रोबोटबाटै सेवा दिने सुविधा सम्पन्न होटल अब काठमाडौंमा « Arthapath.com
६ पुष २०८१, शनिबार

रोबोटबाटै सेवा दिने सुविधा सम्पन्न होटल अब काठमाडौंमा



काठमाडौँ । पछिल्लो समय युवापुस्तामा नैराश्यता छ । उनीहरू यो देशमा भविष्य देख्दैनन् । सकभर विदेशिने अधिकांशको सपना हुन्छ । जो देशमा बसेका छन्, उनीहरू पनि सन्तुष्ट देखिँदैनन् । विदेशिन नपाएको प्रति हरेकको ओठमा गुनासो भरिएको छ ।
‘यो देशमा लगानी गर्ने वातावरण नै छैन’ भन्ने खालको भाष्य निर्माण भएको छ । लगनशील, कर्मशील र सम्भावना बोकेका युवापुस्ता परदेशमा पसिना बगाइरहेका छन् ।

तर यही भिडमा केही यस्ता मानिस पनि छन्, जसले यही देशमा सम्भावनाका अनेक द्वार देखेका छन् । यही देशमा नयाँपन खोजिरहेका छन् र सिर्जनात्मक प्रयोगमा होमिएका छन् । अनि सपनालाई साकार गरिरहेका छन् ।

त्यसैमध्येका एक हुन्– सुरेश श्रेष्ठ । काभ्रेको धुलिखेलमा जन्मिएका श्रेष्ठलाई सानैदेखि व्यवसायमा रूची थियो । व्यवसायकै क्रममा देश विदेश डुलिसकेका उनलाई पलायन हुन मन लागेन । बरू यही फरकपन भित्र्याउन मन लाग्यो ।

व्यावसायिक भ्रमणका लागि करीब ४ वर्षअघि चीन पुगेका श्रेष्ठले त्यहाँ रोबोटले सेवा दिने होटल देखे । उनलाई ‘रोबोटको सेवा’ रोचक लाग्यो । त्यहाँ होटलका सबैजसो सेवा रोबोटको माध्यमबाट गरिने रहेछ । त्यसैबाट प्रभावित उनलाई नेपालमा पनि यस्तै प्रयोग गर्न सकिन्छ भन्ने लाग्यो ।

तर काम सुरू गरिहाल्ने आँट भने आएन । उनलाई तयार हुन करीब ३ वर्ष लाग्यो । खानेपानी उद्योग सञ्चालन गरिरहेका उनलाई रोबोटबाट सेवा दिने होटल खोल्ने हुटहुटी जाग्यो । अनि जन्मियो– होटल रोबोट ।

सामाखुसी चोकमा हिमालयन बैंकसँगै छ यो होटेल ।
यो होटेल खोल्न उनले सुरुमा ३५ करोड लगानी जुटाए । ‘आफ्नै देशमा केही गर्छु भन्ने लाग्छ । विदेश भ्रमणका क्रममा त्यहाँ देखेको नयाँ कुरालाई नेपालमा ल्याउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो’, उनले भने, ‘फरक व्यवसाय गर्दै आएको थिएँ । होटलले खोल्ने रहर पलायो ।’


२०६६ सालदेखि नै व्यवसायमा होमिएका श्रेष्ठको आफ्नै लगानीका २ पानी उद्योग पनि छन् । सिटी मिनिरल वाटर र सरल मिनिरल वाटर उनको उद्योग हुन् । व्यवसाय चलेकै छ । तर उनलाई यतिमै रोकिन मन लागेन । अनि रोजे हस्पिटालिटी । त्यो पनि रोबोट सेवा दिने ।

नेपालमा केही वर्ष अघि नै ‘रोबोट वेटर’को सेवा सुरू भए पनि त्यसले पूर्णता पाउन सकेको थिएन । यसअघि केही होटलले रोबोट सेवा प्रयोगमा ल्याए । तर सोचे अनुरूप सफलता भने हात लाग्न सकेन ।

आर्थिक मन्दीले मुलुक नै शिथिल बनेको अवस्थामा पनि उनी चुनौती मोल्न तयार भए । श्रेष्ठले ‘होटल रोबोट’ सञ्चालनमा ल्याए । चीन जाँदा फुरेको ‘आइडिया’ लाई कार्यन्वयनमा ल्याए ।

अहिले होटल रोबोटको अधिकांश सेवा रोबोटले नै दिन्छ । खानादेखि कोठासम्म रोबोटले नै सेवा प्रवाह गर्छ । ग्राहक सेवाका लागि ५ वटा रोबोट छन् । तिनीहरुमध्ये कोठा–कोठामै पुगेर सेवा दिनका लागि २ वटा, रेस्टुरेन्टको लागि ३ वटा र ब्याङ्क्वेटका लागि एउटा रोबोर्ट छुट्याइएको छ । त्यसैगरी सरसफाईका लागि पनि एक रोबोर्ट राखिएको छ । सबै रोबर्ट चीनमा ल्याइएको हो ।

