घर जग्गा कारोबारमा क्रमिक सुधार: माघमा देशभर ५१ हजार किनबेच, कारोबारले लय समाएको हो ? « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

घर जग्गा कारोबारमा क्रमिक सुधार: माघमा देशभर ५१ हजार किनबेच, कारोबारले लय समाएको हो ?



काठमाडौं । घर जग्गा कारोबार बिस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो महिना कारोबार क्रमिक रूपमा बढ्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा पनि देशभर घर जग्गा किनबेच बढेको हो ।

विभागको तथ्याङ्क अनुसार माघमा मात्रै देशभर ५० हजार ९२१ वटा घर जग्गा किनबेच भएको छ । जुन गत वर्षको सोही महिनाको तुलनामा २३.९३ प्रतिशत बढी हो । गत वर्षको माघ महिनामा देशभर ४१ हजार ८६ वट मात्रै घर जग्गा किनबेच भएको थियो । 

विभागको तथ्याङ्क अनुसार गत मङ्सिरदेखि नै घर जग्गा कारोबार बढिरहेको छ । गत मङ्सिरमा कुल ४१ हजार ८५१ वटा घर जग्गा लिखत पारित भएको थियो । यस्तै, गत पुसमा पनि ४५ देशभर २७७ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ ।

अर्थतन्त्रमा देखिएको सकारात्मक सुधारसँगै घर जग्गा कारोबारमा पनि बढोत्तरी आएको हो । नियामकको सहज नीतिको सकारात्मक प्रभाव कारोबार परेको व्यवसायीहरू बताउँछन् । सरकारले पनि सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट लगायतको नीति खुकुलो पारेको छ भने नेपाल राष्ट्र बैङ्कले पनि घर जग्गा कर्जा लगानीमा लचक नीति अघि सारेको छ ।

राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाखबाट बढाएर दुई करोड पुर्‍याएको छ । यस्तै, घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ । यस्तो सहज नीतिका कारण नै मासिक रूपमा घर जग्गा कारोबार बढ्दै गएको देखिन्छ । चालु आवको पहिलो महिना अर्थात् साउनमा देशभर ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । यस्तै, भदौ महिनामा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३ र कात्तिकमा २६ हजार ५६ वटा घर जग्गा किनबेच भएको थियो ।

अर्थतन्त्रका सूचकहरू बिस्तारै सकारात्मक रूपमा सुधारोन्मुख छन् । आर्थिक गतिविधि पनि चलायमान हुँदै गइरहेको छ, जसले घर जग्गा कारोबार बढाएको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढ्दो नै छ । बैङ्क ब्याजदर पनि घट्दो ट्रेन्डमा छ, कर्जाकै ब्याजदर पनि एकल अङ्कमा झरिसकेको छ । 

आर्थिक शिथिलता, बढ्दो बजार महँगी र चर्को ब्याजदरले गत वर्ष र केही महिना अघिसम्म घर जग्गा कारोबारले गति लिन सकिरहेको थिएन । तर, पछिल्लो समय  अर्थतन्त्र बिस्तारै चलायमान हुने सङ्केत देखिएको छ । सहज रूपमा कित्ताकाट हुने हो भने कारोबार अझै बढ्ने व्यवसायीहरूको अपेक्षा छ । आर्थिक गतिविधि बढ्नु, बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिनु र घट्दो ब्याजदर ट्रेन्डले आगामी महिना कारोबारमा सुधार आउने व्यवसायीहरू बताउँछन् । 

धनुषा र इनरुवा सुनसरीमा धेरै किनबेच

माघ महिनामा सबैभन्दा धेरै घर जग्गा धनुषा र सुनसरीमा कारोबार भएको छ । माघ भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम धनुषा मार्फत २ हजार ९२ वटा घर जग्गा किनबेच भएको छ । यता, इनरुवा सुनसरी मार्फत पनि २ हजार ३२ वटा घर जग्गा किनबेच भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा १ हजार ९०० वटा, दमकमा ९१४, विराटनगर मोरङमा ९१८, बेलवारी मोरङबाट १ हजार ६८३, राजविराज सप्तरी १ हजार ४०० सिराहा मार्फत १ हजार ११३ वटा घर जग्गा किनबेच भएको विभागले जनाएको छ।  

त्यसैगरि जलेश्वरी महोत्तरी मार्फत १ हजार २९२, मलंगवा सर्लाहीमा १ हजार ८०, काभ्रेपलान्चोकमा ८६७, ललितपुरको लगनखेल कार्यालय मार्फत ९२७, भक्तपुर ९९५, कलैया बारामा १ हजार ३३, पर्सामा १ हजार ६७, चितवन मालपोत कार्यालय मार्फत ८८२, रुपन्देहीमा ८२५, तौलिहवा ९१० घोराही दाङमा ८७३,  बाँकेमा ८७९ र धनगढी कैलाली कार्यालय मार्फत ८६१ वटा घर जग्गा किनबेच भएको छ।  

कारोबारसँगै बढ्यो राजश्व, कहाँबाट उठ्छ बढी राजश्व ?

माघमा देशभरका मालपोत कार्यालय मार्फत झन्डै साढे ३ अर्ब राजश्व सङ्कलन भएको छ । घर जग्गा कारोबारमा आएको सुधारसँगै राजश्व सङ्कलन पनि वृद्धि भएको छ । माघ कुल ३ अर्ब ३७ करोड ५७ लाख ४६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । माघमा सेवा कर बापत २२ करोड ५१ लाख  १९ हजार, रजिश्टेसन दस्तुर २ अर्ब २५ करोड ४ लाख २७ हजार, पुँजीगत लाभकर १ अर्ब १९ करोड ९६ लाख ७३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ। 

राजश्व सङ्कलन भने भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरबाट भएको छ । सो कार्यालय मार्फत माघ ३१ करोड ६१ लाख १६ हजार रुपैयाँ  राजश्व सङ्कलन भएको छ । यस्तै, भक्तपुरबाट २६ करोड ७ लाख ६२ हजार, कलङ्कीबाट  १९ करोड ९३ लाख ८७ हजार, डिल्लीबजारबाट १७ करोड ६६ लाख ४५ हजार  र चाबहिलबाट  १५ करोड ८२ लाख ८८ हजार रुपैयाँ राजश्व उठेको छ । 


प्रतिक्रिया दिनुहोस्