तीन महिनामै थपियो झन्डै ८९ अर्ब सार्वजनिक ऋण, दायित्व २५ खर्ब नाघ्यो « Arthapath.com
४ कार्तिक २०८१, आईतवार

तीन महिनामै थपियो झन्डै ८९ अर्ब सार्वजनिक ऋण, दायित्व २५ खर्ब नाघ्यो



काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । चालु आर्थिक वर्षको ३ महिनामा ८८ अर्ब ९३ करोड रुपैयाँ दायित्व थपिएसँगै सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड पुगेको हो । देशको आम्दानीभन्दा खर्च धेरै भएपछि सार्वजनिक ऋणको आकार बढ्दै गएको छ । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

यद्यपि भाद्र मसान्तसम्मको तुलनामा विनिमयदरमा भएको परिवर्तनले असोज महिनामा ५ अर्ब ५८ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको छ। साउन मसान्‍तसम्ममा २४ खर्ब ७२ अर्ब रूपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म २५ अर्ब २८ अर्ब ६० करोड रूपैयाँ पुगेको थियो ।

अहिले नेपालको जिडिपी ५७ खर्ब ४ अर्ब रूपैयाँको छ। कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा सार्वजनिक ऋण ४४.२३ प्रतिशत पुगेको छ।

पछिल्लो तीन महिनामा सरकारले एक खर्ब ३६ अर्ब ३२ करोड रुपैयाँ ऋण उठाएको छ । सावाँ भुक्तानीको अवस्था भने दयनीय छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो अवधिमा ६९ अर्ब रुपैयाँ मात्र सावाँ भुक्तानी गरेको छ ।

असोज मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३६ अर्ब ३० करोड र बाह्यतर्फ १२ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ। असारसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ थियो ।

सरकारले चालु आर्थिक वर्षमा जम्मा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएको छ। असोज मसान्तसम्ममा एक खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक ऋण र २१ अर्ब ३१ करोड बाह्य ऋण प्राप्त गरेको छ। यस अवधिमा ५९ अर्ब ६० करोड आन्तरिक ऋणको सावाँ र ९ अर्ब ४३ करोड बाह्य ऋणको सावाँ भुक्तानी गरेको छ।

तीन महिनामा सरकारले ऋणको सावाँ–ब्याज भुक्तानीमा ८३ अर्ब ७ करोड खर्च गरेको छ। यस अवधिमा ६९ अर्ब तीन करोड सावाँ फिर्ता गरेको सरकारले ब्याजमा १४ अर्ब ४ करोड तिरेको छ। तीन महिनामा आन्तरिक ऋणको ब्याज ११ अर्ब ८५ करोड र बाह्य ऋणको ब्याज दुई अर्ब १९ करोड भुक्तानी गरेको हो।


प्रतिक्रिया दिनुहोस्