बजेट कार्यान्वयनमा असन्तुलन प्रवृत्तिः सरकारले एकै दिन खर्च गर्यो साढे ३३ अर्ब, विकास खर्चमा मात्रै १४ अर्ब ४० करोड

काठमाडौं । सरकारको बजेट खर्चमा असन्तुलन प्रवृत्ति कायमै देखिएको छ । सरकारले एकैदिन साढे ३३ अर्ब रुपैयाँ खर्च गरेको छ । सोमबार मात्रै सरकारले ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले सोमबार मात्रै सो बराबरको खर्च गरेको हो । सोमबार सरकारले नियमित रुपमा खर्च गर्न पाउने अन्तिम दिन रहेकाले पनि ठुलो रकम एकैदिन खर्च गरेको हो ।
आर्थिक वर्षको सुरुवातीमा सरकारको बजेट कार्यान्वयन तथा भुक्तानी सुस्त हुन्छ । तर, अन्तिम समयमा भने अस्वाभाविक रूपमा बढ्ने गरेको छ । असार महिनामा मात्रै सरकारको खर्च निकै उच्च हुने गरेको छ । अधिकांश वर्षहरूमा पुँजीगत बजेटको औसत ४० प्रतिशत असार महिनामा मात्रै खर्च हुने प्रवृत्ति छ । सरकारले सो अवधिमा बजेट सक्नका लागि रकमान्तर र थप निकासाको सहायता लिँदै आएको छ ।
आज (असार २५ गते) देखि सरकारी खाता बन्द हुँदैछन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० अनुसार सरकारी खाता बन्द हुने भएको हो ।
नियमावलीमा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । त्यसको चाप आइतबार र सोमबार देखिएको छ । सोमबार उच्च मात्रामा खर्च गरिएको कार्यालयको तथ्याङ्क छ । तथ्याङ्कअनुसार सोमबार सबैभन्दा धेरै पुँजीगत खर्च भएको देखिन्छ । एकैदिन १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । चालु आवको साउनदेखि असार २५ गते बिहानसम्म भने १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । जुन यो वर्षको लक्ष्यको ५६.९७ प्रतिशत हो । चालु आवमा सरकारले कुल ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको थियो ।
सोमबार सरकारको चालु खर्च ९ अर्ब ८५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ । यता, वित्तीय खर्च पनि ९ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको देखिन्छ । यस्तै, एकैदिन सरकारले १३ अर्ब ११ करोड ९४ लाख रुपैयाँ राजश्व उठाएको छ । यसमा कर राजश्व १२ अर्ब १५ करोड ८४ लाख रुपैयाँ र गैर राजश्व ९६ अर्ब १० करोड आम्दानी गरेको छ ।
साढे ३ खर्ब पुग्यो बजेट घाटा, विकास खर्च लज्जास्पद
मंगलबारसम्मको तथ्याङ्क अनुसार सरकारको बजेट घाटा साढे ३ खर्ब नजिक पुगेको छ । सो अवधिमा आम्दानी भन्दा खर्च धेरै अर्थात् बजेट घाटा ३ खर्ब ४० अर्ब ३९ करोड ५० लाख रुपैयाँ पुगेको छ । सरकारको लक्ष्यअनुसार आम्दानी नहुँदा नै ठुलो मात्रा बजेट घाटा हुन पुगेको हो ।
समिक्षा अवधिमा सरकारले लक्ष्यको ७९.५९ प्रतिशत मात्रै राजश्व उठाउन सफल भएको छ। चालु आवमा कर राजश्व, गैर कर राजश्वबाट सरकारले कुल १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको थियो । यस्तै, अनुदान लगायतबाट कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ आम्दानीको लक्ष्य लिएको थियो । तर, यस्तो आम्दानी लक्ष्यको ६८.९९ प्रतिशत मात्रै भएको देखिन्छ ।
मंगलबारसम्मको तथ्याङक अनुसार सरकारको आम्दानी १० खर्ब १५ अर्ब ८३ करोड २ लाख रुपैयाँ मात्रै छ । तर, खर्च भने १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ छ । यसरी आम्दानी भन्दा खर्च धेरै हुन पुगेको छ । समिक्षा अवधिमा सरकारले कर राजश्व लक्ष्यको ६८.०६ प्रतिशत अर्थात् ८ खर्ब ८८ अर्ब ५३ करोड २९ लाख, गैर राजश्व कर १ खर्ब १ करोड ४३ लाख २६ हजार रुपैयाँ (८६.६५ प्रतिशत) उठाएको छ ।
समिक्षा अवधिमा सरकारको पुँजीगत खर्च (विकास खर्च) भने न्युन देखिएको छ । यो वर्षको लक्ष्यमा ५६.९७ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कार्यालयकाअनुसार समिक्षा अवधिमा आइपुग्दा १७ खर्ब २० अर्ब ९ करोड २२ लाख रुपैयाँ पुँजीगत खर्च भएको हो ।
समिक्षा अवधिमा सरकारको कुल चालु खर्च ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख र वित्तीय खर्च २ खर्ब ५० अर्ब २६ करोड ७६ लाख रुपैयाँ भएको छ । समिक्षा अवधिमा चालु खर्च लक्ष्यको ८१.७९ प्रतिशत र वित्तीय खर्च ८१.४ प्रतिशत भएको देखिन्छ । चालु आवमा सरकारले कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ चालु खर्च र ३ खर्ब ७ करोड ४५ करोड ३६ लाख रुपैयाँ वित्तीय खर्च गर्ने लक्ष्य लिएको छ। ।