२० प्रतिशत बढ्यो काठमाडौंमा घरजग्गा कारोबार, कहाँ कहाँ कति भयो किनबेच ?

काठमाडौं । घरजग्गा कारोबारले सुधारको संकेत गरेको छ । समग्रमा देशभर नै घरजग्गा खरिदबिक्री बढेको देखाउँछ ।
लामो समयदेखि सुस्ताएको कारोबारले अब विस्तारै लय समाउने आँकलन समेत हुन थालेको छ । विशेषगरि गत पुस महिनाको तथ्याङ्कले यस्तो छनक देखाएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देश पुसमा ४८ हजार १५६ वटा घरजग्गा खरिदबिक्री भएका छन् । यो गत वर्षको सोही महिनाको तुलनामा भने ६.३६ प्रतिशत बढी हो ।
देशभरको कारोबारसँगै काठमाडौं पनि घरजग्गा खरिदबिक्री बढेको देखिन्छ । करिब ठप्पै जस्तो रहेको काठमाडौंमा पनि पछिल्ला समय कारोबार बढ्न थालेको छ । हाल काठमाडौं जिल्लामा ६ वटा मालपोत कार्यालय मार्फत घरजग्गा खरिदबिक्री हुँदै आएको छ ।
पुस महिनामा काठमाडौं ती ६ वटा कार्यालय मार्फत २ हजार ११० वटा घरजग्गाको लिखत पारित भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा भने १९.६८ प्रतिशत बढी हो । गत वर्षको पुसमा पनि १ हजार ७६३ वटा घरजग्गा काठमाडौंमा खरिदबिक्री भएका थिए ।
आर्थिक शिथिलताक कारण समग्र कारोबार नै सुस्ताएको थियो । त्यसमाथि महँगो मूल्यको घरजग्गा किनबेच त झनै घटी रहेको अवस्था थियो । तर, हाल भने विस्तारै बढ्न थालेका छन् । नेपालमा सबैभन्दा धेरै महँगो मूल्यमा घरजग्गा किनबेच काठमाडौंमा हुँदै आएको छ ।
विभागका अनुसार काठमाडौंको टोखा, साँखु र डिल्ली बजार आसपासमा हुने घरजग्गा कारोबार बढेको देखिन्छ । गत वर्षको पुस मालपोत कार्यालय साँखु मार्फत एउटा पनि घरजग्गा लिखत पारित भएको थिएन् । तर, यो वर्षको सोही महिनामा भने ४४९ वटा लिखत पारित भएको छ ।
यस्तै, टोखा क्षेत्रमा पनि ३०.६५ प्रतिशत वृद्धि भएको छ । गत वर्षको पुस सो क्षेत्रमा १३७ वटा मात्रै कारोबार भएको थियो । तर, यो वर्षको सोही महिनामा भने बढे १७९ पुगेको छ ।
विभागका अनुसार सबैभन्दा महँगो मानिने काठमाडौंको डिल्लीबजार आसापसमा पनि २४.२२ प्रतिशत वृद्धि भएको छ । एकै महिना सो क्षेत्रमा २०० वटा लिखत पारित भएका छन् । जबकि, गत वर्षको पुसमा भने १६१ वटा मात्रै लिखत पारित भएको थियो ।
काठमाडौंमा चावहिल र कलंकी क्षेत्रमा धेरै कारोबार हुँदै आएको छ । गत पुसमा कलंकी आसपासमा ५९४ वटा लिखत पारित भएको छ । यद्यपि, यो गत वर्षको तुलनामा भने ८.६१ प्रतिशत कमी हो । यता, मनमैजु क्षेत्रमा हुने कारोबार पनि ३०.६५ प्रतिशत घटेर २५८ मा समित भएको छ। गत वर्ष भने सो क्षेत्रमा ४०७ वटा घरजग्गा किनबेच भएका थिए ।
यस्तै, चावहिल आसपासमा भने सुधार नै देखिन्छ । सो क्षेत्रमा ५.३९ प्रतिशत बढेको छ । गत वर्षको पुसमा चावहिल क्षेत्रमा ४०८ वटा मात्रै लिखत पारित भएको थियो । तर, यो वर्षको सोही महिनामा भने ४३० वटा लिखत पारित भएको छ ।
काठमाडौंमा कारोबारसँगै राजश्व पनि वृद्धि भएको छ । गत वर्षको तुलनामा २० प्रतिशत वृद्धि भएको छ ।
समिक्षा महिनामा काठमाडौंका ६ वटा मालपोत कार्यालय मार्फत ८८ करोड २० लाख ६२ हजार रुपैयाँ राजश्व उठेको छ । यो गत वर्षको पुसको तुलनामा २०.२३ प्रतिशत बढी हो । गत वर्षको सोही महिनामा भने ७३ करोड ३६ लाख १८ हजार रुपैयाँ राजश्व उठेको थियो ।
काठमाडौंमा सबैभन्दा धेरे राजश्व मालपोत कार्यालय चावहिलबाट २२ करोड ९३ लाख ८० हजार रुपैयाँ उठेको छ ।यो गत वर्षको पुसको तुलनामा भने ९.२८ प्रतिशत बढी हो ।
यस्तै, कलंकीबाट २१ करोड ९३ लाख ७१ हजार रुपैयाँ र डिल्लीबजारबाट पनि २१ करोड ९० लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । विभागका अनुसार डिल्लीबजारबाट संकलन राजश्व ५०.११ प्रतिशत वृद्धि भएको छ भने कलंकी क्षेत्रको १५ प्रतिशत बढेको छ ।
यस्तै, मनमैजु क्षेत्रबाट संकलन हुने राजश्व २३.५८ प्रतिशत बढेर १० करोड ३२ लाख ५९ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा महिनामा साँखुबाट ६ करोड ६८ लाख २९ हजार र टोखाबाट ४ करोड ४१ लाख २१ हहजार रुपैयाँ राजश्व संकलन भएको छ ।