बढ्न थाल्यो वैदेशिक लगानीः ५५७ ‘प्रोजेक्ट’मा ६५ अर्ब बढीको लगानी प्रतिवद्धता, कति बाहिरियो लाभांश ?

काठमाडौं । आर्थिक शिथिलताका कारण घटेको वैदेशिक लगानी प्रतिवद्धता पछिल्लो समय बढ्न थालेको छ । नेपालमा आउने वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको हो ।
आर्थिक सङ्कट लगायतका कारण वैदेशिक लगानी प्रभावित भइरहेको थियो । तर, अहिले भने सुधार आएको छ । एक वर्षको अवधिमै वैदेदेशिक लगानी प्रतिवद्धता ३०.२८ प्रतिशत बढेको छ ।
उद्योग विभागबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत आवको ११ महिना अर्थात् जेठसम्म कुल ४९ अर्ब ९६ करोड ४२ लाख २८ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भएको थियो ।
गत वर्ष जेठसम्म ४०० परियोजना मार्फत सो बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर, चालु आवको सोही अवधिमा भने ५५७ वटा परियोजना मार्फत कुल ६५ अर्ब ९ करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भएको विभागले जनाएको छ ।
विभागका अनुसार सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट(टीटीए) क्षेत्रसहित नयाँ उद्योगमा गरी लगानी प्रतिबद्धता जनाएका छन् । चालु आवको साउनदेखि जेठसम्ममा ९० वटा परियोजना मार्फत ११ अर्ब १८ करोड ११ लाख ८० हजार रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
यस्तै, २५९ वटा नयाँ परियोजनाका लागि ४ अर्ब ४४ करोड ८ लाख २६ हजार बराबरबको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार एसपिए र एसएसए मार्फत ५२ वटा परियोजनका लागि ९ अर्ब ५१ करोड ४५ लाख ६८ हजार रुपैयाँ लगानी प्रतिवद्धता भएको छ । जेठ महिनामा मात्रै ६८ वटा परियोजनामा प्रत्याक्ष ८ अर्ब २७ करोड ९० लाख, नयाँ तर्फ ५२ वटाका लागि ३ अर्ब १ करोड ५६ लाख र एसपिए/एसएसए (९) मार्फत ४६ करोड १० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।
११ महिनाको अवधिमा साना ३४१ वटा उद्योग र १४ वटा मझौला उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता भएको विभाले जनाएको छ। जेठसम्म ४ वटा ठुला उद्योगका लागि लगानी प्रस्ताव आएको हो । जेठमा मात्रै ५१ वटा साना र १ वटा मध्यम खालको उद्योगका लागि लगानी प्रतिवद्धता भएको छ । हालसम्ममा भने कुल ५ खर्ब ५ अर्ब ५५ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
कुल ६ हजार ३०८ परियोजनामा आएको लगानी प्रतिवद्धता मार्फत कुल ३ लाख २९ हजार ६५५ जनाले रोजगारी पाउने विभागको दावी छ । चालु आवको ११ महिनामा आएको कुल वेदेशिक लगानी मार्फत भने २० हजार १४६ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ । गत आवको सोही अवधिमा भने १४ हजार ६१३ जनाले रोजगारी पाउने उल्लेख गरिएको थियो ।

पर्यटन क्षेत्रका उद्योगमा सबैभन्दा ठुलो लगानी प्रतिवद्धता, अन्य क्षेत्रमा कति ?
नेपालमा आउने कुल वैदेशिक लगानी प्रतिवद्धताको झन्डै आधा हिस्सा पर्यटन क्षेत्रमा देखिएको छ ।
११ महिनामा आएको लगानी प्रतिवद्धताको ४९ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको छ । यस क्षेत्रसँग सम्वन्धित १७६ वटा उद्योगका लागि लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । दोस्रो ठुलो हिस्सा रहेको सेवा क्षेत्रमा ११४ वटा उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।
यस्तै, उत्पादन तथा निर्माण क्षेत्रमा ११ प्रतिशत (४० वटा) सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत (१० वटा), कृषिमा २ प्रतिशत (८), पूर्वाधारमा २ प्रतिशत (७ वटा), खनिजमा १ प्रतिशत ( ३ वटा) र उर्जामा १ वटा उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

कति बाहिरियो लाभांश र रोयल्टी ?
नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरूले अरबौँ रकम रोयल्टी र लाभांश मार्फत लैजाने गरेका छन्।
११ महिनाको अवधिमा पनि लाभांश बापत ९ अर्ब ९७ करोड २८ लाख ९५ हजार रुपैयाँ बाहिरिएको छ। तर, यो गत आवको सोही अवधिको तुलनामा भने २७.८६ प्रतिशत कमी हो । गत आवको साउनदेखि जेठसम्ममा भने विदेशी लगानीकर्ताहरुले नेपालबाट कुल १३ अर्ब ८२ करोड ५५ लाख ३० हजार रुपैयाँ लाभांश लगेका थिए ।
समिक्षा अवधिमा रोयल्टी मात्रै २ अर्ब ५४ करोड ३४ लाख ५९ हजार रुपैयाँ बाहिरिएको छ । जेठमा मात्रै लाभांश बापत ६८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ लाभांश र ५४ अर्ब ८४ करोड ६४ लाख रोयल्टी बाहिरिएको विभागले जनाएको छ ।
११ महिनामा अमेरिकी डलरमा १ करोड ८ लाख ७९ हजार, भारतीय रुपियाँ ७३ करोड ७ लाख ९१ हजार र २३ हजार ८० सय यूरो रोयल्टी लगेका छन् ।