यशोदा फुड्सले पीरो चाउचाउ बेचेर कमायो १७ अर्ब, तोड्यो आफ्नै व्यापारको रेकर्ड

काठमाडौँ । नेपाली बजारमा प्रख्यात करेन्ट चाउचाउ अहिले अन्तर्राष्ट्रिय रूपमा पनि परिचित छ । यशोदा फुड्सले उत्पादन गर्ने यो चाउचाउको बजारमा निरन्तर बढ्दो छ ।
यशोदा फुड्सले देश भित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर अन्तर्राष्ट्रिय चाउचाउ बजारमा पनि सफल व्यापार गरेको छ । पछिल्लो समय करेन्ट चाउचाउको व्यापार र यसको स्न्याक्सका प्रकारहरू उच्च रूपमा माग हुने गरेको छ । जसले व्यापार बढेको छ । कम्पनीले करेन्ट, लाली ब्रान्डमा उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ, जुन पछिल्लो समयमा नेपाली बजारमा अत्याधिक रुचाइएको छ ।
पछिल्लो तीन वर्षमा भने कम्पनीले १७ अर्ब १६ करोड रुपैयाँ बढीको व्यापार गर्न सफल भएको छ । सन् २०२३ मा कम्पनीले हालसम्मकै उच्च व्यापार गरेको पाइएको छ । सो वर्ष कम्पनीले ४ अर्ब ९६ ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन अघिल्लो वर्ष सन् २०२२ को तुलनामा ४४.६३ प्रतिशत अर्थात् १ अर्ब ५३ करोड २० लाख रुपैयाँले बढी हो । २०२२ मा कम्पनीले ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।
सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले व्यापार विस्तारमा आक्रामक देखिएको छ । तीन वर्षमै आफ्नो व्यापार झन्डै २ गुणाले बढाएको छ । बजार माग बढेसँगै कम्पनीको व्यापारमा उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ।
सन् २०२१ मा कम्पनीको कुल व्यापार २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बढी थियो । तथ्याङ्क अनुसार कम्पनीको व्यापार बर्सेनि उच्च रूपमा वृद्धि हुँदै गएको देखिन्छ । विशेषगरि नेपाली बजारमा नयाँ स्वादको चाउचाउ र स्न्याक्सको व्यापार बढेको कम्पनीको जनाएको छ ।
बजारमा माग बढ्दै गएपछि कम्पनीले उत्पादन क्षमता पनि वृद्धि गर्दै आएको छ । कम्पनीको हाल वार्षिक उत्पादन क्षमता ३० हजार ९ सय मेट्रिक टन छ । कम्पनीले वर्षमा सो बराबरको चाउचाउ र स्न्याक्स उत्पादन गर्दै आएको छ ।
कम्पनीले सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तमा बाट आफ्नो उत्पादन सुरुवात गरेको हो । कम्पनीले बजारमा माग बढ्दै गएपछि क्षमता थप गरेको छ । कम्पनीले सन् २०२३ मा २० हजार मेट्रिक टन चाउचाउ उत्पादन गरेको थियो । कम्पनीका अनुसार उत्पादन क्षमताको ६२ प्रतिशत उपभोग भएको छ ।
यशोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ । स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको हो । अहिले भारत अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरूमा पनि निर्यात हुन थालेको छ । बर्सेनि बजारमा माग बढ्दै गएकाले पनि आगामी वर्षहरूमा पनि कम्पनीको व्यापारमा अझै बढ्न कम्पनीको अनुमान छ ।
हाल कम्पनीको देशभर २५० देखि ३०० आधिकारिक वितरक छन्, यसले सिधै डिपार्टमेन्ट स्टोर र सुपर मार्केटमा बिक्री वितरण गर्दै आएको छ । आफ्नो उत्पादनका लागि कम्पनीले स्वदेशी तथा आयातित कच्चा पदार्थ प्रयोग गर्दै आएको छ ।
यस्तै, कम्पनीले कर्जाका लागि पनि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४ करोड ९३ लाख रुपैयाँको रेटिङ गराएको हो । दीर्घकालीन कर्जाका लागि २९ करोड ९३ लाख रुपैयाँ अर्थात् ट्रिपल बी र अल्पकालीन कर्जाका लागि ७५ करोड रुपैयाँ अर्थात् एटु रेटिङ पाएको छ ।