नेपालले भारतलाई दियो १३ वर्षमा साढे १६ खर्ब बराबरको ‘विदेशी मुद्रा’ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेपालले भारतलाई दियो १३ वर्षमा साढे १६ खर्ब बराबरको ‘विदेशी मुद्रा’



काठमाडौँ । भारत हाम्रो सबैभन्दा ठूलो ब्यापार साझेदार हो । ऊसँगको ब्यापारमा ठूलो हिस्सा भारतीय रुपये (भारु)मै कारोबार हुन्छ । तर भारतसँगै पनि नेपालले अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङजस्ता परिवत्र्य विदेशी मुद्रामा समेत ब्यापार गर्दै आएको छ ।

कागज, धागो, स्टील, क्लिङ्कर, बिटुमिन, विभिन्न धातु र धातुका सामान, खाना पकाउने ग्यास लगायत १६७ वस्तुको आयातमा परिवत्र्य विदेशी मुद्रामार्फत भुक्तानी गर्न पाउने सुविधा छ । यसै सुविधा अनुसार व्यवसायीले प्रतितपत्र वा त्यस्तै बैधानिक आयात कागजातका आधारमा विदेही मुद्राबाट भुक्तानी गर्न पाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकले डलर, युरो र पाउण्ड बाहेक स्वीस फ्याँक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरब रियाल, कतारी रियाल, थाई भाट, यूएई दिह्राम, मलेसियन रिंगिट, दक्षिण कोरियाली वोन, स्वीडिस क्रोनर, डेनिश क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रिअललाई ‘परिवर्त्य विदेशी मुद्रा’को मान्यता दिएको छ ।

ब्यापारको पूर्ण आँकडामा जस्तै, परिवर्त्य विदेशी मुद्रामा हुने कारोबारका आधारमा पनि पछिल्ला वर्षमा आयात खुम्चिँदै गएको देखिएको छ । मासिक तथ्यांकलाई हेर्दा २०७७ पुसमा यस्तो आयात सबैभन्दा उच्च भएको देखिन्छ । राष्ट्र बैंकले हालैमात्र प्रकाशित गरेको १६० महिनाको आँकडाले यस्तो देखाएको हो ।

त्यो महिनामा २१ अर्ब २० करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । त्यसै साल माघमा पनि २१ अर्ब १३ करोड हाराहारी आयातमा नेपालले भारतलाई भारु बाहेकको विदेशी मुद्रा भुक्तानी गरेको थियो । २०७८ सालमा पनि मंसिरमा २० अर्ब ९४ करोड र त्यसै साल चैतमा २० अर्ब ४९ करोडभन्दा बढी विदेशी मुद्रा भारतमा भुक्तानी भएको छ ।

२०७२ कात्तिकमा १ अर्ब ७३ करोडको सामान परिवर्त्य विदेशी मुद्रा तिरेर भारतबाट आयात भएको थियो । बितेको साढे १३ वर्षमध्ये सबैभन्दा कम आँकडा हो । त्यो साल आसोजमा पनि कमैमात्र आयात भएको थियो । यी दुई महिनालाई छाड्दा अर्को न्यून आयात भएको समय हो, २०७७ वैशाख । त्यो महिनामा जम्मा २ अर्ब ५९ करोडभन्दा पनि कमको आयात भएको थियो ।

पछिल्लो समयमा चाहीँ २०७९ मंसिर र २०८० कात्तिकमा तुलनात्मक रुपले न्यून परिमाणमा आयात भएको देखिन्छ ।

पछिल्लो १३ वर्षभन्दा लामो अवधिको ब्यापार आँकडा केलाउँदा आर्थिक वर्षको अन्तिम महिनामा अर्थात् असारमा भारतबाट विदेशी मुद्रामा हुने आयात सर्वाधिक भएको देखिन्छ । यसको एउटा महत्वपूर्ण कारण बिटुमिन हुनसक्छ ।

नेपालमा आर्थिक वर्षको अन्त्यमा सडकहरु टालटुल पारेर पूँजीगत खर्च बढी देखाउने होडबाजीका कारण वर्षात्को समयमा मर्मत कार्य हुँदै आएको छ । ठूला ठेकेदारले पनि जेठ, असारमा ज्यादा मात्रामा सडक ‘पिच’ गर्ने गरेको देखिन्छ ।

यो १३ वर्षको आँकडाले सर्वाधिक आयात असारमा र त्यसपछिको उच्च अंक जेठमा आयात भएको देखिन्छ । त्यसपछि चैत, फागुन, माघ र पुस अर्थात् क्यालेन्डरको ठीक उल्टो परिस्थिति आयातको आँकडामा देखिएको छ । साउन, मंसिर र वैशाखको स्थान त्यसपछि आउँछ । विदेशी मुद्रामा भारतबाट हुने आयातको हिसाब हेर्दा कात्तिक महिनामा सबैभन्दा कम र असोजमा दोस्रो कम आयात भएको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्