नेपालको वैदेशिक व्यापारमा छैन सुधार: आयात र निर्यातमा संकुचन, ८११ अर्ब पुग्यो व्यापार घाटा « Arthapath.com
९ फाल्गुन २०८०, बुधबार

नेपालको वैदेशिक व्यापारमा छैन सुधार: आयात र निर्यातमा संकुचन, ८११ अर्ब पुग्यो व्यापार घाटा



काठमाडौं । नेपालको वैदेशिक व्यापारमा निरन्तर संकुचन आएको छ । आर्थिक शिथिलताले आयात र निर्यातको दुवै व्यापार बढ्न सकिरहेको छैन् ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो । ७ महिनहामा २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशत घटेको छ ।

चालु आवको ७ महिनामा नेपालले कुल ८ खर्ब ९७ अर्ब ९४ करोड ३७ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात गरेको छ । तर, यो गत आवको सोही अवधिको तुलनामा भने २१ अर्ब २२ करोड १४ लाख रुपैयाँ कमी हो । गत आवको माघ मसान्तसम्ममा भने नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ बराबरको आयात गरेको थियो ।

यस्तै, समिक्षा अवधिमा नेपालको निर्यातमा पनि घटेको छ । गत आवको समिक्षा अवधिमा नेपालले कुल ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

७ महिनामा नेपालको कुल वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । तर, यो गत आवको तुलनामा भने २.७५ प्रतिशत कमी हो । गत आवको माघ मसान्तसम्म नेपालको कुल वैदेशिक व्यापार १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको थियो ।

चालु आवको ७ महिनामा नेपालको वैदेशिक व्यापार घाटा भने ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्