संसार फैलिँदै नेपालको वैदेशिक व्यापार: १४९ वटामध्ये ३० मुलुकसँग मात्रै नाफा, कुन देशसँग कति घाटा ?
काठमाडौं । नेपालको वैदेशिक व्यापार संसारभर नै फैलिएको छ । विश्वका डेढ सय मुलुकहरुसँग व्यापार गर्दै आएको छ । तर, अधिकांश मुलुकसँगको व्यापारमा भने नेपालले ठुलो घाटा व्यहोर्दै आएका छ ।
भन्सार विभागका चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि नेपालले १४९ वटा देशसँग द्धिपक्षीय व्यापार गरेको छ । तर, १३४ वटा मुलुकसँगको व्यापार घाटामा छ ।
साउनदेखि मंसिर मसान्तसम्ममा आइपुग्दा नेपालको कुल ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ व्यापार घाटा छ । सो अवधिमा कुल ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको आयात गरेको छ ।
तर, ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। यसरी आयातको तुलनामा निर्यात एकदमै न्युन छ, जसका कारण नेपालले ठुलो व्यापार घाटा व्याहोरेको हो । अन्तर्राष्ट्रिय व्यापारमा नेपालले वर्षेनि खर्बौं रुपैयाँको व्यापार घाटा व्यहोर्दै आएको छ ।
नेपालको सबैभन्दा ठुलो आर्थिक साझेदार छिमेकी मुलुक भारत हो । सबैभन्दा ठुलो आयात नै भारतबाट हुँदै आएको छ ।
विभागका अनुसार चालु आवको पाँच महिनामा पनि नेपालले भारतबाट ४ खर्ब १० अर्ब ५५ करोड ६६ लाख रुपैयाँ बराबरको समान आयात गरेको छ । तर, ५२ अर्ब १ करोड ३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । यसरी पाँच महिनामै भारतसँगको व्यापार घाटा ३ खर्ब ५८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ छ ।
भारतबाट नेपालले पेट्रोल, डिजेल, एलपी ग्यास, औद्योगिक कच्च पदार्थ, मोटर गाडी, विद्युतीय उपकरण, खाद्य सामग्री, लत्ता कपडा, औषधी र घरेलु उपकरण सामग्रीहरुले ठुलो मात्रामा आयात गर्दै आएको छ । नेपालबाट भने भारतले कृषिजन्य वस्तुहरु, वनस्पति उत्पादन, खनिज तथा उद्योगजन्य उत्पादनहरु लैजान्छ । विद्युत, सिमेन्ट, गिट्टी, बालुवा, फलाम तथा इस्पात सामग्री, प्लाइउड, हस्तकला सामग्रीहरु चिया, अदुवा मसला लगायत सामान भारत तर्फ निर्यात हुँदै आएको छ ।
भारतपछि नेपालले चीनबाट ठुलो आयात गर्दै आएको छ । चालु आवको पाँच महिनामा चीनबाट कुल १ खर्ब ३१ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, १ अर्ब ७४ करोड ५८ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गर्दै आएको छ । पाँच महिनामा चीनसँगको व्यापारमा नेपालले १ खर्ब २९ अर्ब ६३ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।
नेपालले चीनबाट सबैभन्दा ठुलो मात्रामा विद्युतीय सामग्री आयात हुने गरेको छ । सर्वाधिक प्रयोग हुने मोबाइल, टिभी, ल्यापटप, टिभी, क्यामेरा लगायतका थुप्रै बिजलुी सामग्री आयात हुन्छ । विभागका अनुसार औद्योगिक कच्च पदार्थ, बिजुली उपकरण, निर्माण कार्य, कृषि तथा उद्योगहरुका लागि आवश्यक मेसिनरी सामग्री आयात गर्दै आएको छ ।
चीनले नेपालबाट भने कृषिजन्य उत्पादन, वनस्पतिजन्य वस्तु, खनिज तथा कच्च पदार्थ, हस्तकला सामग्री बढी निर्यात हुने गरेको छ । विशेषगरि महँगा मूल्यका जडिबुटी तथा हस्तकलाका सामग्रीहरु चीन तर्फ निर्यात हुँदै आएको छ ।
यी बाहेक नामै नसुनेका देशहरुसँग पनि नेपालको व्यापार घाटा छ । विभागका अनुसार अर्जेन्टिनसँग ११ अर्ब ७९ करोड ९७ लाख, युक्रेनसँग १० अर्ब ५६ करोड ६१ लाख, अष्ट्रेलियासँग ७ अर्ब २० करोड २० लाख, थाइल्याण्डसँग ६ अर्ब ४८ करोड २७ लाख, इन्डोनेसियासँग ६ अर्ब १ करोड ७२ लाख र मलेसियासँग ५ अर्ब ८९ करोड ५ लाख रुपैयाँ व्यापार घाटा छ । यी बाहेकका ८२ वटा मुलुकसँग भने ५ अर्ब भन्दा कम व्यापार घाटामै देखिन्छ ।
वैदेशिक व्यापारमा नेपालले घाटा व्यहोरेका मुलुकहरु, रकम हजारमा
यतिका धेरै मुलुकसँग व्यापार घाटा व्यहोरेको नेपालले केही नाम समेत नसुनेका देशसँग भने नाफमा देखिन्छ । हाल अफ्गास्तान, डेनमार्क लगायतका ३० वटा मुलुकसँगको व्यापार नेपालको पक्षमा देखिएको विभागले जनाएको छ ।
नेपाललाई सबैभन्दा धेरै नाफा अफ्गानस्तानले दिलाएको छ । पाँच महिनामा सो मुलुकबाट १ करोड २३ लाखको आयात भएको छ । तर, ४० करोड ८१ लाख बढीको निर्यात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा अफ्गानस्तानसँग ३९ करोड ५७ लाख रुपैयाँ व्यापार नाफमा देखिन्छ ।
यस्तै, डेनमार्कसँगको व्यापारमा पनि नेपाल १८ करोड ९५ लाख रुपैयाँ नाफामा देखिन्छ । सो मुलुकबाट पाँच महिनामा १० करोड १३ लाखको आयात भएको छ ।तर, २९ करोड ८ लाख बढीको निर्यात गरेको छ । यस्तै, अष्टेरियासँगको व्यापारमा ७ करोड ८९ लाख, लाटभियासँग १ करोड ६४ लाख, माल्दिभ्ससँग १ करोड ४५ लाख, क्रोसियासराथ १ करोड ३३ लाख नाफामा देखिन्छ ।
वैदेशिक व्यापारमा नेपालले नाफा गरेको मुलुकहरु, रकम हजारमा