सिँचाइ आयोजनाबाट पहिलो पल्ट विद्युत् उत्पादन, राष्ट्रिय ग्रीडमा जोडियो झण्डै ५ मेगावाट « Arthapath.com
१७ माघ २०८०, बुधबार

सिँचाइ आयोजनाबाट पहिलो पल्ट विद्युत् उत्पादन, राष्ट्रिय ग्रीडमा जोडियो झण्डै ५ मेगावाट



काठमाडौं । सिंचाई आयोजनाहरुबाट विद्युत् उत्पादन गर्ने सिलसिला सुरु भएको छ । यसको सुरुआत रानी जमरा कुलरिया सिँचाई आयोजनाबाट भएको हो । उक्त आयोजनाले करीब दुई महिनायता विद्युत् उत्पादन थालेको थियो । तर यो विजुली गत मंगलबारमात्रै राष्ट्रिय ग्रिडमा जोडिएको छ ।

मुख्य नहरबाट आएको ८० घनमिटर प्रतिसेकेण्ड (क्यूमेक) पानीलाई जम्मा आठ मिटरभन्दा कम हेड (उचाइ)बाट झारेर ४.७१ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यस आयोजनाबाट बाह्रै महिना, चौबीसै घण्टा बराबर विद्युत् उत्पादन हुने छ । यो जलाशययुक्त आयोजनाजस्तै हो ।

रानी जमरा कुलरिया सिंचाइ आयोजनाका डिभिजनल ईञ्जिनियर वीरसिंह धामीले सामाजिक सञ्जाल फेसबूकमार्फत् सिंचाइ आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय ग्रीडमा जोडिएको जानकारी दिएका छन् । ‘यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुने अनुमान रहेको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि दाङको लमहीसम्मको पश्चिम तराइमा भएको एकमात्र विद्युत केन्द्र (पावरहाउस) यही हो ।

आयोजनाबाट २४ घण्टा ४.७१ मेगावाट बिजुली उत्पादन भएको छ । टिकापुर कटासेमा रहेको पावर हाउसबाट ३३ केभी प्रशारण लाइनमार्फत दाङको लम्की सबस्टेसनमा विजुली जोडिएको छ । हालसम्म करिब १७ अर्ब खर्च गरेको यस सिंचाइ आयोजनामा ६८ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । आयोजनाको बाँकी काम सक्न कम्तिमा पनि अझै ५ वर्ष लाग्ने अवस्था छ ।

सिंचाई नीतिमा बहुउद्देश्यीय आयोजना सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था छ । यस नीति अनुसार पहिलो पल्ट विद्युत् उत्पादन गर्ने सिँचाइ आयोजना पनि रानीजमरा कुलरिया नै रहेको छ । यसपछि भेरी–बबई डाइभर्सनबाट पनि विद्युत् उत्पादन हुने छ । उक्त आयोजनामा विद्युत् गृह निर्माण गर्न बाँकी छ । यसबाट ४८ मेगावाट विद्युत् उत्पादन हुने छ ।

भेरीबबईपछि सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय परियोजनाबाट ३० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने छ । यस आयोजनामा भने सुरुङ खन्ने काम करीब सकिन लागेको भए पनि बाँध (ब्यारेज) र विद्युत् गृहको निर्माण गर्नै बाँकी छ ।

यसरी बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्को लाभ कसरी वितरण गर्ने भन्ने कुरामा नयाँ नीतिगत व्यवस्था हुन बाँकी छ । यसका लागि प्रारम्भिक खाका ऊर्जा, जलस्रोत तथा सिंँचाइ मन्त्रालयले तयार पारेको भए पनि मन्त्रीपरिषदमा पुग्न सकेको छैन ।

यसका लागि विकास समिति वा कम्पनी खडा गर्ने वा आयोजनाको विद्युत् मूल्यांकन गरी शेयर कायम गराउने जस्ता विभिन्न विकल्पहरुमा छलफल भइरहेका छन् । यसका साथै नदी पथान्तरण आयोजनाहरुबाट हुने लाभलाई प्रभावित समुदायमा कसरी वितरण गर्ने भन्ने पनि चासोको विषय भएको छ । यस्ता कयौं विबादित पक्षहरुमा सरकारले के कस्तो निर्णय लिन्छ भन्ने कुराले धेरै असर पार्छ ।

रानी जमरा कुलरिया आयोजना आर्थिक वर्ष २०६७/६८ बाट निर्माण सुरु गरी आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको राष्ट्रिय गौरवको आयोजना हो । आयोजनाको प्रस्तावित लागत २७ अर्ब ७५ करोड रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्