेन्ट बजारको नै कमी देखिएको छ । त्यसकै प्रभावित भूगर्भ सिमेन्टमा पनि देखिएको हो । समग्र व्यापार घट्दा कम्पनीको नाफा पनि प्रभावित भएको छ । गत वर्ष ७.७ प्रतिशत रहेको नाफा यो वर्ष भने घटेर २.६१ प्रतिशतमा झरेको छ ।
भूगर्भ सिमेन्ट गत वर्षदेखि पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । यसको स्थापना भने सन् २०१६ मा भएको थियो । कम्पनीले किङ्कर, फ्लाईएस, स्ल्याग, जिपसम आदिजस्ता कच्चा पदार्थ प्रयोग गरी सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल कम्पनीसँग दैनिक ३ हजार २०० मेट्रिक सिमेन्ट उत्पादन क्षमता छ । कम्पनीका अनुसार हाल पीपीसी र ओपीसी सिमेन्ट दैनिक ७०० मेट्रिक टन उत्पादन भइरहेको छ । यस्तै, ३०० मेट्रिक टन क्षमतामा किङ्कर उत्पादन पनि गर्दै आएको छ ।
कम्पनीले कुल २ अर्ब २५ करोड रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि सो बराबरको रेटिङ गराएको हो । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ (सिङ्गल बी) र अल्पकालीन कर्जाका लागि ७७ करोड ८३ लाख रुपैयाँ (ए फोर) रेटिङ पाएको छ ।