बढ्दै वैदेशिक लगानी प्रतिवद्धता, दुई महिनामा १७३ वटा परियोजनाका लागि साढे १३ अर्बको कमिटमेन्ट « Arthapath.com
१ आश्विन २०८१, मंगलवार

बढ्दै वैदेशिक लगानी प्रतिवद्धता, दुई महिनामा १७३ वटा परियोजनाका लागि साढे १३ अर्बको कमिटमेन्ट



काठमाडौं । एक महिनामै ६६ वटा परियोजनाका लागि ४ अर्ब बढीको वैदेशिक लगानी प्रवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को भदौ महिनासम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

भदौ महिनामा सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रसहित ४ अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । एसपिए तथा एसएसएका लागि ७ वटा परियोजना मार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

भदौ महिनामा आएको लगानी प्रतिवद्धता आएका उद्योगहरु संचालनमा आउँदा १६२ जनाले प्रत्यक्ष रोजगार पाउने विभागले उल्लेख गरेको छ । भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।

चालु आवको दुई महिना (साउन र भदौ) मा भने १७३ वटा परियोजनका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । दुई महिनामा १२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आएको हो । दुई महिनामा प्रतिवद्धता आएको उद्योग संचलानमा आए ४८५ जनाले रोजगारी पाउने विभागले जनाएको छ ।

हालसम्म भने ५ खर्ब ३२ अर्ब ९९ करोड ४६ लाख बराबरको वैदेशक लगानी प्रतिवद्धता आएको छ । ६ हजार ५५५ वटा परियोजनका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । सो अवधिमा प्राप्त उद्योगहरुका लागि आएको वैदेशिक लगानी मार्फत ३ लाख ३४ हजार ६२४ जनाले रोजगारी पाउनेछन् ।

चालु आवको दुई महिनामा लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका छन् । पर्यटन क्षेत्रका ७१ वटा उद्योग दर्ता भएका हुन् । यो दुई महिनामा आएको लगानी प्रतिवद्धताको ७३ प्रतिशत हुन् आउछ । विभागका अनुसार सेवा क्षेत्रमा १६ प्रतिशत अर्थात् १५ वटा उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादनमा ३ वटा, सूचना प्रविधिमा ३ वटा, कृषिमा २ वटा उद्योग दर्ता भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्