होटल रोबोर्टले २९ जनालाई रोजगारी पनि दिएको छ । यस होटलमा सुविधासम्पन्न २६ वटा कोठा रहेका छन् । प्रविधिको भरपुर प्रयोग गरिएको यस होटल ५ महिना अघिबाट सञ्चालनमा आएको हो ।

किफायती मूल्य, उत्कृष्ट सेवा

काठमाडौंको सामाखुशीमा रहेको यस होटल हेर्दा जति आकर्षक छ, सेवा सुविधाको हिसाबले पनि उति नै उत्कृष्ट छ । ‘थ्री स्टार’को मान्यता पाएको यस होटलभित्र प्रवेश गर्ने बित्तिक्कै आनन्ददायी बनाउँछ । धुवाधुलो छिचोल्दै एक्कासी शान्त ठाउँमा पुगेको अनुभव प्राप्त गर्न सकिन्छ । अत्याधुनिक सुविधाहरूले भरिपूर्ण ‘होटल रोबोट’ को अधिकांश सेवा रोबोटको माध्यमबाट गरिन्छ ।

हेर्दा जति आकर्षक र सुविधा सम्पन्न छ, त्यति नै किफायती मूल्य पनि । ‘तारे होटल’ प्राय महँगो हुन्छन् । जुन सबैको लागि किफायती हुँदैनन् । ‘होटल रोबोट’ भने सबैको लागि किफायती छ । एउटा कोठाको एक रातको मूल्य ३५ सयबाट सुरू हुन्छ । सबैभन्दा महँगो कोठाको मूल्य ७५ सय रुपैयाँ मात्र रहेको छ । तर सेवाको हिसाबले पाँचतारे होटलभन्दा कम छैन ।
फ्यामिली सुइट, डिलक्स र स्ट्यान्डर्ड गरी ३ खालको कोठाको बर्गिकरण गरिएको छ । जसमा सेवाको हिसाबले मूल्य छुट्याएको सञ्चालक श्रेष्ठ बताउँछन् ।

ट्रेड मिलदेखि मसाज कुर्सिसम्म

ग्राहकले आरामदायी र विलासिताका सेवा प्राप्त गर्न सक्नेछन् । सुपर डिलक्स कोठा सुविधा र भव्यता दुवै खोज्ने ग्राहकलाई अत्यन्तै उपयुक्त छ । जहाँ ग्राहकले फिटनेसका लागि आफ्नै कोठामा ट्रेडमिलको सुविधा पाउनेछन् । त्यसैगरी स्मार्ट टिभी, स्मार्ट डोर÷लाइट कार्ड, एयर कन्डिसनर (एसी), कफी टेबल र कुर्सीहरू, लकरदेखि मिनी–बारसम्मको सुविधा कोठाभित्रै प्राप्त गर्न सक्नेछन् ।

फेमिली सुइट रूपमा अत्याधुनिक प्रविधिका साथै सुविधाहरूको उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ । यहाँ ट्रेडमिलदेखि विलासी रिक्लिनर (मसाज कुर्सी) को सुविधा छ । अतिरिक्त आराम र विश्रामको लागि मिनी–लबी समेत रहेको छ । यसका अतिरिक्त सबै कोठामा अट्याच बाथरूम, तातोपानी, चिसोपानीदेखि अन्य विविध सुविधा रहेको प्रबन्धक केवल ढकालले बताए ।

अतिरिक्त सुविधामा स्वीमिङ पुल र आकर्षक दृश्यसहितको कौसी रेस्टुरेन्ट एण्ड बार रहेको छ । विदेशबाट आउने पाहुनालाई विमानस्थलबाटै ‘पिकअप एण्ड ड्रप’ को सुविधा पनि रहेको छ । यस होटल अझै विस्तारित क्रममै रहेको र आगामी दिनमा थप सुविधा थप्ने तयारी रहेको सञ्चालक श्रेष्ठले बताए ।


रोबोट सेवाको सुरुवात २०औं शताब्दीमा प्रारम्भ भएको हो । सुरुवाती दिनमा रोबोट मनोरञ्जन र प्रदर्शनीहरूको लागि निर्माण गरिएको थियो । मानिसहरूलाई सहयोग गर्न डिजाइन गरिएको पहिलो ‘इनडोर मोबाइल रोबोट’ सन् १९८० तिर सुरू भएको थियो ।
हाल, सेवा रोबोटहरू विभिन्न प्रकारका अनुप्रयोगहरूका लागि बनाइन्छ । सामान्यदेखि विशेष सेवाको रूपमा रोबोटलाई प्रयोगमा ल्याइएको पाइन्छ ।

हस्पिटालिटी क्षेत्रमा पहिलो पटक सन् २०१५ तिर रोबोट सेवा सुरू भएको बताइन्छ । जापानको नागासाकीमा रहेको हेन्ना होटलले मार्च २०१५ मा रोबोट सेवा भित्र्याउने पहिलो होटल हो ।

हेन्ना होटलले धेरै कार्यहरूका लागि रोबोटहरू प्रयोग गर्छ । रिसेप्शन, जानकारी, भण्डारण, चेक–इन र चेक–आउट, सफाईसम्म रोबोटबाटै गरिन्छ । अहिले विश्वका धेरै होटलले रोबोट सेवालाई प्राथमिकतामा राख्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्