केडिया र रिलायन्स ग्रुपको लगानी रहेको ‘यति कार्पेट’ले ५० प्रतिशत बढायो व्यापार, वार्षिक कारोबार कति ?
काठमाडौँ । यति कार्पेटले आफ्नो व्यापार उच्च दोहोरो अङ्कले बढाएको छ । कम्पनीले एकै वर्ष आफ्नो बजार ५२.३० प्रतिशतले वृद्धि गरेको हो ।
नेपालका स्थापित व्यावसायिक घराना केडिया र रिलायन्स ग्रुपको लगानी रहेको छ । केडिया अर्गनाइजेशन र रिलायन्स ग्रुपको ५०/५० प्रतिशत स्वामित्व रहेको कम्पनीले नन–आभेन र टफ्टेड कार्पेट उत्पादन गर्दै आएको छ ।
यती कार्पेटले सन् २०२३ मा ४६ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन, गत वर्ष सन् २०२२ को तुलनामा १५ करोड ९० लाख रुपैयाँले बढी हो । कम्पनीले सन् २०२२ मा ३० करोड ४० लाख बढीको व्यापार गरेको थियो । आर्थिक शिथिलताका बाबजुद पनि कम्पनीले आफ्नो व्यापार उल्लेख्य बढाएको छ । हाल नेपालका उद्योगहरू खास चलायमान हुन सकिरहेका छैनन् । उद्योग, कल कारखानाहरू आफ्नो क्षमतामा सञ्चालन सकिरहेको छैनन् । आर्थिक सङ्कटकै कारण सिमेन्ट लगायत निर्माण सम्बन्धी उद्योगहरूको व्यापार पनि खास फस्टाउन सकिरहेको छैन । तर, यति कार्पेटले भने आफ्नो व्यापार बढाएको छ ।
उद्योगले सन् २०२० बाट व्यावसायिक उत्पादन थालनी गरेको थियो । कम्पनीले विभिन्न देशबाट फाइबर र धागो आयात गरी कार्पेट उत्पादन गर्दै आएको छ ।उद्योग मधेस प्रदेशको वीरगन्जमा रहेको छ । कम्पनीसँग कार्पेट उत्पादन गर्न बेल्जियम, चीन र भारतबाट अत्याधुनिक प्रविधिका मेसिनहरू छन् ।
कम्पनीले सन् २०२१ देखि गत वर्षसम्म आइपुग्दा कम्पनीको व्यापार ९५ करोड ९० लाख माथि पुगेको छ । सञ्चालनमा आएको दोस्रो वर्ष अर्थात् २०२१ मा कम्पनीले १९ करोड २० लाख बराबरको व्यापार गर्न सफल भएको थियो । यती कार्पेटमा अनिल कुमार केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, नरेन्द्रकुमार अग्रवाल र लोकेश तोदीको समान १३/१३ प्रतिशत सेयर स्वामित्व छ ।
कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन बैङ्किङ कर्जाका रेटिङ गराएको छ । कम्पनीले इक्रा नेपालबाट सो बराबरको बैंकिङ्ग कर्जाका लागि रेटिङ गराएको हो । कम्पनीले ४४ करोड ९९ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एलबी प्लस र १२ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पुन:पुष्टि गराएको छ ।
यति कार्पेट विभिन्न आकर्षक डिजाइन तथा रङ्गहरूमा बजारमा उपलब्ध छन् । कम्पनीले आफ्नो उत्पादनलाई बर्सेनि उल्लेख्य र गुणस्तरीय रूपमा वृद्धि गर्दै आएको जनाएको छ । विश्वको उत्कृष्ट प्रविधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको कम्पनीको जनाएको छ । यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो । जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल छ ।