के अर्थतन्त्र चलायमान हुन थालेको हो ? कर्जाको विस्तारमा देखियो ‘आकर्षक’ सुधार

काठमाडौँ । निजी क्षेत्रले अर्थतन्त्र चलायमान हुन नसकेको भनिरहँदा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणको विस्तारमा सुधार आएको देखिएको छ । ब्यापार, उपभोग, निर्माण र उत्पादन तथा कच्चा पदार्थको कारोबारमा पनि बैंक कर्जा बढेको देखिएको छ ।
यस्तो आँकडाले अर्थतन्त्रलाई विस्तारै चलायमान बनाउन थालेको छनक दिने बैंकर बताउँछन् । अर्थशास्त्री र व्यवसायीहरुले पनि अर्थतन्त्र लयमा फर्किएको र नयाँ तथ्यांकहरु सकारात्मक रहेको प्रतिक्रिया दिइरहेका छन् । खासगरी सामाजिक सञ्जालमा धेरैले अर्थतन्त्रले सही दिसा समातेको तर्कहरु अघि सारिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नयाँ तथ्यांकले जेठ मसान्तसम्म कर्जा विस्तार ५.२ प्रतिशत भएको देखिन्छ । गत साल यस्तो कर्जा विस्तार केवल ३.२ प्रतिशतमात्रै भएको थियो । केन्द्रिय बैंकले प्रक्षेपण गरेको अनुपातमा कर्जा विस्तार नभए पनि कतिपय शीर्षकमा ऋण बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल कर्जाको सबैभन्दा ठूलो हिस्सा उपभोगमा लगानी गरेको देखिएको छ । बैंकहरुले ८ खर्ब १३ अर्बभन्दा बढी (कुल कर्जाको झण्डै १६ प्रतिशत) ‘अन्य उपभोग’ शीर्षकमा प्रवाह गरेका छन् । यस्तो कर्जा गत सालको तुलनामा करीब १० प्रतिशत बढेको छ ।

त्यस्तै उपभोग्य कर्जाकै अर्को शीर्षक क्रेडिट कार्डमा आधारित ऋण पनि २५ प्रतिशतले बढेको छ । तर सुनचाँदी तथा मुद्दति खाताको निक्षेपलाई धितो राखेर दिने ऋण भने दोहोरो अंकमै घटेको देखिएको छ । यसले मानिसहरु एकातिर सम्पत्ती सुरक्षा गर्न उत्प्रेरित भएको देखाउँछ भने अर्कातिर उपभोगमा लगानी बढाएको देखाउँछ ।
बैंकहरुले थोक तथा खुद्रा ब्यापार र उपभोग्य कर्जामा मात्रै कुल ऋणको ३९ प्रतिशत लगानी गरेका छन् । खुद्रा ब्यापारमा प्रवाह भएको ऋण करीब ३ प्रतिशत घटे पनि थोक ब्यापार कर्जा ९.२ प्रतिशत बढेको छ । विद्युतमा भएको लगानी नेपाली बैंकिङका लागि तेस्रो ठूलो क्षेत्र हो । यो साल विजुलीमा १८.६ प्रतिशत कर्जा विस्तार भएको छ ।
शीर्ष ५ पोर्टफोलियो क्षेत्रमै पर्ने होटेल व्यवसायमा पनि साढे ९ प्रतिशत कर्जा बृद्धि भएको छ । लघुवित्त र घरजग्गा कारोबारमा पनि करीब ४ प्रतिशतको हाराहारीमा ऋण विस्तार भएको छ । उपभोग र सेवा क्षेत्रमा मात्रै होइन, उत्पादन मुलक क्षेत्रमा पनि कर्जाको बढोत्तरी आकर्षक देखिएको छ ।
सिंगो उत्पादनमुलक क्षेत्रमा भएको लगानी भने ‘अन्य उपभोग’कै सरह १५.८ प्रतिशत छ । तर फलाम तथा स्टिल उद्योगमा प्रवाह भएको कर्जा पनि १६.८ प्रतिशतले बढेको छ । खाद्य उत्पादन तथा प्रशोधन र प्याकेजिङका लागि पनि १६ प्रतिशत कर्जा बृद्धि भएको राष्ट्र बैंकको आँकडा छ ।
सिमेन्ट, आयात ब्यापार जस्ता क्षेत्रमा पनि कर्जा बढेको छ । राजमार्ग, पुलजस्ता बृहत निर्माण क्षेत्रमा साढे ११ प्रतिशत कर्जा बृद्धि भएको छ । विद्युतीय सवारीसाधनको उपलब्धता बढ्न थालेकाले ‘अटोमेटिभ’ डिलर तथा फ्रेञ्चाइजमा प्रवाह भएको कर्जा पनि १२ प्रतिशत बढेको छ ।
गत जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जामा शीर्षकगत हिस्सा :

आवासीय घर कर्जामा पनि बढोत्तरी भएको छ । कृषि क्षेत्रमा पनि करीब ४ प्रतिशत हाराहारी कर्जा विस्तार भएको छ । गैरआवासीय घर कर्जा त झनै ३१ प्रतिशत हाराहारी बढेको छ । पत्थर, सिसा तथा माटो उत्पादनमा करीब २० प्रतिशत कर्जा बढेको छ ।
हवाइ जहाज तथा पार्ट्सको ब्यापारमा पनि २८ प्रतिशत कर्जा विस्तार भएको छ । फलाम बाहेकका धातु उद्योगहरुमा प्रवाह भएको कर्जा करीब ३० प्रतिशत बढेको छ । विद्युतीय सामग्री उत्पादनमा पनि करीब १३ प्रतिशत कर्जा विस्तार भएको छ ।
घरायसी उपकरणको उत्पादन, फलाम तथा सिसाको उत्खननजस्ता क्षेत्रमा पनि भारी मात्रामा कर्जा विस्तार भएको छ । स्वास्थ्य उपकरणमा पनि ४७ प्रतिशतभन्दा धेरैले कर्जा बृद्धि भएको छ । म्याग्नेसाइट उत्खननमा ८५ प्रतिशतभन्दा धेरै कर्जा विस्तार भएको छ । तार्पिनदेखि सुर्ति चुरोटसम्म र टर्बाइनदेखि ग्यास तथा पाइपलाईनसम्म प्रवाह भएको कर्जा पनि बढेको छ ।
जल यातायात, छालाजन्य उत्पादन, तेल तथा ग्यास उत्पादन, अटोमेटिभ सेवा, वन तथा माछापालन, रबर तथा टायर, चक, कोइला उत्खनन, सवारी साधनका पार्टपूर्जा ब्यापार, सुनचाँदी, रेलवेजस्ता क्षेत्रमा भने कर्जा घटेको छ ।