६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु, करीब १३ अर्ब लगानी लाग्ने अनुमान

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ ।
कम्पनीको बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको आयोजनाले जनाएको छ ।
आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको लागत रु १२ अर्ब ९३ करोड अनुमान गरिएको छ ।
आयोजनाका अनुसार अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
उक्त आयोजनामा आइएमई समूहको लगानी र हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको छ ।
सुकेबगरको इनलेट, नारच्याङ पुल नजिकैको अडिट र नौलीबगरको आउटलेटबाट सुरुङ निर्माण गरिने छ । विद्युत्गृहदेखि आउटलेटको हेड एक सय पाँच मिटर अग्लो छ । रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत बनाइने भएको छ ।
मध्य कालीगण्डकीको विद्युत् नौलीबगरभन्दा छ किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिने छ ।