साढे २७ अर्बको वैदेशिक लगानी प्रतिबद्धता: पर्यटन क्षेत्रमा बढी आकर्षण, लाभांश बापत बाहिरियो झन्डै १४ अर्ब  « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

साढे २७ अर्बको वैदेशिक लगानी प्रतिबद्धता: पर्यटन क्षेत्रमा बढी आकर्षण, लाभांश बापत बाहिरियो झन्डै १४ अर्ब 



काठमाडौं । सात महिनामा साढे २७ अर्बको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा २७ अर्ब ५३ करोड ८८ लाख २६ हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले उपलब्ध गराएको ७ महिनाको वैदेशिक लगानी प्रतिबद्धताको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् । 

माघसम्म स्वीकृत लगानीमा २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । बाँकी ४ अर्ब ८५ करोड ७३ लाख ९ हजार रुपैयाँ भने सेयर पर्चेच एग्रीमेन्ट तथा सेयर सस्क्रीब्सन एग्रीमेन्टबापत प्रतिबद्धता आएको हो । फरक फरक प्रकृतिका २७२ वटा उद्योगहरूमा सो बराबरको लगानी प्रतिबद्धता आएको छ । माघ महिनामा मात्रै २० वटा उद्योगहरूका लागि १ अर्ब १९ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।  यी उद्योगहरू सञ्चालनमा आएपछि १२ हजार ६९२ जनाले रोजगारी प्राप्त गर्ने उद्योगले जनाएको छ । 

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात् गत साउनमा नयाँ तथा पुरानो गरी ६६ वटा उद्योगका लागि ११ अर्ब ९६ करोड ७८ लाख ३० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यस्तै, गत भदौ महिनामा पनि ५३ वटा नयाँ तथा पुरानो उद्योगका लागि ५ अर्ब ८५ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको थियो । 

त्यसैगरि गत असोजमा २ अर्ब ४४ करोड ८८ लाख ७३ हजार रुपैयाँ बराबरको ४७ वटा नयाँ तथा पुराना उद्योगका लागि लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस्तै, गत कात्तिक महिनामा मात्रै १ अर्ब ८० करोड ६३ लाख ४४ हजार रुपैयाँ, मङ्सिरमा २ अर्ब ५६ करोड १९ लाख ७५ हजार रुपैयाँ र पुसमा भने १ अर्ब ९८ करोड ९५ लाख ८९ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । हालसम्म भने ४ खर्ब ७२ अर्ब ५८ करोड ९९ लाख ३८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । त्यसबाट ३ लाख २१ हजार ७५२ जनाले रोजगारी पाउने विभागको तथ्याङ्कमा उल्लेख छ।  

विभागको तथ्याङ्क अनुसार साना उद्योगमा मात्रै धेरै वैदेशिक लगानी प्रतिबद्धता आएको छ । ७ महिनामा २२६ वटा साना तथा १२ वटा मध्यम खालको उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो । सो अवधिमा तीन ठुला उद्योगका लागि पनि लगानी प्रतिबद्धता भएको विभागले जनाएको छ । 

वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ । चालु आवको ७ महिनामा कुल लगानी प्रतिबद्धताको ४५ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको छ ।  विदेशी लगानीकर्ताहरू पर्यटन क्षेत्रमा आकर्षित देखिएका छन् । समीक्षा अवधिमा १०८ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएका छन् । 

यस्तै, दोस्रो स्थानमा भने सेवा क्षेत्र भने ३६ प्रतिशत लगानी प्रतिबद्धता भएको छ । चालु आवको चार महिनामा यस क्षेत्रमा ८६ वटा उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादन क्षेत्रमा ११ प्रतिशत (२८ वटा), सूचना प्रविधिमा ३ प्रतिशत (८ वटा उद्योग),  पूर्वाधार क्षेत्रमा २ प्रतिशत (५ वटा), कृषिमा २ प्रतिशत (४ वटा) र खनिज जन्य क्षेत्रमा १ प्रतिशत (२ वटा) वैदेशिक लगानी प्रतिबद्धता आएको हो । 

लाभांश बापत बाहिरियो ७ महिनामा झन्डै १४ करोड

चालु आवको ७ महिनामा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरूले १३ अर्ब ८४ करोड ४८ लाख २२ हजार रुपैयाँ लाभांश लगेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ६७ करोड ३० लाख ५२ हजार रुपैयाँ बढी हो । गत आवको माघ मसान्तसम्ममा भने विदेशी कम्पनी तथा लगानीकर्ताहरूले लगानीबाट १३ अर्ब १७ करोड १७ लाख ७० हजार रुपैयाँ लाभांश लगेका थिए । 

यसै गरी रोयल्टी मार्फत पनि धेरै रकम बाहिरिएको छ । नेपालीमा रुपैयाँमा १ अर्ब ३७ करोड ३९ लाख ८२ हजार रुपैयाँ रोयल्टी बाहिरिएको छ । यस्तै, डलरमा १ करोड २ लाख ६५ हजार, भारतीय रुपैयाँमा ५३ करोड ६७ लाख र युरोमा १३ हजार ६०० बराबरको रोयल्टी बाहिरिएको छ ।


प्रतिक्रिया दिनुहोस्