आज सातै प्रदेशले ल्याउँदैछन् नयाँ बजेट, बागमती, मधेस र लुम्बिनीले घटाउँदा अन्यले बढाए « Arthapath.com
५ असार २०८३, शुक्रबार

आज सातै प्रदेशले ल्याउँदैछन् नयाँ बजेट, बागमती, मधेस र लुम्बिनीले घटाउँदा अन्यले बढाए



काठमाडौँ। आज (असार १ गते) सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दै छन्।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही प्रावधान अनुसार आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन्।

यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो। विभिन्न प्रदेश सभाहरूले तय गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट ल्याउने तयारी गरेको छ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बागमतीले चालु आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरेको थियो।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकार केही बढाएर ३३ अर्ब हाराहारीको बजेट पेस गर्ने तयारी गरेको छ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्ष २०८२/८३ भन्दा पाँच अर्ब कम बजेट ल्याउने भएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी आवका लागि झन्डै ३८ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो।

मधेस प्रदेश सरकारले आज दिउँसो १ बजे आगामी आर्थिक वर्षका लागि ४२ अर्बको बजेट विनियोजन गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। चालु आवमा मधेस सरकारले ४८ अर्बको बजेट विनियोजन गरेको थियो।

कोसी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालु आव २०८२/८३ का लागि कोसी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। चालु आवमा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

चालु आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार वृद्धि गर्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्