खराब कर्जा नियन्त्रणमा एभरेष्ट बैंक सधैँ अब्बल : चार वटाको एनपिएल ५ प्रतिशत माथि, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुको खराब कर्जाको ग्राफ बढ्दो नै देखिन्छ । अधिकांश बैंकको खराब कर्जा बढेको छ । हाल बैंकहरुसँग साढे ४ प्रतिशत खराब कर्जा छ ।
बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुको औसत खराब कर्जा ४.४९ प्रतिशत छ । जबकि, गत आवको सोही अवधिमा भने बैंकहरुसँग ३.४० प्रतिशत मात्रै खराब कर्जा थियो । सो अवधिमा १.०९ प्रतिशत बिन्दु बढेको छ ।
बैंकहरुको खराब कर्जा नियन्त्रणमा सुधार हुन नसकेको देखिन्छ । दोस्रो त्रैमासमा आइपुग्दा खराब कर्जा दर झन्डै ७ प्रतिशतसम्म पुगेको छ । समयमै कर्जा असुली नहुँदा बैंकहरुको खराब कर्जा झन् झन् बढ्दो देखिन्छ । बैंकहरुको रिकभरीमा समस्या हुँदा खराब कर्जा अनुपात बढेको बताइन्छ ।
दोस्रो त्रैमासमा १ प्रतिशत भन्दा कम खराब कर्जा हुने सूचीमा एभरेष्ट बैंक मात्रै छ । बैंकसँग हाल ०.६६ प्रतिशत मात्रै खराब कर्जा छ । यो पनि गत आवको तुलनामा भने ०.११ प्रतिशत बिन्दु कम हो । गत आवको पुस मसान्तसम्ममा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत छ ।
यता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा पनि १.७१ प्रतिशत छ । यी बाहेकका सबै बैंकहरुको खराब कर्जा ३ प्रतिशत माथि छ । एभरेष्ट बाहेकका १९ वटा बैंकको यस्तो कर्जा बढेको देखिन्छ ।

वित्तीय विरणमा उल्लेख भए अनुसार केही बैंकको यस्तो कर्जा राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि छ । दोस्रो त्रैमासमा प्रभू, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारीको खराब कर्जा ५ प्रतिशत माथि छ । सबैभन्दा धेरै कुमारी बैंकको ६.९६ प्रतिशत छ । यस्तै, एनआइएमबिको ५.८६ प्रतिशत, लक्ष्मी सनराइजको ५.६७ प्रीतशत र प्रभूको ५.०६ प्रतिशत छ ।
समिक्षा अवधिमा एनआइसी एशियाको खराब कर्जा सर्वाधिक बढेको छ । गत आवको तुलनामा ३.४२ प्रतिशत बिन्दु बढेर ४.६१ प्रतिशत पुगेको छ । जबकि, गत आवको दोस्रो त्रैमासमा एनआइसीको यस्तो कर्जा १.१९ प्रतिशत रहेको थियो ।
यता, नेपाल बैंक, हिमालयन, प्राइम, राष्ट्रिय वाणिज्य र नबिल बैंकको खराब कर्जा पनि उच्च नै छ । यी बैंकहरुको यस्तो कर्जा ५ प्रतिशत नजिक नै छ । समिक्षा अवधिमा यी पाँच बैंकको खराब कर्जा क्रमशः ४.९९ प्रतिशत, ४.९८ प्रतिशत, ४.९६ प्रतिशत, ४.९६ प्रतिशत र ४.९३ प्रतिशत छ ।
समिक्षा अवधिमा सानिमा बैंकको खराब कर्जा ३.२२ प्रतिशत, नेपाल एसबिआईको ३.५५ प्रतिशत, एनएमबिको ३.९६ प्रतिशत, सिद्धार्थको ४.५ प्रतिशत, माछापुच्छ्रेको ४.५४ प्रतिशत, सिटिजनको ४.८५ प्रतिशत, ग्लोबल आइएमईको ४.८६ प्रतिशत, कृषि विकासको ४.९० प्रतिशत रहेको छ।
