म्युचुअल फन्डको लकइनदेखि आईपीओको नियमनसम्म, सेबोनले अघि सार्‍यो ९ बुँदे प्राथमिकता « Arthapath.com
३० असार २०८३, मंगलबार

म्युचुअल फन्डको लकइनदेखि आईपीओको नियमनसम्म, सेबोनले अघि सार्‍यो ९ बुँदे प्राथमिकता



आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन नेपाल धितोपत्र बोर्डले पूँजी बजारको आधुनिकीकरण र बदमासी रोक्ने स्पष्ट खाकासहित ९ बुँदे प्राथमिकता सार्वजनिक गरेको छ।

काठमाडौँ । नेपालको सेयर बजारलाई थप व्यावसायिक, पारदर्शी र आधुनिक बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डले आफ्नो रणनीतिक योजना सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्ने दिशामा बोर्डले ९ वटा मुख्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने घोषणा गरेको हो।

डिजिटल प्रविधिको विस्तार, लगानीकर्ताको पहुँचमा वृद्धि र बलियो नियामकीय संरचना निर्माणका लागि बोर्डले भित्री रूपमा गृहकार्य गरिरहेको जनाए। यो नयाँ योजनाले खासगरी बजारमा हुने विकृति रोक्न र आधुनिक प्रणाली भित्र्याउन बलियो जग बसाल्ने अपेक्षा गरिएको छ।

सामाजिक सञ्जालमा कडा निगरानी

धितोपत्र बजारमा हुने वित्तीय अपराध र कसुरको प्रारम्भिक अनुसन्धानलाई तीव्र बनाउन बोर्डले अब अन्य सरकारी निकायहरूसँगको सहकार्यलाई थप चुस्त बनाउने रणनीति लिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी सेयर बजारलाई प्रभावित पार्ने प्रवृत्ति बढ्दै गएकाले बोर्डले त्यसमा कडा नजर राख्ने नीति लिएको छ।

विशेषगरी वित्तीय सल्लाह दिने नाममा बजार हल्लाउने ‘फाइनान्सियल इन्फ्लुयन्सर’ हरूका गतिविधि, अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार र अनलाइन वित्तीय ठगी नियन्त्रण गर्न निगरानी प्रणालीलाई थप बलियो बनाइने कुरा प्राथमिकतामा समेटिएको छ।

म्युचुअल फन्डको समीक्षा

सार्वजनिक निष्कासन अर्थात् आईपीओ प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउन सरोकारवालाहरूले दिएका सुझावलाई समेटेर नीतिगत सुधार गर्ने बोर्डको योजना छ।

अब कुनै पनि कम्पनीलाई आईपीओको अनुमति दिनुअघि त्यसको वित्तीय स्थिति र व्यवस्थापकीय पाटोको मिहिन र वस्तुपरक अध्ययन गरिने बताइएको छ।

यसका साथै प्राथमिक बजारमा आउनुअघि संगठित संस्थाहरूले गर्ने पूँजी संकलनलाई समेत नियमनको दायरामा ल्याइनेछ।

सामुहिक लगानी कोष अर्थात् म्युचुअल फन्डको लकइन अवधि र सेयर बाँडफाँट सम्बन्धी विद्यमान व्यवस्थामाथि पनि समयानुकूल पुनरावलोकन गर्ने तयारी बोर्डले गरेको छ।

मार्जिन कारोबारको सरलीकरण

सेयर बजारमा मार्जिन कारोबारलाई थप प्रभावकारी बनाउन देखिएका प्राविधिक तथा व्यावहारिक अड्चन फुकाउने प्रयास सुरु भएको छ। यसका लागि नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड र धितोपत्र व्यवसायी (ब्रोकर) हरूबीच आपसी समन्वय बढाएर काम गरिने बोर्डले उल्लेख गरे।

लगानीकर्ताको हितलाई ध्यानमा राख्दै प्राथमिक र दोस्रो बजारमा लाग्ने कारोबार शुल्क घटाउने गरी पुनरावलोकनको गृहकार्य समेत अघि बढाइएको छ।

बजारलाई थप स्पष्ट रूपमा बुझ्नका लागि कारोबारयोग्य सेयरको संख्याका आधारमा नयाँ बेन्चमार्क सूचकांक विकास गरिने र हालको नेप्से सूचकांकलाई भने ‘अल इक्वीटी इन्डेक्स’ का रूपमा निरन्तरता दिइने रणनीति बोर्डले तय गरेको छ।

समग्र पूँजी बजार विकासको मार्गचित्र र आगामी वर्षको स्पष्ट नीति निकट भविष्यमै सार्वजनिक गरिने बोर्डले बताए।


प्रतिक्रिया दिनुहोस्