जेनजी आन्दोलनको रापले चौधरी ग्रुपलाई धक्का: गोदाम ध्वस्त भएपछि सिजी इलेक्ट्रोनिक्सको व्यापार ५७ प्रतिशतले खस्कियो
काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेडको व्यापार र आम्दानीमा भारी गिरावट आएको छ।
पछिल्ला वर्षहरूमा निरन्तर बढिरहेकाे कम्पनीकाे व्यापार चालू आर्थिक वर्षमा भने १४ कराेडमा खुम्चिएकाे छ।
इक्रा नेपालले सार्वजनिक गरेकाे तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो ६ महिनामा कम्पनीले १४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ, विगतका वर्षहरूमा लगातार उकालो लागिरहेको व्यापारको ग्राफ यस वर्ष भने ५७ प्रतिशतले तल झरेको छ।
गत आर्थिक वर्ष २०२४/२५ मा कम्पनीले ७० करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेकाे थियाे । अघिल्ला आर्थिक वर्षहरू २०२२ मा १ करोड ३० लाख, २०२३ मा ५४ करोड ८० लाख, २०२४ मा ६९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो।
मुलुकको सुस्त व्यापारिक गतिविधि र बजारमा व्याप्त तीव्र प्रतिस्पर्धाका बीच कम्पनीको कुल बिक्री आम्दानी खुम्चिएकाे हाे।
व्यापार घटेसँगै कम्पनीको सञ्चालन मुनाफा मार्जिनमा पनि ठूलो ह्रास आएको छ। आर्थिक वर्ष २०२३/२४ मा ११.६ प्रतिशत र गत आर्थिक वर्ष २०२४/२५ मा १२.८ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालू आर्थिक वर्षको पहिलो ६ महिनामा घटेर ७.२ प्रतिशतमा झरेको छ।
नियमित स्थिर खर्चको भार र व्यवसाय सञ्चालनको मुख्य पूर्वाधारमा पुगेको अवरोधका कारण नै कम्पनीको नाफाको ग्राफमा धक्का पर्न गएको हो।
यस्तै कम्पनीको ब्याज भुक्तानी क्षमतामा समेत ठूलो गिरावट देखिएको छ। आर्थिक वर्ष २०२३/२४ मा ब्याज कभरेज अनुपात ४.३ गुणा रहेकोमा गत आर्थिक वर्ष २०२४/२५ मा यो सूचक बढेर ६.३ गुणा पुगेको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा १.७ गुणाको कमजोर स्थितिमा खुम्चिएको छ। पछिल्ला महिनाहरूमा कारोबारको आकार तीव्र रूपमा खस्किएका कारण वित्तीय सूचकहरू तल्लो स्तरमा ओर्लिएका हुन्।
यसैगरी कम्पनीको कर्जा भार भने नियन्त्रित अवस्थामा छ। गत आर्थिक वर्षमा ०.४ गुणा रहेको कुल ऋण र खुद मूल्यको अनुपात चालू आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा ०.६ गुणा मात्र रहेको छ, जसले कम्पनीको पूँजीकरण मजबुट रहेको पुष्टि गर्छ।
यिनै सूचकहरूलाई मध्यनजर गर्दै इक्रा नेपालले कम्पनीले उपयोग गरिरहेको कुल ६६ करोड रुपैयाँ बराबरको अल्पकालीन बैंक कर्जा सीमाको साख (रेटिङ) तय गरेको छ। एजेन्सीले कम्पनीको अल्पकालीन कर्जा सीमाका लागि ‘एफोर प्लस’ रेटिङ प्रदान गरेको छ।
यद्यपि कम्पनीका सामु केही गम्भीर व्यावसायिक चुनौतीहरू पनि रहेका छन्। गत भदाैकाे जेनजी आन्दोलनबाट सिर्जित दंगाका कारण कम्पनीको मुख्य गोदाम तथा एसेम्ब्ली प्लान्ट पूर्ण रूपमा नष्ट हुनु व्यापार घट्नुको मुख्य कारण बनेको छ। यस क्षतिबापत बीमा दाबीबाट रकम प्राप्त हुने प्रक्रियामा रहेर वित्तीय भार केही कम हुने देखिए तापनि यसले तत्कालका लागि आपूर्ति शृङ्खलालाई पूर्ण रूपमा ध्वस्त बनाइदिएको प्रतिवेदमा उल्लेख छ ।
यसका साथै सामान बिक्री नभएर मौज्दात रहन लाग्ने समय लम्बिनु र आम्दानी खस्कनुले चालू आर्थिक वर्षको ६ महिनामा कार्यशील पूँजीको सघनता बढेर ११५ प्रतिशत पुगेको छ, जसका कारण कार्यशील पूँजी व्यवस्थापनमा ठूलो दबाब परेको देखिन्छ।
बजारमा अन्य प्रतिस्पर्धी कम्पनीहरूको बढ्दो उपस्थिति, न्यून प्रवेश अवरोध र आर्थिक सुस्तता कायमै रहेकाले हालैका महिनाहरूमा खस्किएको नाफा र व्यापारको दरलाई पुनः पुरानै लयमा फर्काउन कम्पनीलाई निकै चुनौतीपूर्ण देखिन्छ।
सिजी इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड सन् १९८८ मा स्थापित उद्योग हो। कम्पनी नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप मातहत सञ्चालित छ, जसको नेतृत्वमा लामो व्यावसायिक अनुभव र दक्षता भएको सञ्चालक टोली क्रियाशील छ। यस कम्पनीको नेपालमा एलजी, सिजी, तोसिबा, सेन्सेई र टिसीएल जस्ता स्थापित ब्रान्डका टेलिभिजन तथा विद्युतीय सामान आयात, एसेम्ब्ली र वितरणमा बलियो पकड रहेको छ।












