बजेट खर्च सुस्त : ११ महिनामा १२ खर्ब ८३ अर्ब खर्च, पूँजीगत खर्च झनै कमजोर

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सरकारकाे बजेट खर्च करिब आधा मात्रै भएकाे छ । चालु आव सकिन एक महिना मात्र बाँकी रहँदा सरकारले कुल बजेटकाे ६८.९८ प्रतिशत मात्रै खर्च गरेकाे छ ।
महालेखा नियन्त्रक कार्यालयकाे तथ्यांक अनुसार साउनदेखि जेठ मसान्तसम्मकाे अवधिमा १२ खर्ब ८३ अर्ब ३१ कराेड ६० लाख रूपैयाँ खर्च भएकाे छ ।
यस्तै यस अवधिमा सरकारकाे पूजीगत खर्च पनि गत वर्षकाे अवधिमा करिव ५ प्रतिशतले घटेकाे छ । यस वर्षकाे ११ महिनामा सरकारकाे पूँजीगत खर्च ४०.७ प्रतिशत अर्थात १ खर्ब ४३ अर्ब ३९ कराेड ७ लाख रूपैयाँ भएकाे छ ।
गत वर्षकाे यस अवधिमा सरकारले ४४.६८ प्रतिशत अर्थात एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाखबराबर खर्च गरेको थियो।
वित्तीय व्यवस्था शीर्षकमा चालू आर्थिक वर्षका लागि रु ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाखबराबर विनियोजन भएकामा ७८.४१ प्रतिशत अर्थात् रु २ खर्ब ८७ अर्ब ९७ करोड ३६ लाखबराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकको बजेट सरकारी ऋणको साँवाब्याज तिर्नमा खर्च हुने गरेको छ।
चालू आवका लागि सरकारले कुल रु १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखबराबरको बजेट ल्याएको थियो। सोमध्ये चालू शीर्षकमा ११ खर्ब, ४० अर्ब, ६६ करोड ४५ लाख, पूँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर बिनियोजन गरिएको छ ।