यी हुन् सरकारलाई कर नतिर्ने २५ ठुला कम्पनी, १५ दिन भित्र भुक्तानी नगरे कारवाही गर्ने चेतावनी « Arthapath.com
२४ बैशाख २०८१, सोमबार

यी हुन् सरकारलाई कर नतिर्ने २५ ठुला कम्पनी, १५ दिन भित्र भुक्तानी नगरे कारवाही गर्ने चेतावनी



काठमाडौं । विभिन्न २५ ठूला कम्पनीले सरकारलाई मूल्य अभिबृद्धि कर र आयकर नतिरेको देखिएको छ । ठुला करदाता कार्यालयले सोमबार एक सुचना जारी गर्दै उनीहरुलाई तत्काल कर दाखिला गर्न अनुरोध गरेको छ ।

कतिपय कम्पनीले कत्ति पनि कर नतिरेको र केही कम्पनीले कम कर तिरेको सुचनामा उल्लेख छ । उक्त कम्पनीहरुले १५ दिन भित्र कर दाखिला नगरे आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारवाही गरी वक्यौता असुल उपर गरिने सुचनामा उल्लेख छ ।

कार्यालयअन्तर्गत दर्ता रहेका तपसिल बमोजिमका करदाताहरूलाई कर वक्यौता दाखिला गर्न विभिन्न मितिमा कर संकलन भ्रमण, अनुरोध, पत्राचार, फोन सम्पर्क गरी जानकारी गराइए पनि कतिपय करदातालाई फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेको जनाएको छ । यस्तै, फर्मको ठेगानामा पत्राचार गर्दा हुलाक कार्यालयबाट करदाता पत्ता नलागी पत्र बुझाउन नसकेको भनी यस कार्यालयमा फिर्ता आएको र हालसम्म पनि वक्यौता रकम दाखिला नभएको र कम दाखिला भएको कार्यालयले जनाएको छ ।

आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम आजकौ मितिले १५ दिनभित्र दाखिला गनै कार्यालयले अनुरोध गरको छ । दाखिला गरिसकेको भए सोको प्रमाण पेश गर्नु भनेको छ । तोकिएको अवधिभित्र वक्यौता कर रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआएमा कारावाही गर्ने चेतावनी समेत दिएको छ ।

आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारवाही गरी वक्यौता असुल उपर गरिने कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कृषि सामग्री कम्पनी र हिमालयन आइरन एन्ड स्टिलले आयकर तिरेको छैनन् । यसैगर उदयपुर सिमेन्ट, माउन्ट एभरेष्ट ब्रुअरी र पेन इन्डीया इन्फ्राप्रोजेक्टसले आयकर र भ्याट तिरेका छैनन् । आयकर र भ्याट दुवै नतिर्ने कम्पनीमा शुभश्री अग्नी सिमेन्ट र जयन्ती निर्माण सेवा पनि रहेका छन् ।

यसैगरि गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नर्भिक इन्टरनेशनल हस्पीटल एन्ड मेडिकल कलेज, अरनिको आवुखैरेनी सिमेन्ट र जनक शिक्षा सागग्रीले आयकर तिरेका छैनन् । जनक शिक्षा सामग्री सरकारी स्वामित्वको कम्पनी हो । तर, सोही कम्पनीले आयकर नतिरेको सुचनाले पुष्टी गरेको छ ।

यसैगरि सिई कन्स्ट्रक्सन, टाइगर्स ब्रुअरी, सुविसु केवलनेट, इष्टर्न एजेन्सीज, सुनाम इन्फ्रास्टक्चर निर्माण प्रालि, कशमस सिमेन्ट, बतास ब्रदर्श, महालक्ष्मी वायर एन्ड एन्ड केवल, बिशाल सिमेन्ट, ग्रीन हिल सिटी, अयोकी सिम्बोल इरेक्टर्स नेपाल प्राली, शिव शिखर एग्रो प्राली, कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीले भ्याट नतिरेको उल्लेख छ ।

कम्पनीहरुले आर्थिक बर्ष सकिएको ६ महिना (पुस मसान्त) भित्र आयकर तिर्नपर्छ । भ्याट भने हरेक ४–४ महिनामा दाखिला गर्नुपर्छ । तर, उल्लेखीत कम्पनीहरुले पटक पटक ताकेता गर्दा पनि कर नतिरेको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्