बिजनेशमा ग्लोबल र एभरेष्टसहित ७ बैंक आक्रामक, निक्षेपको मामलामा कुन-कुन बैंक देखिए तगडा ?

काठमाडौं । बैंकहरुको निक्षेप संकलन र कर्जा विस्तार दुवै वृद्धि भएको छ । पछिल्लो १० महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४.२१ प्रतिशत र कर्जा लगानी ५.६२ प्रतिशत वृद्धि भएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत असार मसान्तदेखि माघ मसान्तसम्म आइपुग्दा बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी विस्तार साढे २ खर्बको दरमा भएको देखिन्छ ।
संघका अनुसार समिक्षा अवधिमा बैंकहरुको निक्षेप २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ बढेको छ । गत असार मसान्तसम्म बैंकहरुको कुल निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो । तर, माघ मसान्तसम्म आइपुग्दा भने ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ कायम भएको छ ।
संघका अनुसार गत मंसिरदेखि मासिक रुपमा निक्षेप बढ्न थालेको देखिन्छ । मंसिर महिनामा मात्रै बैंकहरुको निक्षेप ३३ अर्ब थपिएको थियो । यस्तै, पुसमा ५१ अर्ब र माघमा मात्रै ९ अर्ब थपिएको छ । चालु आवको पहिलो महिनामा पनि ३९ अर्ब घटेको थियो । तर, भदौमा भने ७३ अर्ब वृद्धि भएको थियो । यस्तै, असोजमा १ खर्ब ३३ अर्ब निक्षेप थपिएको थियो । यता, कात्तिकमा भने १९ अर्ब घटेको देखिन्छ ।
संघका अनुसार कर्जा लगानी पनि पछिल्लो समय बढ्न थालेको छ । माघमा मात्रै बैंकहरुले १२ अर्ब कर्जा विस्तार गरेका छन् । कर्जा लगानी गत पुसमा भने ९४ अर्ब, मंसिरमा ४२ अर्ब रुपैयाँ बढेको थियो । कात्तिकमा भने २ अर्ब घटेको देखिन्छ । चालु आवको पहिलो महिनामा २ अर्ब, भदौमा ५३ अर्ब, असोजमा ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो ।

माघ अन्तसम्म आइपुग्दा ३ वटा बैंक बाहेक सबैको निक्षेप वृद्धि भएको छ । सबैभन्दा धेरै निक्षेप एनआइसी एशियाको ५८ अर्ब २२ करोड रुपैयाँ घटेको देखिन्छ । यस्तै, प्रभूको ३ अर्ब ७ करोड र सिद्धार्थ बैंकको पनि १ अर्ब ६० करोड रुपैयाँ घटेको छ ।
निक्षेप संकलनको मामलामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) तगडा देखिएको छ । बैंकले सर्वाधिक निक्षेप ४० अर्ब ८७ करोड रुपैयाँ बढाएर ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ ।
यस्तै, एनएमबि बैंकको निक्षेप पनि ३३ अर्ब ९३ करोड, नबिलको ३० करोड ७८ करोड एभरेष्टको २७ अर्ब ७२ करोड, ग्लोबल आइएमईको २४ अर्ब ३१ करोड, प्राइमको २३ अर्ब २८ करोड र नेपाल बैंकको २१ अर्ब १४ करोड रुपैयाँ बढेको छ । रकमको आधारमा हाल ग्लोबल आइएमइसँग धेरै ५ खर्ब २९ अर्ब २० करोड रुपैयाँ निक्षेप छ । यता, नबिलको कुल निक्षेप पनि ४ खर्ब ९९ अर्ब ५४ करोड, एनआइएमबिको ४ खर्ब ४७ अर्ब ६७ करोड पुगेको छ ।
संघका अनुसार समिक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १५ अर्ब २३ करोड, सानिमा बैंकको १४ अर्ब २२ करोड, लक्ष्मी सनराइजको १३ अर्ब ६६ करोड, कृषि विकासको १३ अर्ब २ करोड र कुमारीको ११ अर्ब ११ करोड रुपैयाँ बढेको छ ।
कुन बैंकको निक्षेप संकलन कति ? (रकम अर्बमा)

व्यवसाय विस्तारमा ग्लोबल, एभरेष्टसहित आधा दर्जन बैंक एग्रेसिभ, कुनको कर्जा लगानी कति ?

समिक्षा अवधिमा बैंकहरुको कर्जा लगानी पनि २ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ बढेको छ । संघको तथ्याङ्क अनुसार एनआइसी एशियाको कर्जा विस्तार ३२ अर्ब ८८ करोड रुपैयाँ घटेको छ । यता, स्ट्याण्डर्ड चार्टर्डको ३ अर्ब ७९ करोड र प्रभू बैंकको १ अर्ब ५८ करोड रुपैयाँ घटेको देखिन्छ । यी तीन वटा बैंक बाहेक सबै बैंकहरुको कर्जा विस्तार बढेको छ।
संघका अनुसार सर्वाधिक कर्जा लगानी गर्नेको पहिलो सूचीमा ग्लोबल आइएमई बैंक देखिएको छ । समिक्षा अवधिमा बैंकले ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।
दोस्रो सूचीमा रहेको एभरेष्टले पनि ३४ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तै, एनएमबि बैंकले पनि २७ अर्ब ४६ करोड, नबिलले २३ करोड ४८ लाख, लक्ष्मी सनराइजले २२ अर्ब ९८ करोड, एनआइएमबिले २२ अर्ब ६४ करोड, राष्ट्रिय वाणिज्य बैंकले २१ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरको छ ।
यता, प्राइम बैंकले पनि सो अवधिमा १८ अर्ब ९९ अर्ब, नेपाल बैंकले १६ अर्ब २८ करोड सिद्धार्थले १३ अर्ब २ करोड, माछापुच्छ्रेले १२ अर्ब ५८ करोड, सानिमाले ११ अर्ब ५६ करोड, सिटिजनले ११ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कुन बैंकको कर्जा लगानी कस्तो ? (रकम अर्बमा)
