लगातार सुधारिँदै हाइड्रोपावर कम्पनीको ब्यालेन्स सिट, ८९ वटा मध्ये कसको ‘नाफा-घाटा’ कति ?

काठमाडौं । जलविद्युत कम्पनीहरुको नाफामा व्यापाक सुधार देखिएको छ । अधिकांश कम्पनीहरुको वित्तीय प्रगति सकरात्मक नै छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा कम्पनीहरुको नाफा ४२.५९ प्रतिशत वृद्धि भएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ वटा जलविद्युत कम्पनीहरु सूचीकृत छन् । ती मध्ये ८९ वटा कम्पनीहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेका छन् ।
ती कम्पनीहरुले ६ महिनामा ३ अर्ब ९० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने ४२.५९ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ६४ लाख रुपैयाँ धेरै हो । गत आवको सो अवधिमा कम्पनीहरुले २ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा कम्पनीहरुको विद्युत बिक्री आम्दानी पनि झन्डै साढे ८ प्रतिशत वृद्धि भई २१ अर्ब ४९ अर्ब ५० लाख रुपैयाँ कायम भएको छ । अर्को तर्फ कम्पनीहरुको संचालन खर्च पनि घटेको छ । जसले नाफा बढ्नमा टेवा पुगेको हो ।
२८ वटा कम्पनीको नाफा बढ्यो, साहस उर्जाले कमायो सर्वाधिक, ७ वटाको नाफामा उछाल
समिक्षा अवधिमा २८ वटा कम्पनीहरुले नाफा बढाएका छन् । १८ वटा कम्पनीको नाफा घटेको देखिन्छ । गत वर्षको दोस्रो त्रैमासमा नोक्सानी व्यहोरेका १७ वटा कम्पनी पनि नाफामा उक्लिएका छन् । यता, गत वर्षको नाफामा धनात्मक रहेका ४ वटा कम्पनी भने ऋणात्मक देखिएका छन् । समग्रमा कम्पनीहरुको वित्तीय प्रगति सकरात्मक नै छ ।
दोस्रो त्रैमासमा सर्वाधिक नाफा साहस उर्जाले ७० करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको नाफा ५४.७८ प्रतिशत वृद्धि भएको हो । यस्तै, दोस्रो सूचीमा रहेको सानिमा माइ हाइड्रोपावरले ६२ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको माउनटेन इनर्जीले पनि ५१ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
सर्वाधिक नाफा बढाउनको पहिलो सूचीमा रहेको अरुण भ्याली हाइड्रोपावरले १९ करोड ४२ लाख कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ७३४.९८ प्रतिशत धेरै हो । तेह्रथुप पावरको नाफा पनि ५१५.३४ प्रतिशत, मकर जितुमाया सुरीको ३४०.६४ प्रतिशत, अपि पावरको २९२.२९ प्रतिशत, हिमालयन हाइड्रोपावर २६०.३१ प्रतिशत, मिड सोलु हाइड्रोपावरको २२५.१५ प्रतिशत र युनाईटेड इदी मर्दीको ११२.२२ प्रतिशत वृद्धि भएको छ ।
यी बाहेक बुद्धभूमि, मैलुङखोला, अपर सोलु, सिक्लेस, इस्टन, युनिभर्सल, नेपाल हाइड्रोपावर, सीनर्जी पावर, ग्रीन भेन्चर, आँखु खोला, कालिका पावर, युनियन, वुटवल वापर लगायतका कम्पनीहरुले नाफा बढाएका छन् ।
अपर हेवा खोलासहित १८ वटा कम्पनीको नाफा घट्यो
समिक्षा अवधिमा अपर हेवाखोलासहित १८ वटा कम्पनीको नाफामा गिरावट आएको छ । अपर हेवा खोलाको नाफा ८७.६२ प्रतिशत घटेर ५ करोड ५८ लाख रुपैयाँ कायम भएको छ।
यस्तै, भिजन लुम्बिनीको नाफा पनि ६२.९३ प्रतिशत, भवगती हाइड्रोपावरको ६३.४० प्रतिशत, पञ्चकन्या माइको ४७.८५ प्रतिशत, पिपुल्स पावरको ४३.९५ प्रतिशत, सगरमाथा जलविद्युतको ४३.३५ प्रतिशत, सानिमा माइको ३३.७१ प्रतिशत र ङादी ग्रुप पावरको ३०.१२ प्रतिशत घटेको छ ।
यता, माइखोला, सुपर माइ, सामलिङ पावर, सुपर मादी, कुथेली बुखरी, राधी, सयपत्री हाइड्रोपावर कम्पनीको नाफा पनि दोहोरो अंकमा घटेको छ । यद्यपि, यी सबै कम्पनीहरुको नाफा धनात्मक छन् ।
अपर तामाकोशीसहित २७ वटा कम्पनी घाटामा, १७ वटा कम्पनी नाफामा उक्लिए
दोस्रो त्रैमासमा अपर तामाकोशीसहित २७ वटा कम्पनी नोक्सानीमा छन् । समिक्षा अवधिमा अपर तामाकोशीले ८२ करोड ११ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
यस्तै, मेन्छियाम हाइड्रोपावर पनि ३८ करोड ६७ लाख र माउनटेन हाइड्रोपावर पनि ३८ करोड १६ लाख रुपैयाँ घाटामा छ ।
यता, बलेफी हाइड्रोपावरले १८ करोड १४ लाख, साञ्जेन जलविद्युतले १३ करोड ५६ लाख, पाँचथर पावरले ७ करोड ७६ लाख, शिवश्रीले ६ करोड १५ लाख, पिपुल्स हाइड्रोपावरले ५ करोड ६१ लाख रुपैयाँ नोक्सानी व्यहोरेका छन् ।
यी बाहेक हिमाल दोलखा, मोदी इनर्जी, लिवर्टी, रसुवागढी, मध्यभोटेकोशी, खानीखोला, छ्याङदी, अपर स्याङ्गे, ग्रीन लाइफ, एशियन, न्यादी, भुगोल, लगायतका कम्पनीहरु घाटामै छन् ।
तर, गत वर्ष नोक्सानीमा रहेका १७ वटा कम्पनीहरु भने नाफामा उक्लिएका छन् । गत वर्ष घाटामा रहेका सानिमा मिडल तमोर, सिंगटी, स्वेटगंगा, हिमालयन पावर, हिमालयन उर्जा, अरुण कावेली, माथिल्लो मैलुङ खोला, अरुण, रिदी, मायाखोला, थ्रिस्टार हाइड्रोपावर लगायतका १७ वटा कम्पनी नाफामा देखिन्छन् ।
कसको ‘नाफा-घाटा’ कति ? एकमुष्ट हेर्नुहोस्



