वातावणमैत्री इँटाभट्टा : धुवाँ सेतो, इँटा रातो! « Arthapath.com
२४ पुष २०८१, बुधबार

वातावणमैत्री इँटाभट्टा : धुवाँ सेतो, इँटा रातो!



काठमाडौँ । इँटाभट्टाबाट ‘कालो’ धुवाँंको मुश्लो फालेको देखेका हामीलाई सेतो धुवाँमात्रै फाल्ने पनि इटाभटा हुन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभट्टाबाट भने कालो होइन, सेतो धुवाँ मात्रै फालेको हुन्छ ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएका कारण यसले अन्य सामान्य इँटाभट्टाले जस्तो कालो धुवाँ नफाल्ने जनाइएको छ ।

नेपाल इँटा उद्योग व्यवासायी महासंघको तथ्यांक अनुसार देशभर १२०० को हाराहारीमा इँटाभट्टाहरु छन् । तर ती सबैभन्दा पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभट्टा आधुनिक भएको कम्पनीको दाबी छ ।

पोखरा इको रेड ब्रिक्स प्रालिका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इँटाभट्टाबाट कहिले पनि कालो धुवाँ निकाल्दैन । ‘धुवाँ चाहिँं सेतो निकाल्छ, तर इटा भने रातो’, उनले भने । उनका अनुसार यस्ता आधुनिक इँटाभट्टामा १००० देखि ११०० डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इँटा पकाइन्छ ।

यही कारण यसका इँटाहरु रातो हुने गर्दछन् । रातो अर्थात् पुरा पाकेको इँटालाई ‘गुणस्तरीय’ मानिन्छ ।

प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्ने गर्दछ । इँटा पार्नेदेखि निकाल्नेसम्मको सबै काम मेसिनले गर्छ । अन्य इँटाभट्टाहरुमा इँटा पार्ने काम मानिसबाट हुने गर्दछ ।

यो प्रविधिबाट इँटा उत्पादन गर्दा १२ अ‍ैं महिना कारखाना सञ्चालन गर्न मिल्ने हुन्छ । उत्पादित इँटा घाममा राखेर नभई आफैं सुक्ने बनाइने भएकाले यो प्रविधिबाट वर्षाको मौसममा पनि इँटा उत्पादन गर्न सकिने भएको हो ।

अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्दछन् । त्यस्ता भट्टाहरु प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द हुने गर्दछ । जेठ–असारदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्दछन् ।

पोखरा इको रेड ब्रिक्स प्रालिले भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग प्रालिले जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो । नेपालमा पहिलादेखि चल्दै आएका दुई वटा चाइनिज इँटा उद्योग थिए, भक्तपुर जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इँटा तथा टायल उद्योग ।

तीमध्ये अहिले ललितपुरको हरिसिद्धिस्थित इँटा तथा टायल उद्योग बन्द भइसकेको छ । यता भक्तपुरको इँटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । चिनियाँ प्रविधिबाट भक्तपुरमा चाइनिज इँटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इँटाभट्टा सञ्चालन हुन नसकेको बताइएको छ ।

बाङ्लादेशी विज्ञलाई झिकाइ लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । अटोमेटिक मेसिन मेड क्लिन ब्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको कम्पनीको भनाई हो ।

इँटाभट्टामा कारण वातावरण प्रदूषण बढेको भनेर चर्काे आलोचना सबैतिरबाट निरन्तर भइरहेको छ । यही आलोचनालाई थेग्न इँटा उद्योगीहरुले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इँटाभट्टामा फायरिङ्ग (इँटा पोल्न आगो लगाउने) गर्ने भएको नेपाल इँटाभट्टा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इँटाभट्टा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले जनाए ।

पुस–माघ महिनामा काठमाडौं उपत्यमा हुस्सु आउने र तराईमा शितलहर चल्ने कारण यो बेला इँटाभट्टाबाट निस्कने धुवाँले बढी प्रदूषण हुने भनिँदै आएको थियो । उद्योगीहरुले यो वर्ष पहिलाका वर्षहरुमा भन्दा एक–दुई महिना पछाडि मात्रै अर्थात् हुुस्सु र शितलहर कम हुने समय माघदेखि मात्रै फायरिङ्ग गर्ने निर्णय गरेको ह्योम्वाले जनाए ।

यद्यपि, नेपाल सरकारले भने फागुन महिनामा मात्रै फायरिङ्ग गर्न अनुरोध गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्