लिलामीमा चढ्यो पद्मा कोलोनी, अर्बपती कँडेलको व्यवसाय कसरी भयो चौपट ?
काठमाडौँ । घरजग्गा व्यवसायबाट अर्बपती बनेका व्यवसायी राजु कँडेलको पद्मा कोलोनी लिलामीमा जाने संभावना बढेको छ ।
काठमाडौँको रामकोट, डाँडापौवा र ललितपुरको लगनखेलमा रहेको जग्गा तथा त्यसमा भएका घर टहरासमेतको संरचना लिलामी गर्ने प्रक्रिया थालिएको हो ।
पद्मा कोलोनी प्रालीका विभिन्न २४ वटा कित्तामा रहेको जग्गा र त्यसमा भएको संरचना समेत लिलामीको प्रक्रिया थाल्न सांग्रिला डेभलपमेण्ट बैंकले सूचना निकालेको छ ।
अब ३५ दिनभित्र यस अवधिमा पाकेको सम्पूर्ण सावाँ, ब्याज तथा बाँकी दायित्व भुक्तानी नगरेमा उक्त कोलोनी लिलामीमा चढ्ने बैंकले जनाएको छ ।
बैंकले पद्मा कोलोनीको ‘फेज ५’ मा पर्ने डाँडापौवा, रामकोटको २३ कित्ता र लगनखेलको १ कित्ता जमीन लिलामीको प्रक्रिया थालेको छ ।
ललितपुरमा जम्मा १ रोपनी २ पैसामात्रै जग्गा भए पनि डाँडापौवामा २२ रोपनी १० आना १ दाम जग्गा र त्यसमा भएका संरचना लिलामीमा चढ्न लागेको हो ।

कम्पनीले आफ्नो वेवसाइटमा डाँडापौवामा १२६ रोपनी जग्गामा ३०० युनिट घर निर्माण गरेको भनेको छ । यसका अतिरिक्त उक्त परियोजनामा स्विमिङ पुल, मनोरञ्जन पार्क, हरित क्षेत्र र अरु पनि थुप्रै सुविधा दिएको भनेको छ ।
यस्ता सामूहिक उपयोगका क्षेत्र पनि लिलामीमा पर्नसक्ने देखिएको छ ।

उक्त लिलामी सूचनामा एउटै कित्ताको क्षेत्रफल २ रोपनीदेखि ४ रोपनी ८ आनासम्मका प्लटहरु पनि छन् ।
यसले कम्पनीले उल्लेख गरेको हरित क्षेत्र र स्विमिङ पुल लगायतका संरचनाहरु लिलामीमा पर्नसक्ने देखिएको हो ।

कँडेलसँग पद्मा कोलोनी प्रालीको एकल स्वामित्व छ । यो कम्पनीले सीतापाइला, कुसुन्ती, रामकोट, टौखेल, डाँडापौवा, इटहरी र ठूलोभर्याङमा गरी ७ वटा आवास परियोजनाहरु तयार पारेको छ ।
यसबाहेक पद्मा मर्चेण्ट कम्पनी, जगतगुरु कृपालु प्रतिष्ठान नेपालजस्ता संस्थाको सञ्चालक र अध्यक्ष पनि उनी नै छन् । माउण्टेन टेलिभिजनका अध्यक्ष समेत रहेका कँडेल मिडिया उद्यमी पनि हुन् ।

यसअघि नागार्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेतसँग घुसको लेनदेन गरेको भनेर उनी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो ।
धार्मिक कार्यक्रम सञ्चालन गर्ने जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई ७ अर्ब ४८ करोड विदेशी सहायता प्राप्त गर्न सहजिकरण गरिदिएको, मन्दिर निर्माण गर्ने नाममा सार्वजनिक जग्गा उपलब्ध गरान खोजेको र ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गा पद्मा कोलोनीलाई जम्मा १८ करोड ९४ लाखमा दिएर करीब २५ करोड रुपैयाँको लाभ पद्मा कोलोनीलाई दिलाएको लगायतका आरोप लगाइएको थियो ।
यस्ता लाभ लिएबापत कँडेलले बस्नेतलाई नगद, जग्गा र विवाह समारोहमा भोजको आयोजना गरेर ९ करोड २२ लाख रुपैयाँ बराबरको घुस बुझाएको अभियोजन गरिएको थियो ।
यस घटनासँगै कँडेलको व्यवसाय चौपट हुन थालेको छ । त्यसैले उनलाई ऋण दिने बैंकहरु पनि अब लिलामीको सूचना निकाल्न थालेका छन् ।














