चुलिँदै सार्वजनिक ऋण दायित्व: जीडीपीको साढे ४४ प्रतिशत पुग्यो, ६ महिनामै थपियो १ खर्ब « Arthapath.com
४ माघ २०८१, शुक्रबार

चुलिँदै सार्वजनिक ऋण दायित्व: जीडीपीको साढे ४४ प्रतिशत पुग्यो, ६ महिनामै थपियो १ खर्ब



काठमाडौं । नेपालको सार्वजनिक ऋण दायित्व चुलिँदो छ । पछिल्लो ६ महिनामै १ खर्ब बढी ऋण भार थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । कार्यालयका अनुसार ६ महिनामै १ खर्ब २ अर्ब ३ करोड रुपैयाँ ऋण भार थपिएको छ ।

चालु आवको सुरुमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । तर, पुस मसान्तसम्म आइपुग्दा भने बढेर २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।

सरकारको आम्दानी भन्दा खर्च बढी भएपछि ऋण भार थपिने क्रम निरन्तर छ । आर्थिक उत्पादन, खर्च व्यवस्थापन नगर्दा पनि दिनप्रतिदिन सार्वजनिक ऋण बढेको बढ्यै छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४४.४६ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा सरकारले तिर्न बाँकी ऋण आन्तरिक तर्फ १२ खर्ब ३४ अर्ब ७१ करोड र बाह्य तर्फ १३ खर्ब १ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको ६ महिनामा अर्थात् गत पुस मसान्तसम्ममा सरकारले २ खर्ब ४० र्अ ८ करोड रुपैयाँ ऋण प्राप्ति गरेको छ । योमध्ये १ खर्ब ८१ अर्ब ५ करोड आन्तरिक र बाह्य तर्फ ५९ अर्ब ३ करोड रुपैयाँ रहेको छ । तर, सो अवधिमा भने १ खर्ब ४९ अर्ब ६७ करोड रुपैयाँ भने साँवा भुक्तानी गरेको छ । यसमा १ खर्ब २७ अर्ब २४ करोड आन्तरिक र बाह्य तर्फ २२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड रुपैयाँ सार्वजनिक ऋण दायित्व वृद्धिमा प्रभाव परेको छ ।

समिक्षा अवधिमा लक्ष्यको ४३.८९ प्रतिशत मात्रै ऋण प्राप्ति भएको छ । ६ महिनामा सरकारले २ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ मात्रै ऋण प्राप्ति गरेको हो । यद्यपि, चालु आवका लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण प्राप्ति गर्ने सरकारी लक्ष्य छ ।

कुल ऋण प्राप्तिमध्ये आन्तरिक तर्फ ३ खर्ब ३० अर्ब र बाह्य तर्फ २ खर्ब १७ करोड रुपैयाँको लक्ष्य छ । तर, हालसम्म आन्तरिक तर्फ १ खर्ब ८१ अर्ब ५ करोड र बाह्य तर्फ ५९ अर्ब ३ करोड अर्थात् लक्ष्यको क्रमशः ५४.८६ प्रतिशत र २७.२० प्रतिशत छ । अब सरकारलाई आन्तरिक तर्फ १ खर्ब ४८ अर्बा ९४ करोड र बाह्य तर्फ १ खर्ब ५७ अर्ब ९६ करोड गरि कुल ३ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ ऋण प्राप्ति गर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस्