यो सालको खडेरी ५ वर्षयताकै ‘भयंकर’, बालीको चक्रमै असर परेपछि किसान मर्कामा

काठमाडौं । यो साल हिउँदमा पानी नपरेपछि कृषि बालीको चक्र नै प्रभावित भएको छ । चैत अन्तिममा मात्रै पानी परेका कारण हिमाली र पहाडी क्षेत्रमा बल्लतल्ल मकै छर्ने चटारो चलेको छ ।
हिमाली क्षेत्रका कतिपय स्थानमा पहिले नै मकै छरिएको भए पनि कति ठाउँमा उम्रिँदै उम्रिएको छैन । उम्रिएका ठाउँमा वपन पानी नपरेका कारण मकैका विरुवा सुकेर मरिरहेका छन् । अब ती विरुवा ब्यूँतन्छन् कि सुकेरै जान्छन् भन्ने निश्चित छैन ।
मकैमात्र होएन, अलैँची पनि सुकेर मर्ने सम्भावना बढेको छ । वसन्त ऋतुमा विभिन्न फलफूलका बोटमा फूल फुल्ने गर्छ । र यो साल खँडेरीका कारण फूल सुक्ने र चिचिला लागेको ठाउँमा पनि बोटमा नअडिने समस्या भएको छ ।
समयमा पानी नपरेका कारण देशका अधिकांश भागमा बाली लगाउन किसानहरूलाई समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् । विगतका वर्षहरूमा यो समयमा पूर्वको तुलनामा पश्चिममा पानी पर्ने गर्थ्यो, यो वर्ष पश्चिममा पनि त्यति धेरै पानी नपरेको अधिकारीहरु बताउँछन् ।
यो वर्ष हिउँद र त्यसपछिको मनसुन पूर्व (प्रिमनसुन)को समयमा समेत पर्याप्त पानी पर्न नसक्दा किसानले समयमै अन्नबाली लगाउन नपाएको विज्ञहरूले बताएका हुन्।
खडेरीका कारण मध्य हिउँदमा गहुँ, मुसुरो, जौजस्ता बाली लगाइन्छ । अहिलेको प्री मनसुनमा खासगरी मकैको बाली लगाउन औसतमा भन्दा ढिलो भएको अधिकारीहरु बताउँछन्।
विगत तीन दिनमा देशका विभिन्न भागमा परेको पानीले केही राहत दिए पनि पुनः लामो समय पानी नपरे फेरि बालीलाई असर गर्ने उनीहरुको धारणा छ ।
खडेरीको अवस्था कस्तो छ ?
जल तथा मौसम विज्ञान विभागका अनुसार विगत पाँच वर्षको तथ्याङ्क हेर्दा यो वर्ष सबैभन्दा कम पानी परेको देखिएको छ।
विभागले देशभर ११८ वटा स्टेशनबाट वर्षाको तथ्यांक संकलन गर्छ । उक्त तथ्यांकअनुसार सरदर वर्षातको तुलनामा सन् २०२१ मा २३.३ प्रतिशत, सन् २०२२ मा १७०.४ प्रतिशत, सन् २०२३ मा २२.४ प्रतिशत, सन् २०२४ मा २३.९ प्रतिशत र सन् २०२५ मा २१.२ प्रतिशतमात्रै पानी परेको छ।
यो आँकडाले विगत पाँच वर्षमा सबैभन्दा बढी खडेरी सन् २०२५ मा देखिएको छ । हिउँदका अङ्ग्रेजी महिना डिसेम्बर, जनवरी र फेब्रुअरीको तथ्याङ्क हेर्दा सन् २०२५ मा खडेरी विषम रहेको विभागका अधिकारीहरु बताउँछन्।
विभागले यो सालको खडेरीलाई ‘विषम खडेरी’ भनेको छ । औसतभन्दा कम वर्षा हुने भने पनि यो वर्ष ‘अनुमानभन्दा कम’मात्रै वर्षा भएको छ ।
विभागका अनुसार सरदर ६०.४ मिलिमिटर पानी पर्नुपर्नेमा यो वर्षको हिउँदमा जम्मा २१.२ प्रतिशतमात्रै पानी परेको अर्थात् ७९.४ प्रतिशत कम पानी परेको छ र त्यो भनेको ज्यादै नै न्यून हो।
हिउँदमा वर्षा मात्रै कम नभई तापक्रम पनि ०.५ डिग्री सेल्सियसले बढेको थियो। जबकि मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्ष सरदर २९.५ प्रतिशतले कम वर्षा थियो भने तापक्रम ०.८ डिग्री सेल्सियस बढी मापन भएको थियो।
यो वर्ष चैतको ९–१० गते हल्का वर्षा भयो। त्यसयता एकैपटक चैतको अन्तिम साता हल्कादेखि मध्यमसम्म वर्षा भयो।
अहिले केही दिन पानी परे पनि समग्रमा अप्रिल (मध्ये चैतदेखि मध्ये वैशाख)भरि भने पर्याप्त पानी नपर्ने नै देखिएको विभागका अधिकारीहरु बताउँछन् ।
यो वर्ष हिउँद अगावै खडेरीका कारण स्वास्थ्य (वायु प्रदूषण), विपद् व्यवस्थापन र कृषि (बालीनाली)मा असर गर्न सक्ने भन्दै विभागले सम्बन्धित मन्त्रालयलाई जानकारी पनि दिएको थियो।
बालीलाई कसरी र कस्तो असर पर्छ ?
बिहीवारदेखि प्री मनसुन अन्तर्गत पानी पर्न सुरु भए पनि बालीलाई चाहिने समयमा पानी नपर्दा उत्पादनमा असर गर्ने राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रिमालले बताए।
‘पानी नपरेपछि जग्गा खनजोत गर्नलाई नै पानी कुर्दाकुर्दै हिउँदको समय पनि गयो र अहिले पनि केही राहत भए पनि यो पर्याप्त हुन्छ हुन्न भन्न सकिँदैन’, रिमालले भने।
उनले थपे, ‘जुन समयमा बालीलाई पानी चाहिन्छ पहिला त्यो समयमा पानी पर्थ्यो, तर पछिल्ला वर्षहरूमा त्यो कम हुँदै आएको छ। त्यसले गर्दा हिउँदमा लगाउने बालीमा सिँचाइमा चुनौती थपिँदै आएको छ।’
उनका अनुसार बालीमा पानीसँगै तापक्रमको पनि भूमिका रहन्छ। बाली लगाउने विन्डो (समय) १०–१५ दिनभन्दा यता उता गर्न सकिँदैन।
‘अहिलेको प्रवृत्ति हेर्दा उत्पादन कम हुने भन्दा पनि बाली नै लगाउन नसकिने अवस्था आगामी वर्षमा पनि नआउला भन्न सकिँदैन। त्यो हिसाबले हामी चिन्तित हुनुपर्ने देखिन्छ,’ उनले भने।
उनले यो पनि थपे, ‘बाली लगाउने समयमै फरक पर्दा विकल्पको रूपमा के बाली लगाउने भनेर अनुसन्धान गर्नु पर्ने अवस्था आएको छ।’
प्री मनसुनमा स्थानीय वायुको असरले पनि पानी समयमा नपर्दा त्यसले विगत वर्षहरूमामा जुन समयमा मकै रोप्ने गरिन्थ्यो त्यो समय धकेलिने देखिएको किसान र विज्ञहरू बताउँछन्।
‘समयमा पानी नपर्दा मकै लगाउने क्षेत्रफल पनि घट्ने सम्भावना देखिन्छ। तराईमा पनि बसन्ते मकै लगाउने समय भइसकेको छ। तर त्यसलाई पनि पानी नपरेर असर गर्यो,’ रिमालले भने।
कृषिको दृष्टिकोणबाट हेर्दा सरदरमा पानी ठिकै परे पनि समयमा पानी परेन भने त्यसले बालीमा ह्रास आउने उनी बताउँछन्।
‘बालीको निश्चित अवस्थामा चिस्यान भएन भने अरू बेला पानी परे पनि बाली चक्रमा असर गर्छ,’ प्राविधिक अधिकृत रिमालले भने।
समस्या सम्बोधनका लागि सरकार के गर्दैछ ?
कृषि मन्त्रालयले जलवायु परिवर्तनको मारमा नेपाल १० शीर्ष स्थानमा परेको भन्दै त्यसबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले आवाज उठाउँदै आएको जनाएको छ।
जलवायु परिवर्तनले निम्त्याएको असर र त्यसले किसानलाई पार्ने मर्काबारे सम्बोधन गर्न वन जङ्गल जोगाउनेदेखि पानीका मुहान जोगाउने, पानी नभएको ठाउँमा सिँचाइ वा सिञ्चित गर्ने व्यवस्था कसरी गर्ने भनेर सरकारले कार्यक्रमहरू बनाउन लागि परेको कृषि मन्त्री बलराम अधिकारीले बताए।
‘हामी विगतको अनुभव, अहिले देखा परेका समस्या र आगामी दिनमा हुनसक्ने कुरा सबैलाई सन्तुलन मिलाएर जानेमा नै सरकारको प्राथमिकता छ,’ कृषि मन्त्री अधिकारीले भने।
देशको एक तिहाइ भागमा मात्रै सिँचाई सुविधा भएकोले किसानलाई पर्ने मर्का कम गर्न त्यसबारे छलफलहरू सुरु भइसकेको कृषि मन्त्रालयकी प्रवक्ता मतिना जोशी वैद्यले बताइन्।
‘मौसम अनुकूल बिउm चयन गर्ने, पानी व्यवस्थापन गर्ने अनुसन्धानमा जोड दिने, पहाडी भेगमा साना सिँचाइमा जोड दिने जस्ता विषयमा कुरा भइरहेका छन्,’ प्रवक्ता वैद्यले भनिन्।
उनले थपिन्, ‘हिउँदमा प्रतिकूल मौसमका कारण यति हेक्टर जमिनमा यति अन्न नष्ट भयो भन्ने खालको अनुमान लगाउन सकेपछि त्यस अनुसार के मा परिवर्तन गर्ने हो कस्तो बिउ उपयुक्त हुनसक्छ जस्ता कुरामा महाशाखाले काम गर्छ।’
बीबीसी नेपाली सेवाबाट साभार ।