बाक्लिदो पर्यटक आगमनले बढायो होटलहरुको नाफा, ३ अर्बको व्यापार हुँदा कसले कति कमाए ? « Arthapath.com
२ फाल्गुन २०८०, बुधबार

बाक्लिदो पर्यटक आगमनले बढायो होटलहरुको नाफा, ३ अर्बको व्यापार हुँदा कसले कति कमाए ?



काठमाडौं । पछिल्लो समय नेपाल भित्रने विदेशी पर्यटकको आगमन वृद्धिले नेपाली होटेलहरुको व्यापार तथा नाफा वृद्धि भएको छ । विशेषगरि सूचीकृत पर्यटन तथा होटेल समूहको आम्दानी र नाफा बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ६ वटा होटल तथा पर्यटन समूहको नाफा ४८ प्रतिशत वृद्धि भएको छ । हाल नेप्सेमा सो समूह अन्तर्गतका सोल्टी होटल, सिटी होटेल, ओरियण्टल होटल (र्‍याडीसन), तारागाउँ रेजेन्सी, चन्द्रागिरी हिल्स र कालिञ्चोक दर्शन सूचीकृत छन्, यी ६ वटै कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् ।

समिक्षा अवधिमा कम्पनीहरुले ४४ करोड ९४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने ४८.१७ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ३० करोड ३३ लाख रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

पर्यटक आगमन वृद्धिले नै यस क्षेत्रको आम्दानी पनि बढेको छ, जसले खुद नाफा वृद्धिमा टेवा पुगेको हो । चालु आवका ६ महिनामा कम्पनीहरुले २ अर्ब ९८ करोड ३१ लाख ५१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीहरुको आम्दानी गत वर्षको तुलनामा १६.७६ प्रतिशत अर्थात् ४२ करोड ८३ करोड रुपैयाँले वृद्धि भएको हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले २ अर्ब ५५ करोड ४८ लाख २७ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ मा विदेशी पर्यटक आगमन १० कटेको छ । सो वर्ष १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भित्रीएका थिए । यो अघिल्लो वर्ष सन् २०२२ मा नेपाली आएको विदेशी पर्यटक भन्दा ४ लाख बढी हो । नयाँ वर्ष २०२४ को पहिलो जनवरी महिनामा पनि ७९ हजार १०० जना हवाई मार्ग मार्फत आएका छन् । कोरोना महामारी र आर्थिक शिथिलताले सुस्ताएको नेपाली पर्यटन बजार बिस्तारै लयमा फर्कदै छ । यसले होटलहरुको व्यापार बढाएको छ ।

फामा सोल्टी होटेल पहिलो, नोक्सानीमा सिटी होटल

सबैभन्दा धेरै नाफा कमाउनेमा सोल्टी होटल पहिलो बनेको छ । ६ महिनामा सोल्टीले २६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत वर्षको तुलनामा भने ४.६४ प्रतिशत मात्रै बढी हो । यता, गत वर्षको दोस्रो त्रैमासमा ऋणात्मक रहेको कालिञ्चोक दर्शन पनि यो वर्ष भने ६३ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, सिटि होटल भने ११ करोड ७९ लाख रुपैयाँ नोक्सानीमा छ । यद्यपि, गत वर्षको तुलनामा भने कम्पनीले नोक्सानी घटाएको हो ।

समिक्षा अवधिमा तारा गाउँ रिजेन्सीको नाफा ७१.०७ प्रतिशत बढेर १८ करोड १६ लाख रुपैयाँ पुगेको छ । यता, चन्द्रागिरी हिल्सले ६ करोड २४ लाख र दि ओरियण्टलले ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

सोल्टीकै आम्दानी १ अर्ब नाघ्यो, वृद्धिदरमा कालिञ्चोक पहिलो

समिक्षा अवधिमा होटलहरुको आम्दानी २ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ छ । योमध्यै सोल्टी होटलकै १ अर्ब ५ करोड ८ लाख रुपैयाँ छ ।

आम्दानी वृद्धिदरका आधारमा भने कालिञ्चोक दर्शन अगाडी छ । गत वर्षको दोस्रो त्रैमासमा ४१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको कालिञ्चोकले यो वर्षभने ८.०४ गुणा बढाएर ३ करोड ३० लाख रुपैयाँ पुर्याएको छ।

यस्तै, तारागाउँ रेजेन्सीले ६३ करोड ८५ लाख, ओरियण्टलले ५६ करोड १ लाख, चन्द्रागिरी हिल्सले ४५ करोड ७५ लाख र सिटि होटलले २४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्