प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै, नेपाली बजारमा कस्तो असर पर्ला ? « Arthapath.com
१२ चैत्र २०८०, सोमबार

प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध कायमै, नेपाली बजारमा कस्तो असर पर्ला ?



काठमाडौं । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । भारत सरकारले यही मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा रोक लगाएको थियो । तर, उक्त म्याद नसकिँदै अनिश्चितकालका लागि प्रतिवन्ध लम्ब्याएको हो ।

भारतमा नजिकिँदै गरेको चुनाव लक्षित गरि आन्तरिक बजारमा प्याजको मूल्य घटाउने उद्देश्यले निर्यात प्रतिवन्ध लम्बाइएको हो । भारत तरकारी निर्यातमा विश्वमै सबैभन्दा ठुलो निर्यातकर्ता मानिन्छ ।

भारतले अन्य देशमा लगाइएको प्रतिवन्ध लम्बाइएपछि आयात गर्ने नेपाल लगायतका मुलुकहरुमा भने मूल्य बढ्ने अनुमान गरिएको छ ।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढी घटिसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यस सिजनको उत्पादन भित्र्याउने समय पनि भएका कारण भारतीय व्यापारीहरुले निर्यात प्रतिबन्ध हट्ने अनुमान गरेका थिए । तर, सरकारले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्म प्रतिबन्ध कायमै रहने जनाएको छ ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्स लगायत देशहरुले भारतबाट नै प्याज आयात गर्दै आएका छन् । यी मुलुकहरुले मूल्य वृद्धिको समेत मार खेप्दै आएका छन् । ती मुलुकसहित नेपालमा पनि मूल्य बढ्ने आँकलन गरिएको छ । नेपालमा झन्डै ९० प्रतिशत नै प्याज भारतबाट नै आयात गर्दै आएको छ ।

प्रतिबन्ध लम्बिएपछि प्याजको मूल्य थप बढ्नसक्ने अनुमान गरिएको छ । यद्यपि, उक्त प्रतिबन्धले नेपाली बजारको मूल्य भने खासै प्रभाव नपरेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रतिवन्ध लगाए पनि अनौपचारिक रुपबाट आयात भइरहेका समितिका एक अधिकारीले बताए । तर, मूल्यमा पनि खासै असर नपरेको उनको भनाई छ। ती अधिकारीले भने,‘भारतले प्रतिवन्ध प्याज निर्यातमा लगाएको प्रतिवन्ध लगाएको लामो समय भइसक्यो । तर, पनि अनौपचारिक रुपमा प्याज आयात भईरहेको छ । मूल्य पनि खासै प्रभाव नपरेको देखिन्छ ।’

समितिका अनुसार आज (चैत १२ गतें सुकेको भारतीय प्याजको मूल्य प्रतिकेजी न्युनतम ७० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ तोकिएको छ । आजका लागि औसत मूल्य भने ७२ रुपैयाँ ८० पैसा तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्