नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजार भारतपछि दक्षिण अफ्रिकाको नामिबीया, निर्यातको आँकडा कस्तो ? « Arthapath.com
११ फाल्गुन २०८०, शुक्रबार

नेपाली सिमेन्टको अन्तर्राष्ट्रिय बजार भारतपछि दक्षिण अफ्रिकाको नामिबीया, निर्यातको आँकडा कस्तो ?



काठमाडौं । नेपालको सिमेन्ट तथा क्लिङ्कर निर्यातको व्यापारमा उल्लेख्य सुधार भएको छ । सात महिनाको अवधिमा नै २ अर्ब बढीको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको हो । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिना (साउन–माघ) सम्ममा नेपालबाट २ अर्ब ६ करोड ८ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १२.३३ गुणा बढी हो । गत आवको माघ मसान्तसम्ममा नेपालले १६ करोड ७९ लाख रुपैयाँ बराबरको मात्रै सिमेन्ट, क्लिङ्कर निकासी गरेको थियो । 

चालु आवको सात महिनामा कुल २१ लाख ४७ हजार ५०० टन सिमेन्ट तथा क्लिङ्कर निर्यात भएको छ । त्यसमध्ये ३ लाख ५९ हजार ७३ टन भने क्लिङ्कर मात्रै रहेको विभागले जनाएको छ।  

विशेषगरि सरकारी नीतिले पनि सिमेन्ट निर्यातमा थप टेवा पुगेको हो । हाल सरकारले सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने नीति ल्याएको छ । त्यसबाट सिमेन्ट उद्योगहरू निर्यात गर्न प्रोत्साहित भएका छन् । नेपालबाट आधिकारिक रूपमा पहिलो पटक तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । गत वर्ष असार २४ गते उक्त सिमेन्ट भारत निर्यात गरिएको थियो । निर्यात सुरु भएको सुरुवातदेखि सिमेन्ट तथा किङ्कर निकासी निरन्तर बढिरहेको छ । हाल नेपालका चार वटा उद्योगले भारत तर्फ सिमेन्ट निर्यात गर्दै आएका छन् । नेपालबाट घोराही, बालाजी, तानसेन, अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात हुँदै आएका छन् । 

पछिल्लो नेपाली सिमेन्ट तथा क्लिङ्करले अन्तर्राष्ट्रिय बजार पाउँदै गएका छन् । नेपालको सिमेन्ट तथा क्लिङ्करको मुख्य बजार भारत हो । भन्सार विभागका अनुसार भारतपछि दक्षिणी अफ्रिकाको एक मुलुक नामिबीयामा पनि नेपाली सिमेन्ट तथा क्लिङ्कर पुगेको छ । माघ महिनामा नामिबीयामा १० लाख ४९ हजार रुपैयाँ बराबरको १५५ टन सिमेन्ट तथा क्लिङ्कर पुगेको विभागको तथ्याङ्कमा देखिएको छ । नेपाली सिमेन्ट तथा क्लिङ्कर भारतको विहार र उत्तर प्रदेशबाट बढी माग हुने गरेको व्यवसायीहरू बताउँछन् । 

आयतमा भने घट्दै 

नेपालबाट निकासी बढेसँगै आयातको तथ्याङ्क भने घट्दो क्रममा देखिएको छ । समीक्षा अवधिमा नेपालले आयात गर्ने सिमेन्ट तथा क्लिङ्कर १७.६७ प्रतिशत घटेको छ । गत आवको माघ मसान्तसम्ममा २१ करोड १९ लाख ४९ हजार रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिङ्कर नेपालले आयात गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेको छ । ७ महिनामा नेपालले भारतबाट १७ करोड ४४ लाखको मात्रै आयात गरेको छ।  


प्रतिक्रिया दिनुहोस्